s

भारतमै हराउँछन् रोजगारीका लागि गएका नेपाली कामदार

पुष्पराज जोशी 

रोजगारीका लागि भारत गएका स्याङ्जाका शोभकान्त लामिछाने ३५ वर्षपछि भदौ पहिलो साता भेटिएको खबर सञ्चारमाध्यममा पढ्दा पुनर्वास नगरपालिका–४ घ गाउँकी प्रियङ्का काफ्लेलाई पनि आशा जागेको छ। १३ वर्षअघि रोजगारीकै लागि भारतको दिल्ली पुगेका बुबा शिवराज पनि फर्किन्छन् कि भन्ने आशा उनलाई समाचारले दिएको छ। ‘२०६५ सालमा रोजगारीका लागि बुबा भारत जानु भएको थियो,’ उनले भनिन्,‘अहिलेसम्म न फर्किनु भयो, न त सम्पर्कमै हुनुहुन्छ।’ रोजगारीका लागि भारत गएकाहरू धेरै समयपछि फर्केको समाचार सुन्दा बुबा पनि कतै टुपलुक्क त आई पुग्छन् कि भन्ने आश जागेको उनी सुनाउँछिन्।

आफू ८ वर्षकी हुँदा बुबा घरखर्च चलाउनका लागि भन्दै भारतको दिल्ली गएको बताउँदै उनले भनिन्,‘बुबा २०६५ फागुनमा भारत जानु भयो, चैतमा बहिनी जन्मिई, बहिनी पनि  १३ वर्षकी भइसक्दा समेत बुबा अझै आउनु भएको छैन।’ बुबाको खोजीका लागि धेरै पटक प्रयास गर्दा पनि नभेटिएको उनले बताइन्। ‘हामीले बुबाको खोजीका लागि दिल्लीमा काम गर्ने आफन्तहरुलाई पनि सम्पर्क गरिरहेका छौँ,’ उनले भनिन्,‘तै पनि भेटिनु भएको छैन।’ रोजगारीका लागि भारत जाने आउने गरे पनि पछिल्लो समयमा १३ वर्षदेखि भने उनी सम्पर्क विहीन छन्। ‘भारतमा हराउनै पर्ने मान्छे त बुवा हुनुहुन्न,’ उनले भनिन्,‘तर, के कति कारणले सम्पर्क विहीन हुनु भयो थाहै भएन।’ 

पुनर्वास नगरपालिकाकै वडा नम्बर ५ ग गाउँका प्रताप विक हराएको पनि ३० वर्ष भइसक्यो। रोजगारीका लागि भन्दै उनी पनि भारतको मुम्बई गएका थिए। मुम्बईबाटै आफ्ना पति हराएको लाली बिक बताउँछिन्। ‘छोरी दुई वर्षकी थिई, त्यही बेला पैसा कमाउन भन्दै पति भारत गएका थिए,’ लालीले भनिन्,‘पैसा कमाउन गएका पति ३० वर्ष भइसक्दा पनि आउनु भएको छैन, न त खबरै छ।’ आफ्ना पति ज्युँदा छन् कि मरेका छन् केही अत्तो पत्तो नहुँदा सरकारबाट पाउने सेवा सुविधाबाट समेत वञ्चित हुनु परेको उनको गुनासो छ। बुढा मुम्बईमा चौकीदारीको काम गर्ने गरेको बताउँदै उनले भनिन्,‘उता चौकीदारीको काम गर्नुहुन्थ्यो भन्ने सुनेकी थिएँ, चौकीदारी गर्ने मान्छे आफै हराउनु भयो।’ मुम्बईमा रहेका आफन्तहरूले पनि खोजी गर्दा समेत नभेटिएको उनी बताउँछिन्। ‘हामीले खाजीका लागि सक्नेजति सबै गर्‍यौँ,’ उनले भनिन्,‘तर भेटिनु भएन।’   

डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझ गाउँका ३३ वर्षिय दिलबहादुर खड्का हराएको पनि ६ वर्ष भइसक्यो। भारतबाट पति फर्केर आउने आशमा बाटो हेर्दा हेर्दै प्रेमा खड्काका आँखा थाकिसके। २०७२ सालमा पैसा कमाउन भन्दै दिलबहादुर भारतको बंगलोर गएका थिए। ‘पल्लो गाउँका साथीहरुसँग भारत जान्छु भन्दै जानु भएको थियो,’ प्रेमाले भनिन्,‘साथीहरू कोही नगएपछि एक्लै जानु भएको रहेछ।’ जाने बेलामा भारत पुगेपछि फोन गरौला भन्दै नम्बर लिएर गएको सम्झँदै प्रेमाले भनिन्,‘पुगेपछि फोन गर्ने त कहाँ हो कहाँ अहिलेसम्म पनि सम्पर्कमै आएका छैनन्।’ पैसा कमाउन भनेर गएको मान्छे ६ वर्ष पुगिसक्दा पनि सम्पर्कविहीन रहेको बताउँदै उनले भनिन्,‘पति ज्युँदा छन् कि मरिसके भनेर पनि धेरै ठाउँमा जोखना हेराइसकेका छौँ, सबैले आउँछन् भन्छन्।’ पति फर्कन्छन् भनेर देवी देउतालाई पनि भाकल गरेको उनी बताउँछिन्। ‘देवी देउतालाई पनि भाकल गरेका छौँ,’ उनले भनिन्,‘खै अहिलेसम्म आएका छैनन्।’ 

भारतमा रहेका आफन्तले पनि खोजी जारी राखेको उनी बताउँछिन्। ‘पूरै  वंगलोर खोजीसक्यौ,’ उनले भनिन्,‘भेटिँदै भेटिँदैनन्।’ पतिको फोटो राखेर फेसबुकमा पनि लेखेको उनले बताइन्। ‘पतिको फोटो फेसबुकमा राखेर पनि खोजी अभियान जारी गर्‍यौँ, यो मान्छेलाई अहिलेसम्म कसैले पनि देखेको छौँ भनेको छैन,’ उनले भनिन्,‘आफूले गर्नेजति गरिसक्यौँ, पत्तै लाग्दैन।’ हराएका पतिलाई खोजीका लागि प्रहरी समक्ष भने नपुगेको उनी बताउँछिन्। ‘भारतमा गएको मान्छेलाई प्रहरीले के खोज्ला भनेर प्रहरीमा निवेदन भने दिएकी छैन,’ उनले भनिन्,‘भारतमा हराएका मान्छेको खोजी सरकारले पनि गरिदिनु पथ्र्यो।’   

डोटीको शिखर नगरपालिका वडा नम्बर ३ जोरागाउँकी ६० वर्षीया जोगेनी भुल घरमा नौलो मान्छे आउने बित्तिकै छोराको तस्बिर देखाउँछिन् र भन्छिन्,‘अब त छोरा नदेखेरै मर्ने भएँ ।’ उनलाई थाहा छैन बेपत्ता छोरो चेत भुल जीवित छन् वा छैनन्। तैपनि मर्नुअघि एकपटक मात्रै भए पनि हेर्न पाए हुन्थ्यो भन्ने लाग्छ । छोरो चेतलाई सम्झेर रातदिन पिरोलिरहेको उनी बताउँछिन्।

२५ वर्ष अघि रोजगारीका लागि भारत पसेका जोगेनीका जेठा छोरा चेत गएदेखि घर फर्केका छैनन्। चेत पैसा कमाउन भन्दै  भारतको मुम्बई हानिएका थिए। त्यसपछि उनी कहिल्यै परिवारको सम्पर्कमा आएनन् । जोगेनीका अनुसार उनी मुम्बईमा चौकिदारी काम गर्थे।  सँगै गएका अरू घर फर्किए, तर उनी त्यहाँबाट बेपत्ता भए । २५ वर्षअघि बेपत्ता भएको छोराका बारेमा भुल परिवारले कतै उजुरी वा निवेदन दिएन । भारतमा हराएका छोरालाई नेपालका प्रहरीले खोजिदेलान् भन्ने उनीहरूलाई लागेन । त्यसैले गाउँघरतिरै धामीझाँक्री र ज्योतिषी कहाँ हेराउने काम मात्रै गरे । ‘धामी झाँक्रीले छोरो बाँचेकै छ, एक दिन आउँछ भन्छन्,’ उनले भनिन्,‘खै ! आउँछ आउँदैन दैव जानुन्।’   

