s

भाषा र सीप भए विदेशमा कमाउन सजिलो

रुद्र खड्का

मलेखुकी शिक्षा तामाङ पछिल्लो दुई वर्षयता निकै खुसी छिन् । वाणिज्य शास्त्रमा स्नातक उत्तीर्ण गरेपछि रोजगारीका लागि विभिन्न निकाय चाहार्दा कुनै उपलिब्ध हात पार्न नसकेकी शिक्षाले दुई वर्षयता दुबईमा चाहेजस्तो रोजगारी पाएकी छिन् ।

‘बिबिएस उत्तीर्ण गरेपछि स्वदेशमै रोजगारी पाए हुन्थ्यो भन्ने लागेको थियो,’ यहाँको क्यारिफोर सुपरमार्केटमा सेल्स सहायकको रूपमा कार्यरत उनले नागरिकसँग भनिन्, ‘स्वदेशमा जति मेहनत गर्दा पनि रोजगारी नपाउँदाको पीडा दुबईमा पाएको रोजगारीले बिर्साएको छ ।’ शिक्षाका अनुसार दुई वर्षअघि मासिक तीन हजार डिराम (करिब ८४ हजार रुपैयाँ) पारिश्रमिक पाउने गरी आएकी उनी अचेल तीन हजार पाँच सय डिराम (करिब एक लाख रुपैयाँ) कमाउँछिन् ।
 
यति पारिश्रमिक विदेशमा पाइन्छ भनेर सुरुमा विश्वास नगरेकी शिक्षाले वैदेशिक रोजगारी नेपालबाट हेरेजस्तो नकारात्मक मात्र नभएको बताइन् । ‘समस्यामा परेका केही घटना देख्दा मलाई पनि विदेश पसौं या नपसौं भइरहेको थियो,’ उनले भनिन्, ‘स्वदेशमा रोजगारी नपाएको पीडामा विदेश आउँदा अपेक्षाभन्दा राम्रो भइरहेको छ ।’ दुई वर्षको भिसा अवधि सकिन केही दिन बाँकी रहेकाले नेपाल फर्कने तयारी गरिरहेकी शिक्षा पुनः दुबई आउने योजनामा छिन् । वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्ने घटना बढिरहेका बेला उनीजस्ता कैंयौ युवायुवती सन्तुष्ट छन् ।
 
काठमाडौंमा कहिले निजी कम्पनीमा रोजगारी त कहिले व्यवसाय गर्दा खासै उपलब्धि हात पार्न नसकेकी भक्तपुर, सूर्यविनायककी राधा बस्नेतको वैदेशिक रोजगारी पनि सफल छ । दुबईका एक धनाढ्यको घरमा हाउसमेडको काम गर्दै आएकी राधाको मासिक पारिश्रमिक दुई लाख रुपैयाँ छ । ‘दुबई आएको तीन महिनाजति ५० हजार रुपैयाँ लिएर काम गरेँ,’ उनले भनिन्, ‘विस्तारै मालिकले काम मन पराउँदै जाँदा अहिले मासिक दुई लाख रुपैयाँ जति पुगेको छ ।’धादिङकी शिक्षा र भक्तपुरकी राधाले अपेक्षा गरेभन्दा बढी पारिश्रमिक कसरी पाए त ? उनीहरूको जवाफ छ– सीप सिकेको र भाषा प्रस्ट भए राम्रो पारिश्रमिक पाइन्छ।
 
‘घरेलु कामदारको रूपमा आएको हो भने जिम्मेवारी पाएको काममा खोट देखिनु भएन । र, भाषाको हकमा प्रस्ट कुराकानी गर्न सक्नु पर्यो,’ उनीहरू भन्छन्  । विकास र आर्थिक समृद्धिको हिसाबले विश्वका उत्कृष्ट मुलकमा गणना हुने दुबईमा आफूले गर्ने काममा दक्ष र भाषामा प्रस्ट हुन सके गुनासो गर्ने अवस्था नआउने उनीहरूको भनाइ छ । राधा भन्छिन्, ‘दुबई आउनेलाई अन्य मुलुकको भन्दा निकै सहज छ । यहाँ अंग्रेजी, उर्दु र हिन्दीमध्ये जुन भाषामा कुरा गर्न जाने पनि हुन्छ ।’ तर दुबई आउने आधाभन्दा बढी नेपालीले भाषा र सीपमा ध्यान नदिँदा रोजगारीबाट खासै लाभ लिन नसकेको उनको भनाइ छ ।
 
