s

भयावह बन्दै चेलिबेटी बेचबिखन

केशवशरण लामिछाने 
 
बसपार्कनजिकै बन्दै गरेको एउटा घरमा ७ जना किशोरीहरु बन्धक भेटिए । उनीहरुलाई मुस्ताङ लैजान लागिएको सुइँको पाएपछि मानवअधिकारवादी संघसंस्थाहरुले उद्धार गरेर अभिभावकको जिम्मा लगाए । महिनाको पाँच हजारको काम लगाइदिने भनेर ती किशोरीलाई एक गाडी चालकले मुस्ताङ पुरयाउन आँटेका थिए । 
 
धादिङ घर भएकी एक किशोरीलाई रेस्टुरेन्टमा काम मिल्यो । साहुनी नभएको मौकामा साहुजीले उनलाई बलात्कार गरयो । केही दिनपछि रेस्टुरेन्टमा आउने ग्राहकहरुसँग जबरजस्ती सुत्न पठाउन थाल्यो । ती किशोरीले नमानेपछि चोरीको उजुरी गरेर पुलिसलाई बुझायो । यो खबर थाहा पाएपछि महिला तथा बालबालिका कार्यालय प्रमुख लक्ष्मी जिसीसहितको टोलीले किशोरीलाई अभिभावक कहाँ पुरयाउने व्यवस्था मिलाए ।
 
जिसीका अनुसार कास्कीमा महिला बेचबिखन तथा ओसारपसारका यी प्रतिनिधि घटना हुन् । उनी भन्छिन्, ‘अवस्था भयावह छ ।’ सानासाना नानीहरुलाई जबरजस्ती यौन व्यापारमा लगाइने थुप्रै उदाहरण कास्कीमा रहेको जिसी बताउँछिन् । ‘डान्स रेस्टुरेन्ट र बारमा मात्रै होइन खाजा खाने ठाउँमा पनि साना नानीहरुलाई यौन पेसा अंगाल्न लगाइएको छ’, उनले भनिन्, ‘कास्की मानव बेचबिखन र ओसारपसारको हब बनेको छ ।’
 
शक्ति समूहकी अनीशा लामाका अनुसार छिमेकी जिल्लाबाट आएका अभिभावकविहीन, घरेलु हिंसामा परेका किशोरीहरुलाई जबरजस्ती यौन व्यापारमा लगाइएको छ । मानव बेचबिखन भनेर पहिलापहिला भारतीय वेश्यालयमा महिलालाई बेच्ने कुरा मात्रै बुझिने गरेकोमा जबरजस्ती यौन पेसामा लगाउनु पनि मानव बेचबिखन भएको जिसीले प्रष्ट्याइन् । भन्छिन्, ‘हाम्रा चेलिबेटी सुरक्षित छैनन् ।’
 
जिसीले डान्सबार, मसाज सेन्टर, होटल, रेस्टुरेन्ट र निर्माण क्षेत्रमा काम गर्ने थुप्रै किशोरीहरुलाई जबरजस्ती यौन पेसामा लगाइएको बताइन् । ‘हामीले धेरै ठाउँमा अनुगमन गरेका छौं, सञ्चालकहरुले नै पहिला जागिर दिन्छन् अनि पछि ग्राहक खुसी बनाउन भनेर पठाउँछन् ।’ कार्यस्थलमा हुने हिंसाविरुद्धको कानुनै बनेपनि कार्यान्वयन हुन नसकेको उनले बताइन् । तर अभिभावकविहीन किशोरीहरुले उजुर नगर्ने हुँदा रेकर्डमा मानवबेचबिखनका घटना कमै देखिने गरेको पनि सुनाइन् । उनका अनुसार गएको आर्थिक वर्ष कास्कीमा ती, त्यसअघिको वर्ष पनि तीन र २०७१-७२ मा १० वटा मानव बेचबिखनका घटना प्रहरी हुँदै अदालत पुगेका थिए ।
 
इन्सेकका पोखरा संयोजक शिव खकुरेलले मानव बेचबिखनसम्बन्धी घटना अघिल्लो वर्ष आफूहरुको कार्यालयमा १० वटा दर्ता भएको जानकारी दिए । महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संस्था कोपिला नेपालकी बिना सिलवालले किशोरावस्थामै लोभलालचमा बिहे गराएर किशोरीहरुको जीवन बर्बाद पारिएका थुप्रै घटना सार्वजनिक नभएको सुनाइन् । त्यस्ता किशोरीका सन्तान र स्वयं किशोरीहरु नागरिकताबाट बञ्चित हुने गरेको पनि उनले बताइन् । 
 
‘अबको गन्तव्य : मानव बेचबिखनको अन्त्य’ नारासहित यस वर्षको मानव बेचबिखन विरुद्धको दिवस मनाइँदै छ । यस अवसरमा कास्कीमा मंगलबारदेखि एक सातासम्म विभिन्न कार्यक्रम हुँदैछन् ।
 
Published on: 5 September 2017 | Annapurna Post

Back to list

;