भारतमा हराएकाहरूको बारेमा तथ्याङ्क संकलन गरेको गैरसरकारी संस्था निड्स नेपालका अनुसार कञ्चनपुरको महाकाली नगरपालिकाका ५४, पुनर्वास नगरपालिकाका ३७ र डोटीको शिखर नगरपालिकाका एक सय जना बेपत्ता छन्। सबै रोजगारीका लागि भारत गएकाहरू हुन्। भारत जाने कामदारका विषयमा अनुसन्धान गरेका प्रकाश मडैले भने,‘रोजगारीका क्रममा सानै उमेरमा भारत गएकाहरु उतै रमाउने र बस्ने गरेका कारण पनि परिवारलाई हराएको लाग्न सक्छ।’

कतिपय पारिवारिक रूपमा तनाव भोगेर गएकाहरू बेपत्ता भएको तथ्याङ्क पनि देखिएको छ। केही भारतका विभिन्न जेलमा समेत रहेको हुन सक्ने उनको अनुमान छ । बेपत्ता हुने मध्ये अधिकांश युवा अवस्थामा र बिहे नहुँदै भारत पसेकाहरू छन्। निड्स नेपालको तथ्याङ्क हेर्दा घरपरिवारको जिम्मेवारी नभएका कारण भारतमै रमाउने र बिस्तारै उतै हराउने गरेको देखिएको छ । रोजगारीका लागि भारत जाने र उतै हराउनेको संख्या डोटीमा अत्याधिक रहेको बताउँदै जिल्ला प्रहरी कार्यालय डोटीका एसपी दानबहादुर मल्लले भने,‘डोटीबाट रोजगारीका लागि भारत जानेहरू अत्याधिक छन्, त्यहाँ गएकाहरू कोही नफर्कने र आफन्तसँग सम्पर्कविहीन हुनेहरु पनि छन्।’

भारतमा हराएका आफन्तहरुका बारेमा प्रहरीमा रिपोर्ट लेखाउन आउने भने नभएको उनले बताए। ‘संघसंस्थाले तथ्याङ्क त सार्वजनिक गरेको छ, तर आफन्तहरुले भारतमा मानिस हराएको भनेर रिपोर्ट गर्न आउने भने छैनन्,’ उनले भने,‘अभेलेखीकरण गर्ने निकाय प्रशासन र प्रहरी हो, त्यहाँ पनि हराएकाहरुका घरपरिवारले रिपोर्ट नगर्दा हामीसँग आधिकारिक तथ्याङ्क आउन सकेको छैन।’ आफ्नो देशको नागरिक हराएमा त्यसको खोज्ने जिम्मेबारी सरकारको भएको बताउँदै उनले भने,‘कसैले मानिस हराएको भनेर निवेदन दिएमा हामी खोजी गरिदिन्छौ, तर अहिलेसम्म यहाँ त्यस्तो निवेदन दिने मानिस आएका छैनन्।’  

सुदूरपश्चिमका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत नै हो। पुस्तौदेखि नै यहाँका नागरिक रोजगारीका लागि भारत जाने गरेको बताउँदै भारतमा हराएकाहरुको अध्ययन गरेका निड्स नेपालका सह–कार्यकारी समेत रहेका प्रकाश मडैले भने,‘पुस्तौदेखि यहाँका मानिस रोजगारीका लागि भारत जाने गरेका थिए। तर,   आधिकारीक रुपमा भने सन् १८१६ मा भएको सुगौली सन्धिपछि  नेपालीहरू कामका लागि भारत जाने गरेको विभिन्न तथ्यहरूले देखाएको छ।

