s

भोका खोज्दै, खाना खुवाउँदै

माधव घिमिरे, अर्जुन राजवंशी 

विराटनगर/बिर्तामोड — लकडाउनमा जरुरी काम नपरी हत्तपत्त बाहिर निस्कने अवस्था छैन । सक्नेले उपभोग्य सामग्री जुटाएर घरमा सुरक्षित बसिरहेका छन्, नसक्‍नेहरूको बिचल्ली सुरु भइसकेको छ । रिक्सा चलाउने, दैनिक मजदुरी गर्ने, मागेर गुजारा गर्ने अनि अरूकोमा काम गरेर गाँस जुटाउनेलाई यतिबेला समस्या छ । 

‘काम गर्न पाएको छैन, भएको पैसा सकियो। अब कसरी गुजारा चलाउने ?’ यस्तो भन्दै विराटनगर महानगरका भित्री सडक र गल्लीहरूमा अँध्यारो अनुहार लगाएर बसिरहेका निकै भेटिन्छन्। यस्तै समस्यामा परेकाहरूलाई लक्षित गरी युवा समूहले स्वस्फूर्त रूपमा खाना खुवाउने अभियान सुरु गरेको छ। अभियानको नेतृत्व गरेका छन् १९ वर्षीय पेरिस सुवेदीले। 

उनीसहितको युवा समूहले बुधबारयता चार सय ४४ जनालाई खाना खुवाएका छन्। समूहमा सुवेदीसहित पप्पु अन्सारी, वसिम आलम, भवेश पौडेल, दिपेन मरिक, संरक्षण देवकोटा, चिरन्जीवी आचार्य, गोपाल देवकोटालगायत छन्। 

खानाका लागि चाहिने सहयोग स्वस्फूर्त जुट्ने गरेको सुवेदीले बताए। आफूले गरेका गतिविधि उनीहरू फेसबुकमा पोस्ट गर्छन्। अनि सहयोग गर्न चाहनेहरूले सम्पर्क गरेर उनीहरूलाई आवश्यक सामान दिन्छन्। ‘धेरै सहयोगीहरूले साथ दिनुभएको छ,’ उनले भने, ‘आवश्यक परे फेरि सम्पर्क गर्न भन्नुभएको छ, तर आफ्नो नाम नखुलाइदिन उहाँहरूले अनुरोध गर्नुभएको छ।’ 

महानगरका विभिन्न वडा पुगेर समस्यामा परेका विपन्न वर्गलाई उनीहरूले सहयोग गरिरहेका छन्। हालसम्म विराटनगर बसपार्क क्षेत्र, कलेज रोड, हाटखोला, कोसी अस्पताल आसपास, गुदरी बजार, हनुमान मन्दिर, कोसी राजमार्ग आसपास बसिरहेका विपन्नलाई खाना खुवाइएको उनले बताए। ‘सक्दो बढीलाई खाना खुवाउने भनेर लागेका छौं,’ उनले भने, ‘तर एक ठाउ“बाट अर्को ठाउँ गइरहने भएकाले उनीहरूलाई स्वास्थ्यमा जोखिम देखिन सक्ने लागेको छ। त्यसैले उनीहरूको जाँच गरी उपचार गर्ने व्यवस्थाका लागि सल्लाह गर्दैछौं।’

उनीहरू सहयोगीले दिएका खाद्यान्न र अरू सामान संकलन गर्छन्। ट्राफिक चोकस्थित रोयल बिरयानी हाउसमा पुर्याउँछन्। त्यहाँ तीनजना कुकम्यानले खाना बनाउँछन्। स्वयंसेवी रूपमा खटेका उनीहरूलाई सहयोग गर्ने अन्य युवा पनि छन्। खाना तयार भएपछि सुरक्षित रूपमा लगेर विपन्नलाई खुवाउने गरेका छन्। स्थानीय प्रहरी प्रशासनलाई जानकारी दिएकाले उनीहरू निश्चित समयमा सुरक्षाका साथ पुग्न पाउँछन्। 

यो टोलीले लकडाउनअघि जोगबनी नाकामा पुगेर भारतबाट आउनेहरूलाई सुरक्षित रहन भन्दै मास्क, सेनिटाइजर जस्ता सुरक्षाका सामान दिएका थिए। रेलमा आएका तीन सयभन्दा बढी यात्रुलाई सहयोग गरेर, नाकामा रहेको हेल्थ डेस्कमा जाँच गर्न सघाएका थिए। 

लकडाउन हुनुअघि उनीहरूले विराटनगरको मुख्य बजार क्षेत्रमा यस्तै अभियान चलाएका थिए। सार्वजनिक स्थलमा सेनिटाइजर बनाएर सयौंलाई वितरण गरे। बनाउन पनि सिकाए। ‘हाम्रो कुनै संस्था छैन,’ सुवेदी भन्छन्, ‘यस्तो गम्भीर अवस्थामा युवा मिलेर केही गर्नुपर्छ भनेर लागेका हौं।’ सेनिटाइजर बनाउन उनले स्थानीय चिकित्सकहरूसित सल्लाह लिएका थिए। 

