s

भुमाकुमारी कुवेतमा सम्पर्कविहीन, उद्धार गरिदिन परिवारको आग्रह

कुवेत गएकी भुमाकुमारी गैरे १५ महिनादेखि सम्पर्कविहीन भएपछि परिवारले खोजीदिन अनुरोध गरेका छन् । रुपन्देहीकी उहाँ २०७३ असोजमा कुवेत जानुभएको थियो । 
 
भुमाकुमारीले उता पुगेर परिवारसँग सम्पर्क पनि गर्नुभएको थियो । ‘घरको काम गर्छु भनेकी थिइन । १५ महिना भैसक्यो बोल्न पाएको छैन,’ भुमाकुमारीका श्रीमान् गंगाराम गैरेले भन्नुभयो । हिन्दी भाषा बोल्नेले फोन गरेर भुमाकुमारी बिरामी भएको र घरसाहुले उपचारमा चासो नदिएको बताएको उहाँले जानकारी दिनुभयो । श्रीमती समस्यामा परेको जानकारी पाएपछि गंगारामले पठाउने दलालसँग पनि उद्धारका लागि अनुरोध गर्नुभयो । तर दलालले एक वर्षपछि मात्रै भुमाकुमारीको कागजपत्र दिएको गंगारामले बताउनुभयो । 
 
भुमाकुमारीको उद्धारका लागि विभिन्न ठाउँमा सम्पर्क गर्दापनि कतैबाट पहल नभएको गंगारामले गुनासो गनुभयो । ‘कुवेतमा दूतावासलाई फोन गरेर भनेको, यहाँको कानुन अनुसार घरमा गएर ल्याउन मिल्दैन भन्छन्, आलटाल गरे, उनको उद्धार चाडो भए हुने थियो,’ गंगारामले कुवेतमा रहेको नेपाली दूतावाससँग गुनासो गर्नुभयो ।
 
सभा अल अहमद सि १ आफूले काम गर्ने ठेगाना हो भनर भूमाकुमारीले परिवारलाई बताउनुभएको थियो । काम थालेको केही समयपछि साहुले परिवारसँग सम्पर्क गर्न नदिएको गंगारामले बताउनुभयो । उद्धारका लागि गंगारामले सबैसँग आग्रह गर्नुभएको छ ।
 
Published on: 22 March 2018 | Ujyaaloonline

Back to list

;