s

भुटानी शरणार्थीले गुमाए अभिभावक

अर्जुन राजवंशी

बिर्तामोड — सन् १९९१ मा पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्दैगर्दा नेपालीभाषी भुटानीसँग डर, त्रास र चीत्कारबाहेक सायदै केही थियो । काखे बालक च्यापेर दुई थान पुराना कपडाका थोत्रा झोला घिसार्दै नेपाल प्रवेश गरेका उनीहरूलाई करिब ३० किलोमिटर पश्चिम कनकाई नदीको पूर्वी किनारको बगरसम्म आइपुग्दा बाँचिन्छ भन्ने आस जगाउनेमध्येका एक थिए— डा. भम्पा राई ।

धुलाम्मे बगरमाथि रेडक्रस सोसाइटीले बनाइदिएको खरका स–साना छाप्रोमा भोकै–तिर्खै बसेका उनीहरूलाई सुरक्षित र अभिभावकीय दायित्व प्रदान गर्ने व्यक्ति पनि थिए उनी । स्वच्छ पानी र स्वस्थकर खाना खान नपाउँदा शिविरमा झाडापखालाले झन्डै सोत्तर बनाउन लागेको अवस्थामा राईले उपचार गरेर ज्यान जोगाएका थिए । उनको त्यो उपचार सम्झेर आज पनि भुटानी शरणार्थीहरू धन्यवाद दिन्छन् । कनकाई किनारमा राईले बिरामीको उपचार मात्रै गरेनन्, नेपाल सरकारसँग समन्वय गर्दै दातृ निकायको सहयोगको पहलकदमी पनि लिए । फलस्वरूप त्यो बेला उनीहरूलाई सहयोग गर्न शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले जिम्मेवारी लिएको थियो ।

भुटानी शरणार्थीको घरफिर्ती अभियान र अधिकारको लडाइँमा ३ दशकदेखि सक्रिय रहिआएका उनै नेता ७४ वर्षे राईको आइतबार बिहान विराटनगरको नोबेल अस्पतालमा निधन भएको छ ।

डा.राईलगायतकै नेतृत्वमा करिब एक लाख शरणार्थीलाई झापा र मोरङका सातवटा शिविरमा सुरक्षित व्यवस्थापन गरिएको थियो । शरणार्थीको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यलगायतको सुनिश्चितता पनि भएको थियो । त्यसपछि डा.राईलगायतकै नेतृत्वमा

आफ्नो देश भुटान फर्किन पाउनुपर्ने आन्दोलनको सुरुवात भयो । दमक चोक नजिकको एउटा क्लिनिकमा बिरामी, अस्वस्थ शरणार्थीको निःशुल्क उपचार गर्दै डा.राईले शरणार्थीको नेतृत्व गर्दै स्वदेश फिर्ती आन्दोलन चलाए ।

घरफिर्तीको वार्ता र अभियान असफल भएपछि पश्चिमा राष्ट्रहरूले भुटानी शरणार्थीलाई तेस्रो देश पुनर्वासमा लैजाने कार्यक्रम ल्याए । करिब ८ वर्षसम्म चलेको यो कार्यक्रमबाट १ लाख १३ हजारभन्दा बढी भुटानी अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायत विभिन्न आठवटा राष्ट्रमा छरिए । झापा र मोरङका सातवटा शिविर खुम्चिएर दुइटामा सीमित बने ।

तर, डा.राईको अडान कहिल्यै कमजोर बनेन । मृत्युनजिक पुग्दासमेत भुटान नै फर्किने उनको अडान आइतबारदेखि अझ अलपत्र बनेको छ । पश्चिमा राष्ट्र पुगेका करिब सवा लाख र नेपालमा रहेका करिब ७ हजार भुटानी अभिभावकविहीन बनेका छन् । डा.भम्पाको अन्तिम संस्कारमा उपस्थित अधिकारवादी नेता टेकनाथ रिजालका बुझाइमा ‘आफ्ना मान्छेका लागि अघि सरेर औंला उठाउन सक्ने सक्षम नेता’ का रूपमा शरणार्थी समुदायले डा.राईलाई चिनेको छ । डा.राईमा रहेका मानवतावादी र परोपकारी मन–वचन–कर्मको सबैले सिको गर्नु जरुरी रहेको रिजालले बताए ।

‘डा.राई हाम्रो भरपर्दो र मजबुत खम्बा हुनुहुन्थ्यो । उहाँको निधनले हामी अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको महसुस गरिरहेका छौं,’ शरणार्थी शिविर पथरीका क्याम्प सचिव चम्पासिंह राईले भने । आफ्नै देशको माटोमा प्राण त्याग गर्ने उनको सपना अधुरै रहेको उनले सुनाए । ‘हामीले एक जना यस्तो हक्की स्वभावको अभिभावक गुमायौं, जसले हामीमाथि कसैले बदमासी गर्न खाजेको थाहा पाउनासाथ अघि बढेर लड्नु हुन्थ्यो,’ उनले भने,‘समग्र भुटानी शरणार्थी आन्दोलनको शिर ढलेको छ ।’

डा.राईको निधनले शरणार्थी आन्दोलन अब कसरी अघि बढ्छ भन्ने ठूलो अन्योल गराएको पूर्वसचिव युवराज साम्पाङ राईको धारणा छ । ‘हाम्रा मान्छेहरू अमेरिका पुगेका छन् । कोही, अस्ट्रेलिया र क्यानडा पुगेका छन् । तर, भुटानी शरणार्थीका लागि केही कार्यक्रम गर्नुपर्दा पहिला डा.राईसँगै सल्लाह लिनुहुन्थ्यो । यहाँबाट पनि थाहा हुन्छ कि डा.राई कति आवश्यक अभिभावक हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँको संघर्ष र समर्पणका लागि हामी सधैं ऋणी रहनेछौं ।’

३० वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका राईले आन्दोलनकै क्रममा आफ्ना आफन्त सबै गुमाए । दुई वर्षअघि पत्नी उर्मिलाको निधन भएको थियो । मिर्गौला रोगबाट पीडित उर्मिलाको निधनपछि डा.राई दमकमा एक्लै बस्दै आएका थिए । उनी पेटसम्बन्धी गम्भीर रोगबाट पीडित थिए । तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा महिनौं दिनसम्म थलिएका उनी तीनवटा शल्यक्रियापछि सामान्य हिँडडुल गर्न सक्ने भएका थिए ।

भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपालीभाषीलाई लखेट्दा उनी आफ्नै इच्छाले नेपाल आएका थिए । ‘नेपालीभाषी मेरो आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई चरम यातना दिएर बलजफ्ती देश निकाला गर्दा म भुटानी राजाको दरबारमा बस्न सकिनँ,’ राईले दुई महिनाअघि कान्तिपुरसँगको संवादमा सम्झिएका थिए,‘अनि त म पनि उनीहरूसँगै शरणार्थी हुन नेपाल आइपुगेको हुँ ।’ डा. राईको आइतबारै झापाको पाडाजुगीमा बौद्ध परम्परामा अन्तिम संस्कार गरिएको छ ।

Published on: 20 June 2022 | Kantipur

Link

Back to list

;