s

भर्ना अभियानले छोएन श्रमिक बालबालिकालाई

अशोक पहाडी

सरकारले दुई हप्तासम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरे पनि रौतहटमा त्यसको प्रभाव परेको छैन । अहिले पनि रौतहटका सयौँ बालबालिका विद्यालय भर्ना भएका छैनन् । पूर्व–पश्चिम राजमार्गको व्यस्त बजार चन्द्रनिगाहपुरमा दर्जनौँ बालक श्रमिकका रूपमा काम गरिरहेका छन् ।

आर्थिक अवस्था कमजोर भएका उनीहरू सडकमा गुड्ने सवारीसाधनका यात्रुलाई पानी, नरिवललगायतका सामान बेचेर जीविका चलाइरहेका भेटिन्छन् । त्यसरी काम गर्नेमा बढीजसो बालक छन् । उनीहरूलाई विद्यार्थी भर्ना अभियानले छुन सकेको छैन ।

चन्द्रपुर–४ का ९ वर्षीय सेख मासुम बिहानैदेखि सडकमा मिनरल वाटरका बोतल बोकेर दौडिरहेका भेटिन्छन् । जता गाडी रोकिन्छ, पानी बेच्न उनी त्यतै कुद्छन् । चन्द्रनिगाहपुरमा दर्जनौँ बालबालिकाको दिनचर्या यसरी नै बित्ने गरेको छ । बालक मासुमले घरमा कमाउने मान्छे नभएका कारण आफूले पानी बेच्ने गरेको बताए । मासुमसँगै पानी बेच्ने अर्का बालक हरि साहले भने, ‘स्कुल जान किताब, कापी र पोसाक चाहिन्छ । बुबासँग ती सबै छैन ।’
 
उनीहरूले १२ रुपैयाँमा खरिद गरेको एक बोतल पानी यात्रुलाई २०–२५ रुपैयाँमा बिक्री गरेर हातमुख जोड्ने खर्च जोहो गर्दै आएका छन् । स्थानीय भरत आचार्यले दैनिक सडकमा श्रम गर्ने बालकलाई विद्यार्थी भर्ना अभियानले सम्बोधन गर्न नसक्नु दुःखद भएको बताए ।
 
दुर्घटनाको जोखिममा बालबालिका
 
बालबालिकाबीच सडकमा पानी बेच्ने प्रतिस्पर्धा नै चल्ने गरेको छ । यसले सडकमा दुर्घटनाको जोखिमसमेत बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक राममणि उप्रेतीले बताए ।
 
सर्लाही ब्रह्मपुरी घर बताउने १३ वर्षीय धर्मेन्द्र साहले भने, ‘कुनै यात्रु गाडी कुदाउने मौका छोपेर पानी लिन्छन्, तर पैसा दिँदैनन् । पैसा लिन ज्यानकै बाजी लगाएर बसको पछिपछि दौडनुपर्छ ।’ गत वर्ष गाडीको पछिपछि दौडिँदा दुर्घटना परी चन्द्रनिगाहपुर  चोकमा एक  बालकको मृत्युसमेत भएको थियो ।
 
चन्द्रनिगाहपुरमा केही भारतबाट आएका बालकसमेत पानी बेच्न सडकमै बस्ने गरेको स्थानीय व्यापारी माधवलाल श्रेष्ठले बताए । रौतहटमा विभिन्न संघसंस्थाले बालश्रममुक्त अभियान चलाए पनि सफल हुन सकेको छैन र्।
 
Published on: 6 May 2018 | Naya Patrika

Back to list

;