s

भुकम्पपछि रेमिट्यान्स प्रवाह बढ्यो- १० महिनामा ४ खर्ब ८९ अर्ब आयो

बैशाख महिनाको भूकम्पले अर्थतन्त्रका धेरै सूचकमा नकारात्मक प्रभाव पारेपनि रेमिट्यान्स बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको आर्थिक विवरण अनुसार रेमिट्यान्स गत बर्षको यसै अवधिभन्दा १० प्रतिशत बढेको छ । यस संगै १० महिनामा ४ खर्ब ८९ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

राष्ट्र बैंकका अनुसार चैत महिनासंग तुलना गर्दा बैसाखमा १३ प्रतिशत बढि रेमिट्यान्स भित्रिएको छ । विपद पछि घरमा रकम पठाउने क्रम बढनु र हुण्डीवालालाई कारवाही गर्ने हल्लाले बैंकिग माध्यमबाट रकम बढेको ठम्याइ राष्ट्र बैंकको छ । यता वस्तु व्यापार घाटातर्फ १० दशमलब २ प्रतिशतले वृद्धि भई ५ सय ३६ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । प्रतिवेदन अनुसार यो अवधीमा कुल विदेशी विनिमय सञ्चिति १७ दशमलब ४ प्रतिशतले वृद्धि भई ७ सय ८१ अर्ब ३३ करोड पुगेको छ ।  बैंकका अनुसार आयातलाई आधार मान्दा अहिलेको विदेशी विनिमय सञ्चितिको साढे १२ महिनाको वस्तु आयात र करिब ११ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने छ ।  यसैगरि औसतमा बजार भाउ पनि न्युन दरले बढेको छ । गत बर्ष यस अवधिमा ७ दशमलब ९ प्रतिशत बढेकोमा यस बर्ष ७ दशमलब १ प्रतिशतले बढेको छ ।

राजस्वतर्फ दश महिनामा ११ दशमलब ७ प्रतिशत बृद्धि  देखिएको  छ । कुल ३ सय १२ अर्ब ९४ करोड रुपैयाँ राजस्व पुगेको प्रतिवेदनमा उल्लेख छ । मूल्य अभिवृद्धि कर तथा भन्सार महसूल राजस्वको वृद्धिदर अघिल्लो वर्षको तुलनामा कम रहेको तथा गैर-कर राजस्व घटेको कारण समग्र राजस्वको वृद्धिमा कमी आएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त तथ्याङ्क अनुसार चालु आबको दश महिनासम्ममा सरकारलाई वैदेशिक नगद ऋण वापत १६ अर्ब ९९ करोड रुपैयाँ र बैदेशिक नगद अनुदानतर्फ २६ अर्ब ७३ करोड रुपैया छ । वित्तीय खाता अन्तर्गत ३ अर्ब १५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

बैसाख महिनाको मात्रै हेर्दा बैंकहरुको कर्जा लगानी संकुचित भएपनि १० महिने तथ्यांकले बढेको देखाउछ । चालु आर्थिक वर्षको  दश महिनामा बैंक/वित्तिय संस्थाको  कर्जा प्रवाह अघिल्लो वर्षको यही अवधीको तुलनामा १३ दशमलब १ प्रतिशत -१ सय ७२ अर्ब ७० करोड) ले बढेको छ । बृद्धिपछि हालको कुल कर्जा प्रवाह रकम १५ सय अर्ब नाघेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा कर्जा प्रवाहको बृछि करिब १२ प्रतिशत थियो । नीजी क्षेत्रमा भएको कर्जा प्रवाह १५ प्रतिशतले बृद्धि भएको उल्लेख छ । आन्तरिक कर्जातर्फ ८ दशमलब १ प्रतिशत बृद्धि भएको छ । अघिल्लो वर्षको यही अवधीमा बृद्धिदर ५ दशमलब २ प्रतिशत थियो ।  त्यस्तै बैंक/वित्तिय संस्थाको निक्षेप रकम १ सय ७५ अर्ब २ करोडले बृद्धि भएको  छ । यो अवधीमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको निक्षेप क्रमशः १३.७ प्रतिशत, २.१ प्रतिशत र ०.४ प्रतिशतले बढेको छ । प्रतिवेदन अनुसार बैंकहरुबीच बाणिज्यतर्फ अन्तर बैंकिङ कारोबार को रकम ३ सय ४६  अर्ब ३२ करोड रुपैयाँ रहेकेा छ ।
 
Published on: 20 June 2015 | Kantipur
 

Back to list

;