s

भुटानी शरणार्थीको पुनः गणना सुरु

देवेन्द्र भट्टराई

काठमाडौँ — घरफिर्ती वा पुनर्बसोबासको विकल्प टुंगिएका बेला पूर्वी नेपालको झापा–मोरङमा बसेका भुटानी शरणार्थीमाझ पुनः जनगणना सुरु भएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले शिविर व्यवस्थापन समितिमार्फत गत असार १३ बाट दमकको बेलडाँगी शिविरबाट गणना थालिएको हो । 

भुटानी शरणार्थीको तेस्रो देशमा पुनर्बसोबासको कार्यक्रम स्थगित भएपछि र शिविरमै अल्झिएर बसेका ६ हजार ३ सय ६५ शरणार्थीको ‘पुन:प्रमाणिकरण’का लागि गणना सुरु गरिएको जिल्लास्थित शरणार्थी समन्वय इकाईका एक अधिकारीले जानकारी दिएका छन् ।

‘विगतमा शरणार्थी परिचयपत्र रहेका र दर्तावाल शरणार्थीको तथ्यांकलाई अद्यावधिक गर्न गणना सुरु भएको हो,’दमकस्थित शिविर समन्वय इकाईका दिलीप राईले कान्तिपुरसँग भने,—‘यस बीचमा भएको जन्म, मृत्युको लगत पनि अद्यावधिक गर्नुपर्ने देखिन्छ । त्यही काम दमक (बेलडाँगी) र पथरी शिविरमा सुरु भएको हो ।’

नेपालबाट भुटानी शरणार्थी पुनर्वास कार्यक्रम टुंगिएपछि दमकमा रहेको शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोगको उपशाखा (कार्यालय) पनि बन्द भइसकेको छ । यस बीचमा शिविरमा रहेका शरणार्थी वा अन्यलाई समेत ‘ट्राभल डकुमेन्ट’ उपलब्ध गराउँदै अमेरिका पठाइने भनेर सुरु भएको गिरोहको आर्थिक चलखेलका माझ जनगणना सुरु गरिएको हो ।

शिविरमा रहेका शरणार्थीमाझ शिविर व्यवस्थापन समितिले बाडेको निवेदन ढाँचामा विगतमा आफूले पाएको शरणार्थी परिचय पत्रको फोटोकपी, बालबालिकाका हकमा अस्पतालको कार्ड, विद्यालय सर्टिफिकेट, जन्म दर्ताको कपी वा विगतको गणना कार्डको प्रतिलिपिसहित अहिलेको गणनामा हाजिर हुन निर्देश दिइएको छ ।

झापा–मोरङका शिविरमा रहेकामध्ये झण्डै १ लाख १५ हजार शरणार्थी अमेरिका, बेलायत, अस्ट्रेलियासहितका युरोपेली मुलुकहरुमा पुनर्बसोबासमा गइसकेका छन् । अहिले जारी रहेको शरणार्थी गणनामा भुटानबाट ६ वर्षयता आएका वा भुटानमै राजबन्दी हैसियतमा जेल परेर सजाय मिनाहापछि परिवार खोज्दै शिविरमा आएका भुटानी शरणार्थीहरु भने नसमेटिने समन्वय इकाईका अधिकारीले बताए ।

विशेषत: शिविरमा अनाधिकृत व्यक्तिको बसोबास सुरु भएको आशंका बढ्दै गएपछि पुन:प्रमाणीकरण थालिएको ती अधिकारीले बताए ।

Published on: 8 July 2022 | Kantipur

Link

Back to list

;