s

भ्रष्टाचारको खबर सुन्दा रगत तातिन्छ

नवीन तामाङ

 

यता हाम्रो हालत खराब छ । एक महिनादेखि तलब पाएका छैनौँ । दुबई सरकारले फेरि १५ दिन लकडाउन थपेकोे छ । नेपाल आउने प्लेन पनि चलेको छैन । होटलहरू बन्द छन् । बजार सबै बन्द छ । भित्रभित्र कतैकतै काम भइरहेको छ । तर, म बस्ने ठाउँमा पूरै बन्द छ । बाहिर निस्कन पाइँदैन । आजसम्म १३ सयजति कोरानाबाट संक्रमित भइसकेका छन् । ४ जनाको मृत्यु भइसक्यो । ६ जना नेपाली कोरानाबाट संक्रमित भइसकेका छन् । 

कम्पनीमा फिलिपिन्स, जोर्डन, इजिप्ट र नेपालका गरी हामी जम्मा ५ सयजना छौँ । जसमध्ये करिब एक सयजना नेपाली छौँ । हामी सबैजना कोठा–कोठामा बसिरहेका छौँ । घरपरिवारलाई मिस गरिरहेका छौँ । अहिलेसम्म खानाको व्यवस्था कम्पनीले गरिरहेको छ । कहिलेसम्म गर्छ भन्न सकिन्न । तलब र खानाको व्यवस्था कम्पनीले नगर्नेबित्तिकै हामी नेपाल फर्किनुपर्छ । कम्पनीले हामीलाई यसैगरी राख्ने कि देश फर्काउने भन्नेबारे दुई–तीन दिनभित्र केही निर्णय गर्छ होला । 

सरकारले रोजगारदाता कम्पनीहरूलाई सजिलो बनाइदिएको छ । पूर्ण कम्पनीको जिम्मामा छौँ हामी । कम्पनीले जतिखेरसम्म राख्न मन लाग्छ त्यतिखेरसम्म राख्न ऊ स्वतन्त्र छ र हामीलाई पैसा जति दिए पनि हुने अधिकार सरकारले दिएको छ । पहिला सरकारले रोकेको अनुसार कम्पनीले तलब दिनुपथ्र्यो । अहिले त्यो हटेको छ । त्यसो हुँदा कम्पनीले हामीलाई के गर्छ हेर्न बाँकी छ । यस्तो विपत्मा एनआरएनले पनि केही पहलकदमी लिने कोसिस गरिरहेको छ । 

दुबईमा भिसाको समय सकिने कामदारहरूको हकमा सरकारले मार्च महिनाबाट ३ महिनाका लागि म्याद थपिदिएको छ । भिसाको म्याद सकिए पनि त्यो कामदार तीन महिनासम्म अवैधानिक हुनेछैन । कागजी तरिकाले त्यस्ता साथीहरूको समस्या हल भयो, तर खाने बस्ने समस्या भने भोगिरहेका छन् । त्यस्ता नौजना नेपाली चेलीहरूलाई एनआरएनले केही सहयोग पनि गरिरहेको छ । 

एनआरएनले सहयोग गरेका नेपाली महिला ।

नेपालबारे समाचार पढिरहन्छौँ । आपत् आइपर्‍यो भने नेपाल सरकार गुहार्ने कुरा पनि गरिरहन्छौँ । तर, जब देश चलाउनेहरू नै भ्रष्टाचारमा डुबेको समाचार पढ्छौँ, एकदमै दुःखी हुन्छौँ । भारतीय सिमानामा नेपाली मजदुर रोकिएको दृश्य देख्दा एकदमै मन दुख्छ । लकडाउन गर्नुभन्दा ३ दिनअघि नै मजदुरलाई खबर गर्नुपथ्र्यो । हामीले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको छ । त्यही रेमिट्यान्स पठाउनेहरूलाई सिमानामा रोकेर दुव्र्यहार गरेको देख्दा हाम्रो रगत उम्लिन्छ । त्यो दर्दनाक दृश्यले हाम्रो मन रोएको छ । त्यो दृश्य देख्दा सरकारलाई गाली गर्न मन लाग्छ । दुईतिहाइको सरकारले जनतालाई ढाँट्ने मात्रै काम ग¥यो । हाम्रो दुःखपीडा देशभित्र भाषण गर्नेलाई थाहा छैन । 

यता स्थिति सामान्य बन्नेभन्दा असामान्य बन्दै गएको देखिन्छ । यस्तै स्थिति रह्यो भने हामीलाई कम्पनीले खाना दिँदैन । त्यसपछि हामी नेपाल आउनै पर्ने हुन्छ । नेपालमा पनि विदेशमा श्रम गरेर आएका मान्छेलाई दुव्र्यवहार गरिरहेको घटना सुनिरहेको छु । त्यो सुन्दा एकदमै चित्त दुख्छ । क्वारेन्टाइनमा बसेर गाउँ गइसकेपछि हामीलाई गाउँमा अपमान गर्न पाइन्न । त्यस्तो वेला स्थानीय सरकारले भूमिका खेल्नुपर्छ । हामीलाई थाहा छ, महामारी हामीबाट पनि सर्न सक्छ । तर क्वारेन्टाइनमा बसेर गाउँ जाँदा पनि दुव्र्यवहार हुने, गाउँ पस्नै नदिने हो भने हामी कहाँ गएर बस्ने ?

Published on: 11 April 2020 | Nayapatrika

Link

Back to list

;