s

भिसाका त्रुटि सच्याउन निर्देशन

शम्भु कट्टेल

परराष्ट्र मन्त्रालयले नेपाल आउने विदेशीलाई प्रवेशाज्ञा (भिसा) दिँदा भएका त्रुटिहरु नदोहोर्‍याउन र भविष्यमा भिसा जारी गर्दा सचेत हुन विदेश स्थित नियोगहरुलाई निर्देशन दिएको छ ।

विभिन्न मुलुकमा रहेका नेपाली दूतावास,महावाणिज्य दूतावासका कर्मचारी र सरकारले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूतहरू (अनररी कन्सुलर)ले भिसा दिँदा लापरवाही गरेको भन्दै चर्को आलोचना भए पछि परराष्ट्र मन्त्रालयलले ती नियोगहरुलाई आइन्दा त्यस्ता त्रुटी नदोहोर्‍याउन निर्देशन दिएको हो ।

विभिन्न नियोगबाट जारी भएको भिसा लिएर नेपाल आएका विदेशीहरुले गुनासो गर्न थाले पछि अध्यागमन विभागले त्यसका त्रुटीहरुको विवरण परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको थियो । विभागका तत्कालीन महानिर्देशक केदार न्यौपानेले भिसा जारी गर्दा नियोगबाट भएका त्रुटिसहितको पत्र परराष्ट्र मन्त्रालयमा पठाएका थिए । अध्यागमन विभागको त्यही पत्र र विवरणका आधारमा परराष्ट्रले विदेश स्थित सवै नियोगलाई सचेत गराउँदै पत्राचार गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले विदेश स्थित सवै नियोगहरुलाई भिसा जारी गर्दा गम्भीर बन्न निर्देशन दिएको वताए । मन्त्रालयले विदेश स्थित सवै नियोगहरुलाई परराष्ट्रको गाइडलाइन अनुशार भिसा जारी गर्न र भिसा जारी गर्दा गहन जिम्मेवारी बहन गर्न भन्दै पत्रचार गरेको हो ।

प्रधानमन्त्री कार्यालयले समेत विदेश स्थित नियोगहरुले भिसा दिँदा गरेको त्रुटी बारे चासो राखेको स्रोतले वताएको छ । नेपालका २९ मुलुकमा दूतावास, ५ स्थानमा महावाणिज्य दूतावास र ५० भन्दा बढी अवैतनिक वाणिज्य दूत छन् । ती सबै निकायलाई भिसा जारी गर्ने अधिकार छ ।

मन्त्रालयले ती सवै नियोगलाई पत्राचार गरेको हो । परराष्ट्र मन्त्रालयले विदेश स्थित नियोगमा नियुक्त हुनुपूर्व मातहतका कर्मचारीलाई नेपालले अवलम्बन गर्दै आएको प्रवेशाज्ञा (भिसा) नीतिका बारेमा जानकारी दिने गरेको भए पनि कतिपय नियोगमा कार्यरत कर्मचारी गरेकाले त्यसप्रति सचेत गर्दै पत्राचार गरेको हो । नेपाली दूतावास, महावाणिज्य दूतावास तथा अवैतानिक महावाणिज्य दूतले भिसा दिँदा लापरवाही गरेको भन्दै आलोचना भएपछि परराष्ट्रले त्रुटि नदोहोर्‍याउने निर्देशन दिएको हो । 

विदेश स्थित एक नियोगका अधिकारीले परराष्ट्र मन्त्रालयले भिसा जारी गर्ने प्रक्रियामा सचेत अपनाउन दिएको निर्देशन सहितको प्राप्त गरेको वताए । ती अधिकारीले अन्नपुर्णसँग भने, गल्ती गरौ भन्ने मनसाय त हुँदैन । काम गर्दै जाँदा भएका त्रुटी विस्तारै सच्याउदै जान्छौ ।’

सवैभन्दा वढी समस्या सरकारले पहुँच र चिनजानका आधारमा नियुक्त गरेका अनररी कन्सुलरहरुले त्रुटी गरेको पाइएको परराष्ट्र स्रोतले जनाएको छ । नेपाली प्रवेशाज्ञा दिँदा लापरबाही गर्ने नियोगमा वासिङ्टन डिसीस्थित नेपाली दूतावास, महावाणिज्य दूतावास हङकङ, नयाँदिल्लीस्थित नेपाली दूतावास, अस्ट्रेलिया क्यानबेरास्थित नेपाली दूतावास र बेइजिङस्थित नेपाली दूतावास छन् ।

यस्तै ढाकास्थित नेपाली दूतावास, जर्मनको कोलोन, इटलीको रोम र स्पेनको वार्सिलोनास्थित नेपाली कन्सुलरले समेत भिसा दिँदा चरम लापरबाही गरेको पाइएका थियो ।

Published on: 19 January 2017 | Annapurna Post

Back to list

;