s

'भत्किएका घरहरू फेरि बनाइन्छ'

मलफेरी-७ गुल्मीका चरण विक सात वर्षदेखि कतारमा घर बनाउने काम गर्छन् । यत्तिका वर्ष यहाँ बसेर कमाएको पैसाले भर्खरै बनाएको उनको घर शनिबारको भूकम्पमा परेर ढल्यो । यस्तो बेला आफ्नै घर बनाउन उनी मुलुक फिर्नुपर्ने हो । 'नयाँ घर बनाउन फर्किने होइन, कतारमै अझै लामो समय बस्नुपर्छ,' उनले भने ।

 ९, ११ र १३ वर्षका उनका छोराछोरी र श्रीमती गाउँमा बारीको पाटामा बसेका छन् । 'सरकारले राहत तत्काल पुर्‍याइदिए मात्रै पुग्छ,' ९ तलामाथि ताबुक -बल्क) उचाल्दै गरेका विकले भने, 'परिवार सकशुल छन् । उनीहरूलाई नयाँ घर फेरि बनाइदिउँला ।'

महिनामा ७ सय रियाल (१९ हजार रुपैयाँ) जोगाएर बनाएको घरमा उनका परिवार सात महिनाअघि मात्रै सरेको थियो । 'त्यो घरको ऋण अझै पौने दुई लाख होला,' उनले भने, 'लाखौं नेपाली घरविहीन भएका छन् । मेरो परिवार मात्र होइन ।'

दिनरात कतारमा पसिना बगाइरहेका नेपालीहरू देशमा यस्तो विपत्ति परेका बेला एकढिक्का भएर लाग्ने बेला आएको उनी बताउँछन् । 'साराको संसार भत्केको छ,' छ जना आफन्त गुमाएका साल्मे-९, नुवाकोटका कान्छा लामाले भने,'सबै मिलेर अब भत्केको संसारलाई जोड्नुपर्छ ।'

यो बेला सबै समुदाय एक भएको देख्दा विदेशमा बस्ने नेपाली खुसी छन् । 'चाहे टुँडिखेलमा बस्ने हुन् वा गाउँका बारीका पाटीमा बस्ने, सबैलाई कुनै विशेष जाति भनेर होइन, नेपाली भनेर विदेशीले पाल पठाएका छन्,' रानीटारका खडानन्द बाँस्कोटा भन्छन्, 'जनताले आफ्नो चरित्र देखाए । अब राजनीतिक दलले आफ्नो वास्तविक चरित्र देखाउनुपर्छ ।'

वरुणेचौरका बालकृष्ण भित्रिकोटी राज्यले विदेशबाट राहत पाएको छ, अब जनताले पाउनुपर्ने बताउँछन् । यस्तो बेला राष्ट्रसेवकले गरेको कामको जति प्रंशसा गरे पनि नपुग्ने उनी बताउँछन् ।

१६ वर्षदेखि कतारमा कार्यरत तनहुँका करिम बक्स मियाँ अब आँसुलाई शक्तिमा बदल्नुपर्ने बताउँछन् । 'अब आँसुमा डुबेर हुँदैन,' उनले भने, 'यसलाई देशको विकास र एकताको बिन्दुका रूपमा लिनुपर्छ ।'

कतारमा व्यवसाय गर्दै आएका आरके शर्माले अहिले ध्वस्त भएको देश बनाउने अवसर आएको बताए । 'देशको पुनर्निर्माण गर्ने समय आएको छ । यस मौकालाई सबैले सदुपयोग गर्नुपर्छ,' उनी भन्छन्, 'योजनाबद्ध तरिकाले बस्ती निर्माण गर्ने अवसर पनि यही हो ।'

Published on: 6 April 2015 | Kantipur

Back to list

;