सन्धिपश्चात् गोर्खा सैनिकमा भर्ना खुल्नु पनि भारतमा आप्रवासन दर बढेको तथ्याङ्कले देखाउँछ। तर, हालसम्म पनि भारतमा रोजगारी गर्न जानेलाई सरकारले वैदेशिक रोजगारीको सूचीमा राखेको छैन। तेस्रो मुलुकमा जानेहरुलाई केही समस्या भएमा बीमादेखि लिएर अन्य सेवा सुविधा पाउने गरे पनि भारतमा रोजगारी गर्न जानेहरु भने सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन्। ‘तेस्रो मुलुक जानेहरुका लागि सरकारले नीति नियम बनाएको छ,’ मडैले भने,‘तर, भारत जानेहरुका लागि भने कुनै नियम नै छैन, नीति नियम नहुँदा भारतमा हराएका, अंगभंग भएका तथा मृत्यु भएका कामदारहरुले क्षतिपूर्ति पाउन सकेका छैनन्।’

स्वदेशमा काम नपाएपछि वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गर्दै सरकारले उनीहरुका पक्षमा व्यवस्थित बनाए पनि भारत जानेहरुका लागि भने व्यवस्थित हुन नसकेको उनको भनाइ छ। ‘देश छोडेर रोजगारका लागि अन्य देशमा जाने जो कोही परदेशी हुन्छ,’ उनले भने,‘तर, भारत जानेहरुका हकमा भने सरकारले नीति बनाउन नसक्दा उनीहरु आफूहरुलाई राज्यबाट हेँला गरिएको महसुस हुन्छ।’  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा  भारतको रोजगारीलाई व्यवस्थित गर्न वैदेशिक रोजगारीसरह मान्यता दिने र भारत जानेको बिमा तथा तथ्यांङ्क राख्ने घोषणा गरेका थिए । तर, उक्त घोषणा कार्यान्वयन हुन सकेको छैन।

त्यती मात्रै हैन  २०७४ फागुन ५ गते सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको पदभार ग्रहण गर्दा त्रिलोचन भट्टले भनेका थिए– ‘अब भारतमा चौकीदारीको काम खोज्न जानेलाई सुरक्षित काममा लगाउन पहल गर्नेछु।’ उनले पदभार ग्रहणकै क्रममा भनेका थिए,‘मैले लामो सयम भारतमा रहेर चौकीदारीको काम गरेको छु, कामको खोजीमा भारत जाने सुदूरपश्चिमेलीको अवस्था, उनीहरुले भोगेका पीडाका बारेमा पनि मलाई राम्रो ज्ञान छ,’ त्यसैले म सबैभन्दा पहिला भारतमा काम गर्ने नेपालीको तथ्याङ्क संकलन गरी त्यहाँ उनीहरुले पाउने दुःख न्यूनीकरण गर्ने छु।’ 

 मुख्यमन्त्रीका रुपमा पहिलोपटक पदभार ग्रहण गरेपछि उनले आफ्नो पहिलो प्रतिबद्धताका रुपमा भारतमा कामदारको रुपमा रहेका सुदूरपश्चिमका नागरिकलाई सुरक्षित काममा लगाउन पहल गर्ने, भारत जाने आउने नेपालीको सीमामा अभिलेख राख्ने र विस्तारै स्वदेशमै कामका अवसर सिर्जना गर्ने घोषणा गरेका थिए। मुख्यमन्त्री भट्टले विभिन्न कार्यक्रम तथा सभामा बोल्दै पटक–पटक आफ्नो प्रतिबद्धता दाहो¥याउँदै आएका थिए। तर, अहिलेसम्म पनि  मुख्यमन्त्रीको घोषणा कार्यान्वयन भने हुन सकेको छैन।

मुख्यमन्त्रीको घोषणा कार्यान्वयन गर्न सुदूरपश्चिम सरकारको पहिलो अल्पकालीन बजेटमा पाँच लाख छ्ट्याइएको थियो। सो बजेटले सीमामा सम्भाव्यता अध्ययन गर्ने जिम्मा सामाजिक विकास मन्त्रालयले पाएको थियो। बजेट निकासा गरेपनि सामाजिक विकास मन्त्रालयले प्रभावकारी काम गर्न सकेन। 