कोरोना संक्रमणको जोखिमले गर्दा उनीहरूले ट्राफिक चोकनजिक सुरु गरेको ‘लुगा बैंक’ हाल बन्द गरिएको छ। नौ महिनाअघि सुरु गरेको उक्त बैंकबाट २५ हजारभन्दा बढीलाई कपडा उपलब्ध गराएको तथ्यांक समूहसँग छ। ‘भोकाएकालाई खाना दिने अभियान निरन्तर राख्छौं,’ सुवेदीले भने, ‘अभावग्रस्त अवस्थामा बिजोग भएकालाई सहयोग गर्दा उनीहरूको मुहारमा देखिने खुसीले यस्तो काम गर्न प्रेरित गरिरहन्छ।’ 

विपन्‍न समुदाय भोकै 

बिर्तामोड नगरपालिका–३ का गुल्सन उराव ज्यालादारीमा काम गर्छन्। उनका दुई छोरी र सासूससुरासहित ६ जनाको परिवार छ। दैनिक काम गर्दा खर्च धान्‍न हम्मे पर्ने उनको परिवारलाई लकडाउनले भोकभोकै दिनरात काट्‍न बाध्य बनाएको छ। 

कोरोना भाइरस (कोभिड–१९) का कारण लकडाउन सुरु भएदेखि उनीहरू घर बाहिर निस्किन पाएका छैनन्। लकडाउनबारे जानकारी नहुँदा घरमा खाद्यन्‍न जोहो गर्न सकेनन्। ‘काम गरेको पैसाले एक हप्तासम्म खायौं। अहिले त पैसा पनि सकियो। घरमा खाने कुरा पनि केही छैन,’ गुल्सनकी श्रीमती मनमायाले भनिन्। 

गुल्सनका छिमेकी सुनिराम मुर्मुको पनि समस्या उस्तै छ। सुनिराम ट्याक्टर चालक हुन्। ५ जनाको परिवारमा शुक्रबारसम्मलाई मात्र पुग्ने खाद्यान्न थियो। ‘उहाँ (सुनिराम) लाई साहुकोमा गएर पैसा माग्न भनिरहेकी छु,’ उनकी श्रीमती सुनिताले भनिन्, ‘साहुकहाँ पैसा पाइएन भने भोलिदेखि के खाएर बाँच्नु ?’ 

लकडाउन लम्बिएसँगै दैनिक ज्याला मजदुरी गर्ने अतिविपन्न परिवार संकटमा परेका छन्। बिर्तामोड नगरपालिकाले विपन्न परिवारलाई राहतस्वरूप खाद्यन्न वितरण गर्ने निर्णय त गरेको छ। तर, शुक्रबारसम्म पनि राहत नपाउँदा विपन्न परिवार भोकै बस्न बाध्य छन्। 

राहत वितरणका लागि नगरपालिकाले ५० लाख रुपैयाँको विपद् व्यवस्थापन कोष खडा गरेको छ। कार्यपालिका बैठकले नगरभित्र एकद्वार प्रणाली (नगरपालिकाबाट मात्रै) बाट राहत वितरण गर्ने नियम लागू गरेको छ। दातालाई राहत वितरणमा रोक लगाएको नगरपालिकाले आफूले भने राहत बाँड्नमा बिलम्ब गरिरहेको छ। 

विपन्न परिवारलाई राहत वितरण गर्न ढिलाइ भइरहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले बताए। उनले भने, ‘यो संकटको बेला हो। स्थानीय सरकारहरूले आफ्नो अधिकार प्रयोग गरेर जतिसक्दो चाँडो विपन्न परिवारलाई राहत वितरण गर्नुपर्ने हो। तर, अहिलेसम्म हुन नसक्नु दुखद् कुरा हो।’ उनका अनुसार सिम्रिक सहकारीले जिल्लाका १५ वटै पालिकालाई राहत वितरण गर्न ८ लाख रुपैयाँ नगद सहयोग गरेको छ। 

बिर्तामोडका मेयर ध्रुवकुमार सिवाकोटीले राहत वितरणकै लागि आफूहरू दैनिक खटिएको दाबी गरे। ‘राहतको लागि तथ्यांक संकलन सकियो। अब कसरी वितरण गर्ने भनेर छलफलमा छौं,’ उनले भने। वितरण प्रणालीबारे निर्णय भएलगत्तै राहत लिएर टोलटोलमा जाने उनले बताए।

Published on: 6 April 2020 | Kantipur

Link

Back to list

;