s

‘भोकै मर्नुभन्दा लुकेर भए पनि आफ्नै देश आयौँ’

चिरञ्जीवी घिमिरे

 

लकडाउनको समयमा पनि रोजगारीका लागि भारत गएका नेपाली मजदुर लुकिछिपी स्वदेश फर्कने क्रम जारी छ । उनीहरूलाई नेपाली सीमासम्म ल्याउने काम भारतीय प्रहरीले गर्दै आएको छ । सरकारले भारतसँग जोडिएका सीमा नाकामा कडाइ गरे पनि झापामा भने चोर बाटो हुँदै दर्जनौँ नेपाली स्वदेश फर्किएका छन् । भारतमा कोरोना संक्रमण फैलिन थालेपछि नेपाली मजदुर सुरक्षाकर्मीको आँखा छलेर भित्रिरहेका छन् ।

बिहीबार बिहान झिसमिसेमै मकैबारी हुँदै झापा गाउँपालिकाको खुला नाकाबाट १२ मजदुर नेपाल प्रवेश गरे । शुक्रबार पनि भारतमा मजदुरी गर्न गएका एक नेपाली मकैबारीबाट लुक्दै झापा आइपुगेका छन् । उनीहरूमध्ये केही झापा जिल्लाका थिए । उनीहरूलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ । टोलीमा पाँचथर र तेह्रथुमका पनि छन् । उनीहरूलाई झापा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए ।

झापा, पाँचथर, तेह्रथुमका १६ जना नेपाल प्रवेश गरेलगत्तै क्वारेन्टाइनमा

जिल्ला प्रशासन कार्यालय झापाको तथ्यांकअनुसार लकडाउनको समयमा सीमाबाट लुकिछिपी १६ जना नेपाल प्रवेश गरेका छन् । तर, झापा गाउँपालिकाबाट मात्र २७ जना नेपाल आएको गाउँपालिका अध्यक्ष साहको दाबी छ । भारतसँग सिमाना पर्ने दक्षिणका कचनकवल, बाह्रदशी, झापा र गौरीगन्ज गाउँपालिकाको सिमानासँगै बस्ती जोडिएको छ ।

कतिपय ठाउँमा मान्छेसमेत हिँडेको नदेखिने गरी मकैबारी छ । त्यसकारण पनि नियन्त्रण गर्न निकै मुस्किल भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको भनाइ छ । झापामा भारतबाट भागेर आउनेलाई भौगोलिक दृष्टिकोणले पनि सहज भएको उनले बताए । ‘कहीँ मकैबारी छ । कहीँ खोला पनि छ । भौगोलिक दृष्टिकोणले एकदम गाह्रो छ,’ उनले भने, ‘त्यसकारण उनीहरू प्रहरी प्रशासनको आँखा छलेर आउने गरेका छन् । तथ्यांकमा १६ जना हो, तर अरू पनि लुकिछिपी आएका हुन सक्छन् ।’

भारतीय प्रहरीले ट्रकमा हालेर सीमासम्म ल्याइदिन्छन्

महामारीका वेला नेपालमा रहेका भारतीयलाई नेपाल सरकारले र भारतमा रहेका नेपालीलाई भारत सरकारले व्यवस्थापन गर्ने सहमति छ । त्यहीअनुसार सीमामा रहेका स्थानीय तहले भारतीय नागरिकलाई खाने, बस्नेको व्यवस्थापन गरेर क्वारेन्टाइनमा राखिरहेको छ । तर, भारतमा रहेका नेपालीलाई भने भारतीय सुरक्षाकर्मीले नै सिमानासम्म ल्याउने गरेको भारतबाट आएका नेपालीले बताएका छन् । 

‘हामी दरभंगामा होटेलमा काम गथ्र्याैँ । घर जान भनेर हिँडेका थियौँ । बाटोमा भारतीय प्रहरी ट्रकमा ल्याइदिए । दिगल बैंक आएपछि पुलिसले सीधै जान दिँदैन लुकेर छिर्नु भन्यो,’ भारतबाट आएका पाँचथरका सोमकुमार तामाङले भने, ‘हामी राति हिँड्यौँ । मकैबारीबाट आउँदाआउँदै पुलिसले समायो र क्वारेन्टाइनमा राख्यो । हाम्रो टोलीमा १६ जना थियौँ । १२ जना आयौँ । अरू साथी कहाँ गए, थाहा छैन ।’

खानै नपाएर आफ्नो देश फर्किएको भारतबाट फर्किएकाहरू बताउँछन् । उनीहरू सबै बिहार राज्यको दरभंगाका होटेलमा मजदुरी गर्थे । लकडाउनका कारण काम पनि रोकिएपछि भोकले मर्नुभन्दा आफ्नै देश फर्किने भारतबाट फर्किएका तेह्रथुमका सन्देश गहतराजले बताए । ‘लकडाउन भएको दुई महिना हुनै लाग्यो । कमाएको पनि खाएरै सक्यौँ । साहुले पनि हेर्न सक्दिनँ, घर जाओ भनेर तीन सय भारु दियो,’ उनले भने, ‘भारतको सरकारले हेर्छ भनेर समाचार त पढेको थिएँ । तर, कसैले हेरेन । रोगले भन्दा त भोकले नै मरिने भइयो । बरू आफ्नै देशमा मर्ने भनेर आयौँ ।’ अहिले उनीहरू झापा गाउँपालिकाको क्वारेन्टाइनमा छन् ।

सरकारले भारतमा रहेका नेपालीबारे स्पष्ट निर्णय नगर्दा सिमानाका स्थानीय तह हैरानीमा छन् । झापा गाउँपालिकाका अध्यक्ष साहले भारत सरकारले सहमति कार्यान्वयन नगर्दा समस्या भएको बताए । ‘भारतबाट आउने अधिकांशले सीमासम्म ल्याइदिएको, खाना नदिएर आएको भन्छन्,’ उनले भने, ‘नेपाल र भारत सरकारले सहमति गरेको भए इमानदारीसाथ कार्यान्वयन गर्नुपर्छ । हामीले त अहिले पनि भारतीयलाई राखेका छौँ । उनीहरूले यसरी पठाउँदा हामीचाहिँ समस्यामा पर्‍यौँ ।

Published on: 10 May 2020 | Nayapatrika

Link

Back to list

;