s

भारतमा रोकिएका नेपालीहरूको एउटै गुहार– स्वदेश फर्कन पाऊँ

सुरेशराज न्यौपाने

नयाँदिल्ली — बाराका नागेश्वर गिरीले भारतको गुजरात राज्यको सुरतस्थित एउटा गार्मेन्टमा काम गर्न थालेको चार वर्ष भयो । गत मार्च २२ देखि उनी र अन्य पन्ध्र जना साथी कोठाभित्रै छन् । कम्पनीले कुनै सोधपुछ गरेको छैन । उनीहरूलाई काम लगाउने म्यानेजर पनि फोन बन्द गरेर बसेको छ । अलिअलि भएको पैसा सकिइसक्यो । रासन दिने पसलेले पनि पहिलेको उधारो नदिएसम्म अब दिन्न भनेको छ । 

आन्ध्र प्रदेशको तिरुपतिमा अलपत्र नेपाली

राहतको नाममा एकपटक डेढ किलो चामल, एक किलो आलु, एक किलो प्याज र पाँच सय ग्राम तेल पाए । त्यतिले कति दिन चलोस् ? ‘अब त भोकै मरिने भइयो, काम पनि छैन खान पनि छैन, घर नगई उपाय छैन,’ उनले भने । गिरीका अनुसार त्यस क्षेत्रमा बारा, कैलाली, पर्सा र सुर्खेतका गरी सयौंको सख्यामा नेपाली कामदार छन् । सबैको अवस्था त्यस्तै छ । उता नेपालमा परिवारले लिने चिन्ता बेग्लै छ । बिहान–साँझै फोन आउँछ जसरी आउनु भनेर । त्यही भएर पनि अब त राहत पाए पनि, नेपाल जाने दिन कुरेर बसेको उनले बताए । ‘घरबाट फोन आइरहन्छ, जसरी भए पनि आइज भन्नुहुन्छ, सबै जना चिन्तित हुनुहुन्छ,’ उनले भने ।

कोरोना महामारी नियन्त्रण गर्न भारतले गरेको लकडाउनका कारण सास्ती खेप्ने गिरी एक्ला होइनन् । जम्मुदेखि गुजरात, मुम्बई, पन्जाब, दिल्ली, हिमाचललगायत विभिन्न राज्यमा रहेका हजारौं नेपाली कामदारले उनकै जस्तो दु:ख खेप्नुपरेको छ । भारतमा करिब पन्ध्र लाखको संख्यामा नेपाली कामदार रहेको अनुमान गरिन्छ । उपचारका लागि आएका बिरामी, तीर्थालु, विद्यार्थीको अवस्था पनि खासै फरक छैन । यस्ता हजारौं व्यक्ति भारतका विभिन्न सहरमा रोकिएका छन् । लकडाउन लम्बिँदै जाँदा उनीहरूको दु:ख पनि बढ्दै गएको छ ।

सबैभन्दा बढी समस्या रेस्टुराँ, होटल र पार्टी प्यालेसमा कुक, वेटर काम गर्नेहरू र अन्य ज्यालादारीमा काम गर्नेलाई भएको छ । भारत सरकारले अन्य व्यवसायका लागि लकडाउन क्रमश: खुकुलो बनाए पनि होटल, रेस्टुराँ र पार्टी प्यालेसलाई सञ्चालन अनुमति दिएको छैन । जसले गर्दा भारतमा ठूलो संख्यामा रहेका नेपाली कामदारलाई समस्या परेको छ । जम्मुको सैनिक कोलोनी, डी सेक्टरमा पार्टी प्यालेसमा काम गर्ने ३२ नेपाली अहिले सास्ती खेपिरहेका छन् । प्यार्टी प्यालेसमा काम गर्ने काठमाडौं, थानकोटका सुदीप शर्माबाहेक अरू सबैजना अर्घाखाँचीका छन् । जम्मुमा लकडाउनअघि नै सबै होटल र पार्टी प्यालेस बन्द गरिएको थियो । खर्च सकिँदै गएपछि हिँडेर जान पनि समस्या छ उनीहरूलाई । हरेक महिना घरमा पैसा पठाउनुपर्ने बाध्यताले आफूहरूसँग धेरै बचत नभएको उनले सुनाए । त्यसमाथि यति धेरै लकडाउनका होला भन्ने अनुमान कसले गरेको थियो र ? ‘हरेक महिना कमाएको पैसा पठाउने गर्थ्यौ, यस्तो होला भन्ने चिताएका पनि थिएनौं,’ उनले भने ।

