s

भेडापालनमा रमाउँदै कृषक

पर्वत, मङ्सिर ३ गते । पर्वतको कुस्मा नगरपालिकाका एक कृषक हजुरबाको पालादेखि सुरु गरिएको रैथाने भेडापालन व्यवसायलाई गतिलो आम्दानीको स्रोत बनाउँदै आएका छन् । कुनै बेला पैसा कमाउन खाडी मुलुक कतार र भारतको पन्जाब पुगेर दुःख गरेका ४७ वर्षे कृष्ण पौडेल अहिले गाउँघरमै खुसी छन् ।

कुस्मा नगरपालिका–१२ मा पर्ने ठुलीपोखरी गाउँमा अहिले पनि युवा कामको खोजीमा खाडी र भारतको मद्रासतिर जाने गर्छन् । कृषक पौडेल भने भेडापालन र खेतीपातीबाट मासिक ६० हजार कमाइ गरी गाउँघरमै रमाएर बस्नुभएको छ ।

कतारमा रहँदा सिमेन्ट फ्याक्ट्रीमा काम गरेको बताउने कृषक पौडेल भन्नुहुन्छ, “आफ्नै गाउँघरमा बसेर दुई पैसा आर्जन गर्ने बाटो हुँदाहुँदै अर्काको देशमा धाउनु राम्रो होइन । यहाँ गर्ने जति दुःख घर गएर गरे राम्रो हुने भनी भिसा हुँदाहुँदा फर्केको हो ।”

हजुरबा तोरणध्वज बगालेको पालादेखि थालिएको भेडापालन व्यवसाय २०६५ सालतिर हराउन थालेको थियो तर विदेशबाट फर्किएपछि कृषक पौडेलले टुङ्गिन थालेको भेडापालन व्यवसायलाई फेरि सुरुवात गरेको पाइन्छ ।

पहिले ९० वटासम्म भेडापालन गरेका कृषक पौडेलसँग अहिले माउ र पाठा गरी ३५ वटा भेडा छन् । भेडा बस्नका लागि काठ, ढुङ्गा र माटोले बनाएको व्यवस्थित गोठ घर नजिकै छ । चरनको अभाव र घरमा काम गर्ने मानिस नहुँदा भेडाको सङ्ख्या घटाउनु परेको कृषकको भनाइ छ ।

भेडालाई घरमै उत्पादन हुने मकैको आटो र नुन खुवाउने गरिन्छ । वर्षमा दुई पटक ब्याउने र धेरै भेडाले एकै पटक दुई वटा पाठा जन्माउँदा पनि कृषकलाई लाभ भएको छ । भैँसीलाई बाली लगाउनका लागि गरिने राँगोपालन पनि कृषक पौडेलको तीनपुस्ते व्यवसाय हो ।

कृषकलाई भेडा बिव्रmीका लागि कुनै समस्या छैन । भेडा मासु खानका लागिभन्दा पनि झाँकी पूजामा बिक्री गरिन्छ । एक भेडा आठ हजारदेखि २० हजारसम्ममा बिक्री हुन्छ । जेठ र मङ्सिर महिनामा हुने झाँकी पूजामा अधिकांश भेडा उपयुक्त मूल्यमा बिक्री गर्ने गरेको कृषक पौडेलले बताउनुभयो ।

Published on: 20 November 2023 | Gorkhapatra

Link

Back to list

;