s

भारी बोक्ने भरियाको यही हो जिन्दगानी...

रुकुम पश्चिम — ‘सुकेर जाँदैन रोकेर रोकिँदैन,
भारी खेप्ने खेतालाको यही हो जिन्दगानी...
झरनाको चिसो पानी ।'

प्रगतिशील गायक जीवन शर्माको गीत जस्तै न रोकेर रोकिन्छ, न सुकेर जान्छ । भारी बोकेर गुजारा गरिरहेका मजदुरहरुको जीवन कहानी र जीन्दगानी यस्तै छ । प्रसंग हो रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगामा दैनिक भारी बोकेर गुजारा चलाइरहेका मजदुरहरुको ।

हिउँद यामको यो चिसो मौसममा पनि एकसरो कपडा छ जीउमा तर पनि चिलचिल पसिना निधारमा । गह्रो भारी बोकेपछि चिसोको प्रवाह भएन र बग्यो पसिनाले निथ्रुक्क भयो जिउ । ५९ वर्षको उमेरमा पनि असिन–पसिन हुनेगरी यसरी दैनिक भारी बोक्छन् रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ का वीरबहादुर केसी । ‘हामीलाई के हिउँद, के बर्खा । जे जाडो, के गर्मी । जहिले पनि काम त गर्नेपर्छ । पसिना बगाउनैपर्छ’ उनी सुनाउँछन्, ‘१४ वर्ष भयो यसरी खलंगामा भारी बोकेर यताउता गर्न लागेको ।’

उमेरले नेटो काट्नै लाग्दा पनि भारीको भार घटेको छैन तैपनि वीरबहादुरलाई कुनै पछुतो छैन । उनी भन्छन, ‘हाम्रो काम नै यही भएपछि के लाज, के अप्ठ्यारो । यसैबाट हाम्रो त हाम्रो जीन्दगी चलेको छ ।’

वीरबहादुर जस्तै भारी बोकेरै जीवन चलाइरहेकाहरुको संख्या ठूलो छ, सदरमुकाम खलंगामा । यसैमध्येका अर्का हुन्, बाँफिकोट गाउँपालिका लालबहादुर कुसारी । विगत १० वर्षदेखि सदरमुकाममा बोसेर परिवारका लागि पसिना बगाएरै श्रम गरिरहेका उनले पनि काम ठूलो सानो नहुने बताए । ‘बिहान ७ बजेदेखि काम खोज्दै बजार निस्किन्छौं । जे काम पाइन्छ त्यही गर्छौं । एउटा सस्तोमा खाना खान पाइने होटेल छ, बिहान–साँझ त्यही खाना खान्छौं अनि काममा लाग्छौं ।’ आफ्नो दैनिकी सुनाउँदै उनले भने, ‘साँझ पनि ७–८ बजेसम्मै व्यस्त हुन्छौं । कहाँ दाउरा–चुल्हो र दाल–चामल जुटाउनु त्यो भन्दा बरु सबैले नियमित होटेलमै खाना खान्छौ ।’

बस र ट्रकले ल्याएको माल–सामान झार्नेदेखि घर–घरमा ग्यास, चामल आदी सामान पुर्‍याउने काम गरिरहेका यसप्रकारका मजदुरहरुको संख्या सदरमुकाममा मात्र करिब ६० जना रहेको अनुमान भीमबहादुर खड्काले गरे । बजारमा घट्दै गएको चहलपहलका कारण काम पाउन भने मुस्किल भइरहेको उनको भनाइ छ । ‘म १४ वर्षदेखि भारी बोकिरहेको छु । अब त पहिला जस्तो काम पाउन मुस्किल छ’ भिमबहादुर भन्छन्, ‘पहिला त दिनकै एक हजारजपति कमाई हुन्थ्यो अहिले ५ सय रुपैयाँ पुग्न पनि मुस्किल भैरहेको छ ।’

भारी बोकेरै घरपरिवारको गुजारा धानिरहेका यी मजदुरहरुको सामाजिक सुरक्षा भने निकै फितलो छ । ‘हामी त्यस्तै दश जनाजति सँगसँगै बस्छौं । खाने–बस्नेमात्रै सँगै हो । काम खोज्ने र कमाउने कुरामा हानथापै हुन्छ,’ लालबहादुरले भने, ‘म एकपटक ५ दिन बिरामी भए । त्यसअघि कमाएर बचाएको अलिअलि पनि ओखतीमुलोमै सकियो ।’

श्रम खर्चेर जीविकोपार्जन गरिरहेका मुसिकोटका भरियाप्रति कतिपयले भने राम्रो नजरले हेर्दैनन् । उनीहरुको श्रमको राम्रो मुल्यांकन पनि गर्दैनन् । ‘घण्टौं काम लगाउछन् तर सुहाउँदो ज्याला दिँदैनन्,’ उनीहरुको भनाइ छ । ‘हामीलाई त तेस्रो दर्जाको नागरिक जस्तो व्यवहार गर्छन् । यिनीलाई जे काम लगाए पनि हुन्छ, जति ज्याला दिएपनि हुन्छ भन्ठान्छन् । तर हामी पनि त मान्छे हौं । हाम्रो पनि मन–मुटु छ, घर–परिवार छ’ वीरबहादुरले भने ।

रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगामा ज्याला–मजदुरी गरिरहेका यी मजदुरका प्रतिनिधि पात्र हुन् । उनीहरुको पेसागत सुरक्षाका विषयमा बेलाबेला बहस हुने गरेको भए पनि व्यवहारतः सुधार आउन सकेको छैन । उनीहरु जसरी पसिना बगाउँछन्, त्यसरी आवाज उठाउन सक्दैनन् । स्थानीय सरकारले पनि मजदुरप्रति कार्यक्रम ल्याउन सकेको छैन । उनीहरुको पेसागत र व्यक्तिगत सुरक्षाका विषयमा रुकुम पश्चिमका कुनै पनि स्थानी सरकारको रुपमा चिनिने पालिकाले अहिलेसम्म कुनै काम गरेको पाइँदैन । उनीहरुको हित नहुँदासम्म कोही मालिक र कोही भरिया भइरहने छ, विष्णु खत्री र बिमाकुमारी दुराले गाएजस्तैः

भरिया दाइले बिसाउने भारी

सुन माया डाँडैको चौतारी

कोही हुने मालिका त कोही हुने दास

किन हुन्न यो धर्तीमा सबलाई एकैनास.... ?

Published on: 10 January 2024 | Kantipur

Link

Back to list

;