s

भारी बोक्ने भरियाको यही हो जिन्दगानी

सगरमाथा क्षेत्र, सोलुखुम्बु — हिलारी ब्रिज तरेपछि संखुवासभा चैनपुरका ६६ वर्षीय रणबहादुर दाहालले झन्डै ५५ किलोको भारी बिसाए । खुम्बु क्षेत्रमा नै ३४ वर्षदेखि निरन्तर भारी बोक्दै आएका दाहाल कुरा गर्ने ‘मुड’ मा थिएनन् । नाम्चे बजारतर्फको उकालो चढ्नुअघि उनले लामो सास फेरे । ‘बसिराखे थकाइ लाग्छ, हिँडिराखे जाँगर आउँछ,’ उनले भने, ‘ठाउँ–ठाउँमा थोरै–थोरै बस्ने अनि हिँड्ने गर्नुपर्छ ।’

लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाने बाटोभरि जति पर्यटकसँग साक्षात्कार भइन्छ, त्यति नै लामो हुन्छ भरियाको लर्को पनि । जसलाई पसिना बगाएर जिन्दगी चलाउने आदत बसिसकेको छ । हेलिकोप्टर र जहाजले ल्याएको भारी लुक्लाबाट बोकेर झिसमिसेमै आधार शिविर आसपास बस्ती र बजारसम्म सरसामान पुर्‍याउने काम भरियाहरू नै गर्छन् ।

घोडा–खच्चड र जोक्पे (चौंरीको बहर) विकल्पका रूपमा पनि प्रयोग हुन्छन् । दूधकोशीको तिरैतिर नाम्चे अनि इम्जा नदीको छेवैछेउ सगरमाथातर्फ हिँडिरहेका भरियाका कारण पर्यटकदेखि स्थानीयलाई सहज त भएको छ तर स्वयं भरियाका दुःख भने प्रशस्तै छन् ।

यस क्षेत्रमा भारी बोकेर गुजारा चलाइरहेका भरियाहरू अनेकन् सुखदुःखका अनुभूति सुनाउँछन् । काम पाए पनि स्वास्थ्य, सुरक्षा र पारिश्रमिकका विषयमा भने आफूहरूको असन्तुष्टि रहेको अर्का भरिया तीर्थबहादुर मगर बताउँछन् । लुक्लाबाट पर्यटकको भारी बोकेको दैनिक १८ सय ज्याला पाउने गरेको उनले बताए । ‘तर खायो, बस्यो आधाउधी पनि जोगिन्न,’ मगरले थपे, ‘यो बाटोमा खानबस्न धेरै महँगो छ । सकेसम्म खर्च कम गरेर जोगाउने प्रयास गर्छौं ।’

लुक्ला विमानस्थलबाट करिब आठ दिन लगाएर पदयात्री आधार शिविरसम्म पुग्छन् । फर्किन थप ३ दिन गरी ११ दिनको ‘राउन्ट ट्रिप’ हुन्छ । यस क्रममा विभिन्न ट्रेकिङ कम्पनीमार्फत आएका पर्यटकका भारी आफूहरूले बोक्ने मगरले बताए । यातायातको सुविधा नपुगेको यो क्षेत्रमा घोडा, खच्चड, जोक्पे तथा कहिलेकाहीं हेलिकोप्टरसमेत सरसामान ओसार्न लगाइने भए पनि पहिलो प्राथमिकतामा भने भरिया नै पर्ने गरेको खोटाङ जलेश्वरी घर भई खुम्बु क्षेत्रमा भारी बोक्दै आएका मेघराज तामाङले बताए ।

‘लुक्लाबाट नाम्चेसम्म पसलको सामान बोकेको प्रतिकिलो ५० रुपैयाँ पाइन्छ,’ तामाङले भने, ‘एक जनाले ५० देखि ८० किलोसम्मको भारी बोक्छौं ।’ पसल र घरायसी सामानभन्दा पर्यटकको झोला बोक्दा राम्रो कमाइ हुने उनले बताए । सिजन (चैत–जेठ र असोज–मंसिर) का बेला महिनामा ३० देखि ४० हजारसम्म कमाउने गरेको मेघराजले सुनाए । ‘टुरिस्टको झोला बोक्दा दिनको दरले पारिश्रमिक पाइन्छ । घरायसी सामान बोक्दा त दुई दिनको बाटो पनि एक दिनमा हिँडेर छिटो फर्किनुपर्छ,’ उनले भने ।