दुबईस्थित नेपाली राजदूतावासका अनुसार संयुक्त अरब इमिरेट्समा (दुबईसहित) करिब दुई लाख २० हजार नेपाली कार्यरत छन् । तीमध्ये आधाभन्दा बढीले मासिक ५० हजार रुपैयाँभन्दा कम पारिश्रमिक पाउँछन् । यहाँ सरकारी रेकर्डभन्दा करिब दुई लाख बढी नेपाली रहेको बताउँछन् ।छोटो समयमा भौतिक पूर्वाधारको विकाससँगै आर्थिक अवस्थामा निकै सुधार गरेकाले दुबईमा रोजगारीका अवसर निरन्तर बढिरहेको छ, जसले गर्दा एसिया लगायत देशबाट रोजगारी र व्यवसायका लागि आउनेको संख्या थपिँदो छ । अन्य मुलुकसँगै नेपालबाट आउनेको संख्या बढिरहे सीप र भाषा निखार्न नसक्दा कैंयो कामदार तल्लो स्तरको काम न्यून पारिश्रमिक लिएर गर्न बाध्य छन् ।
 
दुबईमा लामो समयदेखि बसिरहेकाहरु यहाँ अझै पनि नेपालीलाई हेर्ने दृष्टिकोण नकारात्मक नभएको बताउँछन् । ‘दुबई आउने नेपालीको संख्या निरन्तर बढिरहे पनि स्थानीयले अझै पनि नेपालीलाई इमानदार, मेहनती र समझदारको रूपमा बुझ्छन्,’ दुबईमा तीनवटा रेस्टुरेन्ट चलाइरहेका धादिङ, मलेखुका ईश्वरप्रसाद उपाध्याय भन्छन्  । उनले दुबई आउने नेपाली भाषा र सम्बन्धित काममा दक्ष हुन सके रोजगारीबाट मनग्ये लाभ लिन सक्ने बताए । उपाध्यायले दुबईमा रहेका नेपालीमध्ये आधा जतिले मासिक ५० हजार रुपैयाँभन्दा कम, ४० प्रतिशतले एक लाख रुपैयाँ र १० प्रतिशतले पाँच लाख रुपैयाँभन्दा बढी कमाउने गरेको बताए । ‘जसले जति सीप र भाषा जानेको हुन्छ ।
 
कमाइ पनि त्यस्तै हो,’ उनले भने ।भक्तपुर, कटुन्जेकी कल्पना बस्नेत दुबईको रोजगारी पारिश्रमिकको दृष्टिकोणले मात्र नभई बसाइको हिसाबले पनि सुरक्षित रहेको बताउँछिन् । ‘नेपालमा २–४ हजार रुपैयाँ देख्न नपाउने महिलाले समेत मासिक ५० हजार रुपैयाँ हाराहारी कमाइरहेका छन्,’ उनले भनिन्, ‘यहाँ आउनेलाई दक्ष बनाएर पठाउन सक्ने हो भने महिनाको लाख रुपैयाँ कमाउन खासै गाह्रो हुँदैन ।’ दुबईका रोजगारदातालाई राम्रो पारिश्रमिक दिन समस्या नरहेको कल्पनाको बुझाइ छ । अधिकांश रोजगारदाताको चाहना कामदार सम्बन्धित काम र भाषामा दक्ष होस् भन्ने चाहना हुने उनी बताउँछिन् ।
 
‘राम्रो नियत भएका, अनुशासित र जाँगरिलालाई राम्रो पारिश्रमिक पाउन कुनै गाह्रो छैन,’ उनले भनिन्, ‘किनकि दुबई अब सिस्टममा गइसकेको छ । कसैले कसैलाई ठगी गर्ने र अप्ठेरो पार्ने सम्भावना छैन ।’ रोजगारीका लागि दुबई आउनेहरू भाषा र काममा दक्ष भएमात्र श्रम स्वीकृति जारी गर्ने व्यवस्था नेपाल सरकारले सुरु गर्नुपर्ने उनको सुझाव छ । ‘बरु दुबईमा थोरै आऊन्, जो आउँछन् उनीहरू दक्ष हुन जरूरी छ,’ उनले भनिन् ।
 
Published on: 7 February 2018 | Nagarik

Back to list

;