s

भोकमरीले राजधानीमै मजदुरको विचल्ली

रामकृष्ण अधिकारी

काठमाडौ : कटारी नगरपालिका – ९ लिम्पटार उदयपुरका ५८ वर्षीय कीर्तिमान मगरातीका दुवै मृगौलाले काम गर्दैनन् । गत कार्त्तिक ३ गते यता हप्तामा दुईपटक बुधबार र शनिबार उनले मृगौलाको डायलाइसिस गराउँदै आइरहेका छन् । उनको डायलाइसिस सुमेरु अस्पतालमा हुँदै आएको छ । 

कालीमाटी सोल्टीमोडको छेउमै रहेको पूरानो घरमा उनको सानो एक कोठे डेरा छ । श्रीमती र कान्छो छोरा अनिलसँगै उनी त्यहाँ बस्छन्। श्रीमती उनको दिनभर हेरविचार गर्छिन्, छोरा अनिल साझ बिहान मुखमा माड लगाउने बन्दोवस्तका लागि डेराबाहिर निस्कन्छन् ।

कीर्तिमानको औषधी उपचारदेखि काडमाडौँको महंगो डेरा भाडा, बिहान बेलुकीको खाना सम्पूर्ण व्यवस्थापनको जिम्मा छोरा अनिलकै काँधमा छ । छोराको कमाइ पनि राम्रो छैन । 

मृगौला पीडित कीर्तिमान मगराती र उनकी श्रीमती । 

बिहान बेलुकी कालीमाटी तरकारी बजारभित्रै पेटी ठेकेदारले लगाउने ज्याला मजदुरी अनिलको नियमित आम्दानीको स्रोत थियो । अनिलले बिहानदेखि बेलुकीसम्म नङ्ग्रा खियाएपछि साँझ ठेकेदारले दिने थोरै पैसाकै भरमा मगराती परिवार काठमाडौंसँग जुध्दै आइरहेको थियो । 

कोरोना संक्रमणले अहिले विश्वब्यापी महामारीको रुप लिँदै गएपछि नेपाल सरकारले देशैभर लकडाउनको घोषणा गरेको छ । सरकारले लकडउनको घोषणा गरेको पनि एक साता हुन लाग्यो । थप लकडाउन गर्ने तयारीमा सरकार जुटेको छ । अब कति दिन लकडाउन लाग्छ , कहिलेसम्म लाग्छ ? त्यसको कुनै टुंगो छैन । 

अनिलले बिहानदेखि साँझसम्म हाड–छाला खियाएर कमाएको पैसा सकिएको पनि चार दिन बितिसकेको छ । चैत १० यता अनिल घरबाट काम गर्न निस्कन सकेका छैनन् । उनलाई काम लगाउने पेटी ठेकेदार पनि अहिले सम्पर्कमा छैनन । जसका कारण अनिललाई बिरामी बाबुको उपचारदेखि बिहान बेलुकीको छाक टार्न नै मुश्किल पर्न थालेको छ । 

एउटा कोठाको घर भाडा महिनाको ५ हजार छ । परिवारलाई बिहान खाए बेलुकी के खाने ? भन्ने चिन्ताले पिरोलेको छ । बाबु कीर्तिमान पनि छोराको कमाइ नभएकोले चिन्तामा छन् । ‘घर जाऔं कसरी जाने, सातामा दुईपटक अस्पताल धाउनु पर्ने छ, यही बसौं साँझ–बिहान के खाने ? असाध्यै समस्यामा पर्न थाल्यो, कहिले घरवेटीले थोरै चामल दिन्छन्, कहिले कसले, त्यसैबाट साँझ-बिहान मुस्किलले टार्नु परेको छ, त्यो पनि अव असम्भव हुँदै जान थाल्यो, भोकमरीले मरिने पो भइयो,’ कर्तिमानले अन्नपूर्णसँग भने । 

चुह्लो बाल्नै समस्या आएपछि उनको आँखा बन्द कोठाभित्रै रसाउन थालेका छन् ।‘कहिलेसम्म काम गरेर दुई चार पैसा कमाउन सक्ने छोरासहित घरभित्रै बन्दी बन्नुपर्ने हो ? बाहिर निस्कौं महामारीको डर छ, भित्रै बसौं भोकमरीले लैजाला जस्तो छ , निमुखलो कसरी जिवन धान्ने हो गाह्रो छ,’ किर्तिमानले पीडा सुनाए । 

उनको परिवार मात्र होइन, कालीमाटी सोल्टीमोडको सोही घरमा अन्य थप १३ मजदुरका परिवार पनि उसैगरी बसेका छन् । ओखलढुंगा, उदयपुर, रामेछाप, दोलखा, रोल्पा लगायतका जिल्लाबाट आएर दैनिक ज्यालादारी गरेर सोही घरमा १४ परिवार एक–एक कोठा भाडामा लिएर बसेका छन् । 

घर बनाउने, लोड-अनलोड गर्ने, भारी बोक्ने लगायतका काम त्यहाँ बस्ने सबैका दैनिक गुजारका माध्यम हुन् । तर एक सातादेखि काममा जान नपाउँदा उनीहरुमा विचल्ली परेका छन् ।

Pubished on: 29 March 2020 | Annapurna Post

Link

Back to list

;