पर्यटकले खुसी भएर टिप्स पनि दिने भएकाले उनीहरूको भारी बोक्न रुचाउने गरेको बताए । ‘तर पर्यटकको झोला बोक्ने काम पाउन सजिलो छैन । धेरैजसो कम्पनीको सम्पर्कबाट आउने भएकाले उनीहरूका प्रायः आफ्नै भरिया हुन्छन् । जो पायो त्यहीले मौका पाउँदैन,’ मेघराज भन्छन् । बोक्ने सबै सामान सजिलो र सधैं नहुने बताउने अर्का भरिया भगतचन्द्र तामाङले यो काम निकै जोखिमपूर्ण रहेको गुनासो गरे । ‘घुम्न आउनेहरू न्यानो कपडा, खानपान र अरू धेरै सुविधाका साथ आएका हुन्छन् । हामी त रुखोसुखो खाएर एक सरो लुगाको भरमा गह्रौं भारी बोकेर हिँड्नुपर्छ,’ उनी भन्छन्, ‘कहिलेकाहीं त हिँड्दाहिँड्दै मौसम खराब भएर हिउँ पर्छ । छाडेर हिँड्न पनि भएन । घाम, पानी, हिउँ र चिसो–तातो केही नभनी निरन्तर भारी बोक्नुपर्छ ।’

यस खण्डमा पदयात्रामा निस्किएका जति पर्यटक हुन्छन् त्यति भरिया हुने पथप्रदर्शक फु छितर शेर्पा बताउँछन् । प्रायः पर्यटकले झोला आफैं नबोक्ने भएकाले अत्यावश्यकीय सामानबाहेकको झोला भरियाले बोक्ने उनले बताए । ‘लुक्लाबाट हरेक दिन उचाइमा जानुपर्ने भएकाले उनीहरूले बोक्न सक्दैनन्, यसकारण भरियाको सहारा लिन्छन्,’ उनले भने । यसबाहेक विभिन्न दैनिक उपभोग्य सामानदेखि निर्माण सामग्री ओसार्ने काममा पनि भरिया नै लगाइने नाम्चेका बासिन्दा कान्छा तामाङले बताए । ‘थोरै सामान घोडा–खच्चड र हेलीमा ल्याउन पनि मुस्किल हुन्छ । यसकारण चलेको रेटमा भरियालाई नै सामान बोकाउँछौं । यसो गर्दा सजिलो पनि हुन्छ,’ उनले भने, ‘तर सिजनमा त भरिया पाउन पनि मुस्किल हुन्छ ।’

अनेकथरी भारी बोकेर ५ हजार मिटरभन्दा उचाइसम्म यात्रा गर्ने आफूहरूलाई काम गर्दागर्दै बानी परिसकेको सोलुकै ङकी शेर्पाले बताए । ‘रित्तै हिँड्दा पनि पर्यटकले ८ दिन लगाउने उकालो बाटो हामी भारी बोकेर पनि ३–४ दिनमा पुग्छौं । हामीलाई भारीमै हिँड्न बानी परिसक्यो ।’ सोलुखुम्बु महाकुलुङका एक्कबहादुर कुलुङले कक्षा १२ को जाँच दिएपछि यो क्षेत्रमा पछिल्लो २ वर्षदेखि भरियाको काम गरिरहेको बताए । उनले महिनामा ४०–५० हजारसम्म कमाइ गर्ने बताए ।

तेङबोचेको ओरालोमा भारी बिसाएर खाजा खाइरहेका कुलुङको साथमा सोलुखुम्बुकै भीमराज तामाङ पनि थिए । उनले पनि कक्षा १२ को जाँच दिएर यता आएको बताए । भरियाहरू ढाकर, भारी अड्याउन तोक्मा (सानो लठ्ठी), नाम्लो, सामान अड्याउन भाटा र कस्नलाई आवश्यक पर्ने डोरी आफैं व्यवस्था गर्छन् । ‘सरासर हिँड्यो भने त हामी नाम्चेबाट ३ दिनमै बेस क्याम्प पुग्छौं,’ राजकुमार भन्छन्, ‘तर सधैं बेस क्याम्प नै भने पुगिँदैन । बीचका गाउँ र बजारका लागि पनि सामानको भारी पाइन्छ ।’

उकाली–ओराली गर्दै, खोला, जंघार तर्दै अनेकथरी मान्छेको लहरोमा मिसिएर भारी बोकिरहेका सोलु क्षेत्रका भरियाका कारण यस क्षेत्रमा आवतजावत गर्ने पर्यटकलाई सहज त भएको छ नै सँगसँगै यस खण्डको जनजीवनलाई सजिलो बनाउन पनि टेवा पुगेको छ । आफूहरूको सुरक्षा र अधिकारका विषयमा भने ठूलो चुनौती रहेको भरिया भगतचन्द्र तामाङ बताउँछन् । ‘भारी पायो बोकेर हिँड्यो । पैसा पायो मख्ख पर्‍यो । यस्तै छ हजुर के गर्ने,’ उनी भन्छन्, ‘तर दुःख–बिराम पर्दा एक सिजनमा कमाएको सबै उपचारमै सकिन्छ । हाम्राबारे बोल्न न हामी सक्छौं, न अरू बोलिलिन्छन् । सबै भगवान् भरोसा चलेको छ ।’

Published on: 5 June 2024 | Kantipur

Link

Back to list

;