s

भारतमा संक्रमित १७ नेपालीमध्ये १३ जना निको भए

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित सत्र नेपालीमध्ये १३ जना उपचार पछि निको भएका छन् । भारतमा १७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

संक्रमितमध्ये ११ जना रोजगारीका लागि भारतमा बस्दै आएका थिए भने पाँच जना केही महिनाअघि मात्र भारत आएका थिए । संक्रमित नेपालीहरुमध्ये पनि सबैभन्दा बढी महाराष्ट्रका थिए । महाराष्ट्रको मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारको आठ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । परिवारका बाँकी तीन सदस्यलाई भने संक्रमणले छोएको थिएन । संक्रमित सबैजना उपचारपछि निको भइसकेका छन् । सुदूरपश्चिमको अछाम मूल घर भएको यो नेपाली परिवार कामको सिलासिलामा मुम्बईमा बस्दै आएको थियो ।

त्यसैगरी दक्षिण भारतको बैंग्लुरुमा संक्रमित चार जना नेपालीहरु पनि उपचारपछि घर ठीक भइसकेका छन् । बेंग्लोरमा पहिले एउटै परिवारका घर मूली र उनकी श्रीमतीमा संक्रमण देखिएको थियो । तर, उनीहरु निको भइसकेपछि दश वर्षीय छोरामा पनि संक्रमण देखियो । तर, ती छोरा पनि संक्रमणबाट मुक्त भइसकेका छन् । त्यसबाहेक त्यही परिवारसँग सम्पर्कका रहेका अर्का एक जना नेपाली पुरुषमा पनि कोभिड १९ देखिएको थियो । र, उनी पनि उपचारपछि सन्चो भइसकेका छन् । 

सुदूरपश्चिम बझाङको चैनपुरका स्थायी घर भएको यो परिवार पनि कामकै सिलसिलामा भारतमा बस्दै आएको थियो । सबैभन्दा पहिले ती बालककी आमामा संक्रमण देखिएको थियो । उनी एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । र, उक्त परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बैंग्लोर आएकी थिइन् । दुई दिन घरमा बसेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । त्यसपछि ती नेपाली महिला र उनका श्रीमान पनि कोभिड १९ देखिएको थियो । 

यसबाहेक केही महिनाअघि भारत आएका पाँच जना नेपाली जसमा संक्रमण देखिएको थियो जसमध्ये एक जना उपचारपछि निको भइसकेको छ भने चार जनाको भने अझै उपचार चलिरहेको छ । संक्रमित नेपालीमध्ये हरियाणाको अम्बालामा रहेका उपचार पछि ठीक भइसकेका छन् भने उत्तरप्रदेश (यूपी) को बागपतमा रहेका बाँकी चार जना संक्रमितको उपचार चलिरहेको छ । उपचार चलिरहेकाहरुको अवस्था पनि सामान्य रहेको छ ।

Published on: 30 April 2020 | Kantipur

Link

Back to list

;