s

भारतीय महिला नेपाली राहदानीमा खाडी

नेपाली राहदानीमा श्रीलंका हुँदै कुवेत जान लागेका दुई भारतीय महिलाको उद्धार
  
भारतीय महिलालाई नेपाली राहदानीमा खाडी पठाइने गरेको खुलेको छ । यो गैरकानुनी काममा गिरोह नै सक्रिय रहेको पाइएको हो । नेपाली राहदानीमा श्रीलंका हुँदै कुवेत जान लागेका दार्जिलिङकी रोसना तामाङ र डुबर्स भारतकी मञ्चली तामाङलाई माइती नेपालको पहलमा श्रीलंकाबाट उद्धार गरिएपछि उनीहरू नेपाली राहदानीमा विदेश उडेको पत्ता लागेको हो । राहदानीमा दार्जिलिङकी रोसनाको ठेगाना रसुवा छ । मञ्चलीको ठेगाना दमक झापा उल्लेख छ ।
 
यसअघि खाडीमा मृत्यु भएकी एक भारतीय महिलालाई पनि नेपाली राहदानीमा पठाइएको खुलेको थियो । भारत दार्जिलिङकी ती महिलाको ठेगाना र नाम दुवै झूटो थियो । माइती नेपाल क्षेत्रीय कार्यालय काँकडभिट्टाका प्रमुख गोविन्द घिमिरेले कुवेत लैजाने बहानामा श्रीलंकामा महिनौं दिनदेखि बन्धक पारिएका महिलालाई हालै उद्धार गरिएको बताए । करिब सय महिलामध्ये केही श्रीलंकामै छन् । केहीको उद्धार गरिएको छ ।
 
‘उद्धार गरिएकामध्ये दुई जना भारतीय हुन्,’ उनले भने, ‘उनीहरू नेपाली राहदानीमा उडेको देखिन्छ ।’
 
दुवै महिलालाई माइती नेपालले मंगलबार परिवारको जिम्मा लगाएको छ । श्रीलंकाबाट उद्धार गरिएकी दार्जिलिङकी रोसनाले त्यहींकै लक्की शेर्पा नामक महिलामार्फत श्रीलंका पुगेको बताइन् । ‘पासपोर्ट र श्रीलंकासम्म पुग्ने खर्च एजेन्टले नै तिरे,’ उनले भनिन् । उनका अनुसार दिल्लीमा करिब एक महिना राखेपछि श्रीलंका पुर्‍याइएको थियो ।
 
श्रीलंकाको एउटा गोदामजस्तो घरमा राखिएको उनले बताइन् । ‘मलाई त्यहाँ पुर्‍याउँदा ५०–६० जना नेपाली दिदीबहिनी पहिल्यै बसिरहेका थिए,’ रोसनाले भनिन्, ‘सबैलाई बन्धक बनाएर राखिएको थियो ।’ उद्धार गरिएकी अर्की महिला मञ्चली ६ महिनाअघि कुवेत जान घरबाट हिँडेकी थिइन् । 
 
Published on: 31 August 2016 | Kantipur

Back to list

;