मुख्यमन्त्रीको घोषणालाई पूर्णता दिन प्रदेश सरकारले त्यसपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मा दियो। मन्त्रालयले निकै तामझामका साथ मुख्यमन्त्री त्रिलोचन भट्टबाट धनगढीको मोहना नाकामा नागरिक सीमा सहायता कक्षको उद्घाटन गरायो। उद्घाटनपश्चात् सहायता कक्षले हालसम्म एक जनालाई पनि लक्ष्य अनुसारको सहायता दिन सकेको छैन।

सहायता कक्षले नेपाली÷भारतीय तथ अन्य विदेशी नागरिकहरुका लागि आवागमनमा आइपर्ने विभिन्न किसिमका समस्याका बारेमा सहयोग प्रदान गर्ने, सीमा नाकामा आवत जावत गर्ने नेपाली तथा विदेशी नागरिकहरुको तथ्याङ्क संकलन गर्न कार्यमा सहयोग गर्ने, मानव बेचबिखन, सीमा क्षेत्रमा हुने अवान्छित गतिविधि, लागू औषध, हातहतियार तथा विष्फोटक पदार्थ ओसार पसार र सरुवा रोग नियन्त्रण गर्ने कार्यमा सहयोग गर्ने तथा विदेशमा रोजगारी गर्ने नेपाली नागरिकका लागि भैपरी आउने जोखिम न्यूनीकरण गर्न जीवन बिमा व्यवस्थापन र अन्य कार्यका लागि आवश्यक सचेतना र सहयोग प्रदान गर्ने उल्लेख छ। तर, यी उल्लेखित कार्यको एउटा कार्य पनि अहिलेसम्म धनगढीको मोहना नाकामा रहेको नागरिक सीमा सहायता कक्षबाट हुन सकेको छैन। 

सीमानाकामा आवतजावत गर्ने नागरिकको तथ्यांङ्क राखिने, रोजगारीका लागि भारत जाने नागरिकको जीवन बिमा र स्वास्थ्य परीक्षण गरिने प्रदेश सरकारले दाबी गरे पनि कार्यान्वयन हुन नसकेको स्थानीय बताउँछन्। सस्तो लोकप्रियता र बजेट सक्नका लागि मात्रै सहयता कक्ष स्थापना गरे पनि त्यो कार्यक्रम अहिले ‘अलोकप्रिय’ भएको सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य तथा प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले बताए।

उनले भने,‘लोकप्रियता कमाउनका लागि गरिएका कार्यक्रमहरु नै भाषणमा मात्रै सीमित हुँदा जनतामाझ ‘अलोकप्रिय’ भएका छन्।’  सुदूरपश्चिममाका धेरै नागरिकको रोजगारीका लागि भारत जाने धनगढीस्थित मोहना सीमा नाका हो। सधैँ जसो आउजाउ गर्दा सीमामा यहाँका नागरिकले सास्ती खेप्नुपर्ने बाध्यता यथावतै छ। तर, यो नाकाबाट कति गए, कति आए अवस्था के छ भन्ने यकिन तथ्याङ्क अहिलेसम्म सो सहायतका कक्षसँग छैन। 

सरकारले भारतको रोजगारीलाई वैदेशिक रोजगारको मान्यता दिन सके धेरै समस्या समाधान हुने  भारततर्फ हुने प्रवासनका विषयमा काम गरिरहेका मडैले बताए । उनले तथ्याङ्क संकलन, बिमा, कामदारको व्यक्तिगत र सामाजिक सुरक्षालगायत समस्या यसबाटै समाधान हुने बताए। यसबाहेक भारतमा लामो समयदेखि बेपत्ता रहेकाहरूको खोजी पनि सुरु गरिनुपर्ने उनले बताए । 

Published on: 3 September 2021 | Nagarik

Link

Back to list

;