s

भरतपुरका सरसफाइ मजदुरका लागि पहिलो पटक स्वास्थ्य परीक्षण शिविर

भरतपुर महानगरपालिकाभित्र जम्मा भएको फोहोर व्यवस्थापनमा खट्ने मजदुरहरूले पहिलो पटक निःशुल्क स्वास्थ्य परीक्षणको अवसर पाएका छन्। नेपाल विकास समाजले सरसफाइ मजदुरका लागि स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको थियो।

बुधबार १०८ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएको समाजका कार्यक्रम संयोजक सागर कार्कीले जानकारी दिए।

स्वास्थ्य परीक्षणका लागि आउने सरसफाइ मजदुरहरू अधिकांशमा छाला र मांसपेशी दुख्ने समस्या देखिएको कार्कीले बताए। हात काँप्ने, आँखा, दाँत, टाउको, ढाड दुख्ने, हात, खुट्टा सुन्निने, रिँगाटा लाग्ने, फलाम तथा सिरिञ्जले घोचेर, काटेर समस्या भएकाहरू परीक्षणका लागि आएको उनले बताए।

‘उनीहरूमध्ये केहीलाई थप उपचार गर्नुपर्ने देखियो। भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल तथा चितवन डेण्टल एसोसिएसनसँगको समन्वयमा थप उपचार गराउने व्यवस्था मिलाउँदैछौं,’ कार्कीले भने, ‘भरतपुर अस्पताल र आँखा अस्पताललाई निःशुल्क उपचारका लागि आग्रह गर्छौं। डेण्टल एसोसिएसनलाई सकेसम्म कम शुल्कमा उपचारका लागि आग्रह गरेका छौं।’

सामान्य सुरक्षाका साधनसमेत प्रयोग नगरी काममा खटिँदै आएका सरसफाइ मजदुरहरू आर्थिक समस्याका कारण उपचारका लागि अस्पताल जान नसकेका कारण स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको कार्कीले बताए।

‘आर्थिकोपार्जनका लागि काममा मात्रै जोड दिँदा उनीहरूले आफ्नो स्वास्थ्यको कहिल्यै ख्याल गरेनन्,’ कार्की भन्छन्, ‘रोग बढेर ठूलो भइसक्दा पनि उपचार गर्न नसकेर सकीनसकी काम गरिरहेका मजदुरहरू देख्यौं। उनीहरूका लागि केही गर्नुपर्छ भन्ने ठानेर स्वास्थ्य शिविर आयोजना गरिएको हो।’

शिविरमा सडक सफा गर्ने, सडकमा भेटिने फोहोर जम्मा गर्ने, फोहोरलाई नारायणी नदी किनारको डम्पिङ साइटसम्म पुर्‍याउने सवारी चालक, लेबर, सुपरभाइजर र डम्पिङ साइटमा बसेर पुनःप्रयोग गर्न मिल्ने फोहोर छुट्टाउने मजदुरहरू उपस्थित थिए।

महानगरपालिकामार्फत् काम गर्ने ४३ जना, निजी संस्थाहरूमार्फत् काम गर्ने एक सय बढी र आम्दानीका लागि डम्पिङ साइटमा बसेर पुनःप्रयोग हुने सामान छुट्टाउने ३० जनाभन्दा धेरै सरसफाइ मजदुरहरू भरतपुरका सडक तथा नारायणी नदी किनारमा काम गर्छन्।

नेपाल विकास समाजले भरतपुर महानगरपालिकाको वातावरण तथा स्वास्थ्य शाखा, भरतपुर अस्पताल, चितवन डेण्टल एसोसिएसन, भरतपुर आँखा अस्पताल र एकीकृत विकास समाजको सहयोगमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको हो।

Published on: 12 October 2023 | Setopati

Link

Back to list

;