s

भूकम्पले नेपालमा रेमिट्यान्स बढायो: भारत संसारकै धेरै रेमिट्यान्स भित्र्याउने मुलुक

नवराज ढकाल
 
काठमाडौं: भूकम्पका कारण विदेशमा रहेका आफन्तले धेरै पैसा पठाएपछि सन् २०१५ मा नेपालमा रेमिट्यान्स २०.९ प्रतिशतले बढेको छ । दक्षिण एसियाली मुलुकमा रेमिट्यान्स वृद्धिदर निकै सुस्त भए पनि नेपालमा भने अकासिएको हो । दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा अधिक मात्रामा रेमिट्यान्स आप्रवाह बढ्नुमा भूकम्पलाई प्रमुख कारण मानिएको छ । यसैगरी छिमेकी भारत विश्वमै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक भएको छ ।
 
विश्व बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा सन् २०१४ को तुलनामा २०१५ मा रेमिट्यान्स आप्रवाह २०.९ प्रतिशतले बढेको हो । यस्तो वृद्धिदर २०१४ मा ३.२ प्रतिशतमात्र थियो । विश्व बैंकका अनुसार गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि विदेशमा रहेका आफन्तले औसत अवस्थामा भन्दा निकै बढी मात्रामा घरमा पैसा पठाए ।
 
भूकम्पपछि परिवारमा भेटघाट गर्न विदेशबाट नेपाल आउनेको संख्या पाँच गुणाले बढ्यो । भूकम्पपछिका केही महिनासम्म दैनिक औसतमा चार हजारजना विदेशबाट आफ्नो घरमा फर्किएका थिए । यसरी फर्किएकाले प्रशस्त पैसासमेत ल्याएका थिए । २०१४ को तुलनामा २०१५ मा अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सासमेत बेसरी बढेको छ । विश्व बैंकका अनुसार अर्थतन्त्रमा रेमिट्यान्सको योगदान ६ प्रतिशतले बढेर २९.४ प्रतिशत पुगेको छ । भूकम्पका बेला बैंक तथा रेमिट कम्पनीले पैसा पठाउँदा लिने सेवाशुल्कसमेत घटाएका थिए । यसको पनि सकारात्मक असर देखिएको हो ।
 
‘रेमिट्यान्स एन्ड माइग्रेसन: रिसेन्ट डेभलपमेन्ट्स एन्ड आउटलुक' शीर्षकमा विश्व बैंक ग्रुपको सहभागितामा गरिएको अध्ययनले नेपाललगायत दक्षिण एसियाका कतिपय मुलुकमा आगामी दुई वर्षसम्म अझै रेमिट्यान्स भित्रिने दर सकारात्मक हुन सक्ने प्रक्षेपण गरेको छ । तर, पछिल्लो समय नेपालबाट बिदेसिने कामदारको संख्या घटेकाले आगामी वर्षदेखि घट्न सक्ने नेपालका अर्थशास्त्री र रोजगार विज्ञको भनाइ छ । 
 
‘रेमिट्यान्स एन्ड माइग्रेसनः रिसेन्ट डेभलपमेन्ट्स एन्ड आउटलुक' शीर्षकमा विश्व बैंक ग्रुपको सहभागितामा गरिएको अध्ययनले नेपाललगायत दक्षिण एसियाका कतिपय मुलुकमा आगामी दुई वर्षसम्म अझै रेमिट्यान्स भित्रिने दर सकारात्मक हुन सक्ने प्रक्षेपण गरेको छ ।
 
नेपालमा सबैभन्दा बढी रेमिट्यान्स मलेसियाबाट भित्रिन्छ । तर, मलेसियाले विदेशी कामदार लिन बन्द गर्दा नेपालको रेमिट्यान्समा पर्ने असरका बारेमा भने विश्व बैंकको प्रतिवेदनमा केही पनि उल्लेख छैन ।
 
नेपालले गएको असार २१ देखि निःशुल्क टिकट र भिसामा मात्र कामदार पठाउने व्यवस्था गर्दा त्यसको नकारात्मक असर वैदेशिक रोजगारीमा देखिएको छ । चालू आर्थिक वर्षको आठै महिनामा बिदेसिने कामदार घटेका छन् । यसमा प्रतिवेदनले केही पनि औंल्याएको छैन ।
 
विश्व बैंकका अनुसार नेपालमा उत्साहजनक वृद्धि भए पनि दक्षिण एसियाली मुलुकको हिसाब गर्दा भने रेमिट्यान्स औसतमा जम्मा दुई प्रतिशतले मात्र बढेको छ । २०१४ मा ३.४ प्रतिशतले बढेको थियो । भारतमा मात्रै २०१५ मा ६८ अर्ब ८० करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ । सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको भए पनि २०१५ मा भारतमा अघिल्लो वर्षको तुलनामा वृद्धिदर २.१ प्रतिशतले घटेको हो । सन् २००९ पछि पहिलो पटक रेमिट्यान्स वृद्धिदर घटेको प्रतिवेदनमा उल्लेख छ ।
 
यसैगरी बंगलादेशमा पनि भित्रिने रेमिट्यान्स बढे पनि वृद्धिदर भने खुम्चिएको छ । २०१४ मा आठ प्रतिशतले बढेकामा २०१५ जम्मा २.५ प्रतिशतले मात्र बढेको छ । दक्षिण एसियाको अर्को मुलुक पाकिस्तानमा २०१५ मा रेमिट्यान्स १२.८ प्रतिशतले बढेको छ, जबकि अघिल्लो वर्ष १६.७ प्रतिशतले माथि गएको थियो । श्रीलंकामा पनि विदेशबाट पैसा भित्रिने दरमा संकुचन आएको छ । अघिल्लो वर्ष ९.६ प्रतिशतले रेमिट्यान्स बढेकामा २०१५ मा जम्मा ०.५ प्रतिशतको झिनो सुधारमात्र भएको हो ।
 
पेट्रोलियम पदार्थको मूल्यमा आएको भारी गिरावटले विश्वका प्रमुख औद्योगिक राष्ट्रमा गएका कामदारको कमाइ घटेको तथा उनीहरूले घरमा पठाउने पैसासमेत घटेको विश्व बैंकले जनाएको छ । अमेरिकी डलरबाहेक अन्य मुलुकका मुद्राको सटही दर पनि घटेको छ । कतिपय विकसित तथा औद्योगिक मुलुकको पैसाको भाउ घट्दा पनि रेमिट्यान्समा असर गरेको निष्कर्ष निकालिएको छ ।
 
पेट्रोलियम पदार्थको भाउ घट्दा धेरै विकसित देशमा रोजगारीको अवसर घटेको, कतिको कमाइ घट्दा वैदेशिक रोजगारीमा जाने कामदारको कमाइमा प्रत्यक्ष असर गरेको प्रतिवेदनमा उल्लेख छ । २०१५ मा विकासोन्मुख तथा अविकसित मुलुकमा चार सय ३१ अर्ब ६० करोड अमेरिकी डलर भित्रिएको छ । यो २०१४ को तुलनामा ०.४ प्रतिशतले बढेको हो । २०१४ मा चार सय अर्ब अमेरिकी डलर रेमिट्यान्स विकासोन्मुख मुलुकमा गएको थियो ।
 
Published on: 15 April 2016 Annapurna Post

Back to list

;