s

भाषा परीक्षा पुनः सञ्चालनको तयारी

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २३ गते । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुुरु भएसँगै नयाँका लागि भाषा परीक्षा लिने तयारीको बाटो खुुलेको हो । त्यसको तयारी सुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका महानिर्देशक दीपक काफ्लेले दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी)सँग नयाँका लागि भाषा परीक्षा सञ्चालन गर्नेबारे सहमति भएको तर मिति भने तय हुन बाँकी रहेको जानकारी दिनुुभयो । अबको परीक्षा कम्प्युुटर प्रणालीबाट हुने र यसका लागि ईपीएस कार्यालयमा पर्याप्त कम्प्युटर नभएकाले यस पटक पुल्चोक इन्जिनियरिङ क्याम्पसमा रहेको कम्प्युटर प्रयोगशालामा गर्ने विषयमा छलफल भएको उहाँको भनाइ छ । उहाँले भन्नुुभयो, “भाषा परीक्षा सञ्चालन गर्ने विषयमा दुवै पक्ष सकारात्मक रहेको र एक चरणको बसाइपछि टुङ्गिन्छ अनि औपचारिक रूपमा सूचना निकाल्छौँ । ”

महानिर्देशक काफ्लेले सीभीटीको माध्यमबाट भाषा परीक्षाका लागि ईपीएस कार्यालयमा रहेको कम्प्युटर पर्याप्त नभएकाले यस पटक पुुल्चोकमा गरिने र अर्को पटकदेखि ईपीएस कार्यालयमा व्यवस्था गरिने जानकारी दिनुुभयो ।

ईपीएस शाखाका अनुसार २०२१ लागि २०७७ जेठमा हुनुपर्ने हुने परीक्षा अहिलेसम्म भएको छैन । सो वर्ष कोरियाले पाँच हजारभन्दा बढी श्रमिक लैजाने गरी कोटा (सिलिङ) पठाइसकेको थियो । केही वर्षदेखि कोरियन भाषा परीक्षा जेठको अन्तिम सातामा गरिँदै आएको थियो ।

पछिल्लो दुुई वर्षदेखि कोरोनाका कारण परीक्षा रोकिएका छन् । त्यसपछि महामारीका कारण कोरिया जाने श्रमिक रोकिएका थिए । रोकिएका श्रमिकमध्ये कात्तिकको पहिलो साता ४८ जना प्रतिबद्ध श्रमिक कोरिया गएका थिए । अब क्रमैसँग रोकिएका श्रमिकलाई पनि पठाउने प्रक्रिया सुुरु भएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

Published on: 9 November 2021 | Gorkhapatra

Link

Back to list

;