s

भूकम्पपछि मानवतस्करी: विमानस्थल हुँदै दिल्ली जाने युवती बढे

शक्तिशाली भूकम्पपछि हवाई मार्ग हुँदै दिल्ली जाने युवतीको संख्या बढेपछि अध्यागमन कार्यालय र विमानस्थल प्रहरीले निगरानी बढाएको छ। भूकम्पबाट घरबारविहीन भएका युवतीको तस्करी हुने आशंकामा यात्रुमाथि निगरानी बढाइएको हो। भूकम्पपछि दिल्ली जाने युवतीको संख्या बढेको अध्यागमन अधिकारी बताउँछन्। स्रोतका अनुसार स्थलमार्गबाटै दिल्ली जान नजिक हुने जिल्लाका युवतीहरू समेत हवाई मार्ग प्रयोग गर्ने क्रम बढेको छ।

‘सामान्य लेखपढ मात्रै भएका, दिल्लीमा कहाँ जाने समेत जानकारी नभएका ग्रामीण युवतीहरू विमानस्थलमा आउने क्रम बढेको छ,' अध्यागमनका एक अधिकारीले भने, ‘उनीहरूकोे डकुमेन्ट हेरेर सोधपुछपछि शंका लागे थप जानकारी लिन विमानस्थलको प्रहरीकहाँ पठाउँछौं।'

विमानस्थल सुरक्षा गार्डका एसएसपी भूपाल भण्डारीले दिल्ली जाने भनेर विमानस्थल आएका, तर कहाँ के प्रयोजनका लागी जान लागेको हो खुलाउन नसक्ने समूह नै फेला पर्ने गरेको जानकारी दिए।

उनका अनुसार वैशाख १२ को शक्तिशाली भूकम्पपछि दिल्ली जाने प्रयोजन खुलाउन नसक्ने, शंकास्पद डकुमेन्ट भएका र दिल्ली भन्दै अन्य देशमा जान लागेका १ सय ४५ युवती विमानस्थलमा रोकिएका छन्।

‘दिल्ली जाने, तर त्यहाँबाट कहाँ, कोसँग जाने भन्ने देखाउन नसक्नेलाई नियन्त्रणमा लिएर थप सोधपुछका लागि केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखामा पठाउँछौं,' भण्डारीले भने।

भण्डारीका अनुसार यसबीचमा तीनवटा समूहलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि अन्य प्रहरी कार्यालयमा पठाएको छ।

‘दलालको पछि लागेर युवतीहरू गलत प्रयोजनमा विमानस्थलबाट नबाहिरिऊन् भन्ने हाम्रो चासो हो,' भण्डारीले नागरिकसँग भने, ‘यस्तो जाँचमा व्यक्तिगत प्रयोजनमा जान लागेकाले दुःख नपाऊनू भन्नेमा पनि सचेत छौं।'

शंका लागेका युवती नियन्त्रणमा लिइए पनि उनीहरूलाई बाहिर लैजान खोज्ने दलाल भने पक्राउ पर्ने गरेका छैनन्। प्रहरीले शंका नगरोस् भनेर उनीहरूले युवतीलाई एक्लै पठाउने र प्रहरीले नियन्त्रणमा लिए के–के भन्ने भनेर पहिल्यै सिकाउने हुनाले दलालसम्म पुग्न अप्ठेरो भएको भण्डारीले बताए।

हवाई मार्गको प्रयोगका लागि आवश्यक कागजपत्र र डलर सहितका प्रक्रिया नै पूरा नगरेका, नक्कली भिसा भएका र दिल्ली जाने भन्दै तेस्रो देशको समेत टिकट काटेका युवतीमाथि बढी निगरानी गर्ने गरिएको विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी राजेन्द्रराज अधिकारीले बताए।

‘कतिपय यात्रुको प्रोफाइल हेर्दा पनि उनीहरू आफ्नो कामका लागि अन्य देश जान लागेका हुन् कि दलाल लगायतकाको पछि लागेर हिँडेका हुन् भन्ने खुट्याउन सकिन्छ,' अधिकारीले भने, ‘त्यस्ता महिलाबारे थप जानकारी प्रहरीमार्फत लिन्छौं।'
मानव तस्करीविरुद्ध सक्रिय भारतीय संस्था रेस्क्यु फाउन्डेसनका रिसोर्स म्यानेजर राजेश चतुर्वेदी दिल्ली विमानस्थल हुँदै अफ्रिकी र खाडी मुलुक जाने नेपाली युवतीको संख्या बढी देखिएकोमा भूकम्पपछि भने दिल्ली आउनेको संख्या बढेको बताउँछन्।

‘अहिले दिल्ली उत्रनेहरू अर्को देशमा जानेभन्दा पनि भारतको अन्य सहरमा जाने गरेको देखियो,' चर्तुवेदीले भने, ‘यसले मानव ओसारपसारमा संलग्न समूहले हवाई रुटको समेत प्रयोग गरिरहेको हाम्रो आशंका छ।'

हवाई मार्गबाट भैरहवा अनि पैदल

अधिकारीका अनुसार स्थलमार्गमा प्रहरी जाँच र अन्तर्राष्ट्रिय हवाई मार्गमा निगरानी बढेपछि अहिले मानवतस्करीमा संलग्नले आन्तरिक हवाई सेवाको प्रयोग बढाएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध बढेपछि उनीहरूले भारतीय सीमावर्ती जिल्लासम्म आन्तरिक उडान प्रयोग गरी त्यहाँबाट सीमासम्म जान स्थलमार्ग प्रयोग गर्ने गरेका हुन्।

‘आन्तरिक उडानमा त्यत्ति धेरै केरकार र निगरानी सम्भव हुन्न, मानवतस्करले पछिल्लो समय त्यसैको फाइदा उठाएको देखियो,' सुरक्षास्रोतले भन्यो, ‘मानवतस्करहरूले आन्तरिक उडानका लागि प्राय भैरहवाको रुट प्रयोग गरिरहेका छन्।'

मेघालय पुग्यो प्रहरी

विवाहको प्रलोभनमा भारतको मेघालय पुर्या।इएकी एक नेपाली युवतीलाई नेपाल फर्काउन महानगरीय प्रहरी परिसर भक्तपुरको टोली उतै पुगेको छ। मेघालयको एक होटलमा नेपाली युवती अलपत्र परेको सूचना आएपछि भक्तपुर प्रहरीले युवतीको उद्धार र घटनामा संलग्नलाई पक्राउका लागि प्रहरी पठाएको हो।

भक्तपुरका एसपी विकास श्रेष्ठका अनुसार पीडित युवती मेघालयको स्थानीय प्रहरीको संरक्षणमा छिन्। मेघालयमै अन्य ४ नेपाली युवतीसमेत पुगेको सूचनाका आधारमा उनीहरूको खोजी गरिए पनि अझै फेला परेका छैनन्।

‘एक युवती फेला परिन्, अन्य ४ भेट्टिएका छैनन्,' श्रेष्ठले भने, ‘उनीहरूको खोजीसँगै फेला परेकी युवतीलाई नेपाल फर्काउने प्रयास भइरहेको छ।'

Published on: 12 June 2015 | Nagarik
 
 

Back to list

;