s

‘भुटानी शरणार्थी समस्या यथावत’ : कूटनीतिज्ञ

काठमाडौँ — भुटानी शरर्णाथीसम्बन्धी समस्या यथावत रहेको कूटनीतिज्ञहरूले बताएका छन् । एक लाखभन्दा बढी भुटानी शरणार्थी तेस्रो मुलुकमा बसोबासमा जाँदैमा शरणार्थी समस्या सुल्झिएको भन्ठान्नुलाई ‘गलत बुझाइ’ भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरुले बाहिरी विश्वमा रहेका भुटानीको नयाँ पुस्तासमेत आफ्नो उत्पत्तिको थलो खोज्दै कुनै दिन भुटान फर्कने स्थिति रहेको बताएका छन् ।

‘भुटानले शरणार्थी समस्या सुल्झियो भनेर नचिताए हुन्छ, यसको भूराजनीतिक र रणनीतिक अर्थ अलग्गै छ,’पूर्व राजदूत एवं भू–राजनीतिक मामलाका जानकार डा.दिनेश भट्टराईले भने, ‘भारतको साथ–सहयोग नभइकन भारतीय भूमि हुँदै भूटानी शरणार्थीलाई नेपालको पूर्वी नाकामा ल्याएर छाड्न असम्भव थियो नै, त्यसपछिको भारतीय मौनताले पनि भूटानी समस्यालाई अझ जटिल बनाएको हो ।’

भारतले भुटानी शरणार्थी समस्याका हकमा ‘रणनीतिक स्वार्थ’ राखेको बताउँदै भट्टराईले नेपालमा बाँकी रहेका भुटानी शरणार्थीलाई ‘नेपालीभाषी भन्दैमा’ स्थानीय बसोबास गर्न नमिल्ने धारणा राखे । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग(डीआईआरडी)मा भुटानी अधिकारवादी नेता एवं भुटान नेसनल डेमोक्रेटिक पार्टीका अध्यक्ष डीएनएस ढकालद्वारा लिखित ‘भुटान : एमिकेबल रिजोलुसन’ पुस्तकबारेमा टिप्पणी गर्दै डा.भट्टराईले भुटानले गरेको जातिय सफायाको इतिहास तथा भू–राजनीतिका बारेमा पुस्तकले राम्रो समीक्षा गरेको बताए ।

‘शरणार्थी समस्या समाधानमा १७ चरणसम्म नेपाल–भुटान वार्ता भए पनि समाधान ननिस्केका बेला तेस्रो देशमा पुनर्बसोबासका लागि अर्को विकल्प थिएन,’भुटानी अभियन्ता एवं लेखक ढकालले भने, ‘अबको चरणमा भुटानले शिविरमा रहेका बाँकी शरणार्थीलाई ससम्मान घरफिर्ता गराउनुपर्छ । भुटानी राजाले बडादशैं मान्ने र दशैंटीका थाप्नेसम्मका व्यवहार देखाइरहेका बेला अब भुटानले राष्ट्रिय सहमतिका आधार बनाउँदै आफ्ना नागरिकलाई घरफिर्ता गराउनैपर्छ ।’ उनले आफ्नो माटो र संघर्षको थलो बिर्सेर विदेशमा रहेका भुटानी शरणार्थीले ‘गैरआवासीय नेपालीको हैसियत माग्नु’ आफैंमा असहाउँदो कुरा रहेको धारणा राखे । भुटानी शरणार्थीले ‘गैरआवासीय भुटानी संघ’ खोलेर आफ्नो अलग पहिचान र अस्तित्वको खोजी गर्नुपर्ने उनले सुझाव दिए ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले शरणार्थी समस्या अन्र्तराष्ट्रियकरण भइसकेको बताउँदै नेपाल–भुटान वार्ताका क्रममा नेपालले शरणार्थीको वर्गीकरणमा सहमति जनाएर ‘ठूलो गल्ती’ गरेको धारणा राखेका थिए । ‘यथास्थिति जे भए पनि हामीले बलियो र स्वतन्त्र भुटानका पक्षमा वकालत गर्नुपर्छ, अन्यथा भुटान पनि सिक्किमीकरणको बाटोमा जान सक्छ । त्यसपछि यस्तै खतरा नेपालमा आउन सक्छ,’श्रेष्ठले भने ।

पत्रकार युवराज घिमिरेले भुटानी शरणार्थी समस्या समाधानको कुरा गरिरहँदा हिजो आफूले गरेको गल्तीको स्मरण गर्नुपर्ने बताउँदै १७ चरणमा वार्ता हुँदा एउटै शरणार्थी घर फर्कन नसकेको र अन्ततः पुनर्बसोबासमा लगिएको यथार्थमा जोडिएको भू–रणनीतिलाई भुल्न नमिल्ने बताए । ‘सिक्किममा नेपालीभाषीको बाहुल्य रहेकै कारण त्यो भूमि गुमेको आधारमा भुटानले ‘शंकाको लाभ’ लिएर आफूकहाँ रहेका नेपालीभाषीलाई जातिय सफायामा पारेको हुन सक्छ,’पत्रकार घिमिरेले भने, ‘अन्तर्राष्ट्रिय समुदायले शरणार्थीको घरफिर्ती प्रक्रियामा सघाउ हुने गरी बहस पैरवी गरिदिनुपर्छ, राष्ट्रिय सहमतिको आधारमा खोजेर भुटानले आफ्ना नागरिक घरफिर्ता लिनु बुद्धिमत्तापूर्ण काम हुनेछ । यो समस्या आजकै विन्दुमा जे जहाँ छ, त्यहीँबाट अघि बढ्नु जरुरी छ ।’

विभागका प्रमुख प्रेम खनालले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको क्षेत्रीय सरोकारको विषय बनेको भुटानी शरणार्थीको मुद्दामा यही विषयका विद्यार्थीमाझ बौद्धिक–प्राज्ञिक बहस हुनेगरी यो छलफलको आयोजना गरिएको बताए ।

Published on: 15 June 2022 | Kantipur

Link

Back to list

;