s

भतिजी बेच्नेलाई १२ वर्ष कैद

विवाहको अघिल्लो दिन भतिजी बेचेको अभियोगमा थुना रहेका सहोदर काका फटकशिला १ का रामचन्द्र सार्कीलाई बुधबार सिन्धुपाल्चोक अदालतले १२ वर्ष कैद सजायको तोकेको छ । जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको एकल इजलासले किशोरी 'चौतारा-के' -प्रहरीले दिएको उपनाम) लाई काका सार्कीबाट १ लाख क्षतिपूर्ति भराउनेसमेत सुनाएको हो । सार्कीविरुद्ध अदालतले चार वटा कसुर ठहर गरेको छ । अदालतले उनलाई १ लाख रुपैयाँ जरिवाना पनि तोकेको छ । स्रेस्तेदार दशरथ पंगेनीका अनुसार मानव बेचबिखन तथा ओसारपसारविरुद्ध ऐन, ०६४ को दफा १५ (१) को 'ङ' २ बमोजिम कसुरदार ठहर गरेको हो । दफा १५ (१) को 'ङ' २ मा युवती बेचेको पुष्टि भए कसुरदारलाई १० वर्ष र ५० हजारदेखि १ लाखसम्म जरिवाना तथा बालबालिका बेचेको कसुरमा १०-१२ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । बेचिँदा बालिका १३ वर्षकी थिइन् । फरार भोटेचौरका राजु तामाङ र सुवास सार्कीको मुद्दा भने मुल्तवीमा राखिएको छ । अदालतले रामचन्द्रलाई ऐनको दफा २२ बमोजिम नैतिक पतन ठहर गरेको छ । पीडितका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता धर्मअवतार कोइराला र अधिवक्ता भेषराम ढकालले २ दिन बहस पैरवी गरेका थिए । शक्ति समूहले उद्धार गरेर ०६७ मा उनलाई स्वदेश फर्काएको थियो । काकासहित तीन जनाविरुद्ध उनले जिल्ला प्रहरीमा जाहेरी दिएकी थिइन् । रामचन्द्र ०६८ चैतमा पक्राउ परेका थिए ।

Published on: 11 April 2013 | Kantipur

Back to list

;