अहिलेसम्म त उनीहरूले धानिरहेका थिए । तर, लकडाउन लम्बिँदै जाँदा हिम्मत हार्न थालेको छ । ‘जेनतेन बस्दै आएका थियौं, अलिअलि भएको खर्च पनि सकिन थाल्यो,’ उनले भने । हिम्मत धर्मराउँदै गएपछि साथीहरूको आग्रहमा उनले दिल्लीस्थित दूतावासमा फोन गरे । फोनको घन्टी गयो तर उठेन । उनले सबैजना नेपाल जान ब्याकुल रहेको बताए । ‘जसरी भए पनि घर जान चाहन्छौं, बरु ढिँडोफाँडो खाए पनि नेपालमै जाने,’ उनले भने । नेपालमा जति दिन क्वारेन्टाइनमा बस्न पनि तयार रहको उनको भनाइ छ ।

मुम्बईको थानेमा बिचल्लीमा परेका चितवन माडीका मनोज महतो र अन्य ५० जनाको अवस्था पनि त्यस्तै छ । महतो थानेको पोरबन्दर रोडमा रकेको विहांग्स इनमा काम गर्दै आएका थिए । लकडाउन सुरु हुनुअघि नै नेपाल जाने तयारीमा थिए उनी र अन्य साथीहरू । रेलको टिकट पनि थियो । तर, हिँड्नुअघि नै लकडाउन भयो । त्यसयता उनी अन्य नौ जना साथीहरूसँगै एउटै कोठामा थुनिएका उनीहरू । होटलले मार्चको तलब मात्र दिएको थियो । त्यसयताको दिएको छैन । भएको पैसा पनि सकिइसकेका कारण अहिले उनीहरूलाई कोठा भाडा र खानकै समस्या परेको छ । ‘जेनतेन चलेको थियो, अहिले त कोठाभाडा तिर्ने पैसा पनि छैन, खानै समस्या हुन थाल्यो,’ उनले भने । होटल र रेस्टुराँहरू चाँडै नखुल्ने सुनेर दुई महिनासम्म चुप लागेका घरबेटी पनि भाडा माग्न थालेको उनले बताए । त्यही भएर आफूहरूसामु घर जानुको विकल्प नभएको उनको भनाइ छ । 

मुम्बईमा अलपत्र नेपाली 

महतोका अनुसार थाने र आसपासमा मात्र दुई सयभन्दा बढी नेपालीको अवस्था नाजुक छ । सबैले घर जानका लागि गुहार गरिरहेको उनले सुनाए । यूपी र बिहारका मजदुरहरूका लागि विशेष ट्रेनको व्यवस्था गरिएपछि महतो र साथीहरूले सोधपुछ गर्न स्थानीय प्रशासनसँग सम्पर्क पनि गरे । तर, सीमा बन्द भएका कारण नेपालीहरूलाई जाने छुट नभएको जवाफ आयो । नेपाल जाने व्यवस्था मिलाउन गाउँमा पनि सम्पर्क गरे । वडाध्यक्षले सीमासम्म आउनु, त्यसपछि जसरी भए पनि घर पुर्‍याउँछु भन्ने बाचा गर्‍यो तर लकडाउनका कारण महतो र साथीहरू सीमासम्म जानै असमर्थ छन् । ‘होटल खुल्नेवाला छैन, चाँडै त्यही भएर घर फर्किनुको विकल्प छैन, सरकारले सुनिदिओस्,’ उनले भने । 

मोहालीमा इन्जिनियरिङ अध्ययनरत धनुषा, डुमरिया गाउँपालिका घर भएका श्यामकुमार रजकलाई जति लकडाउन लम्बिँदै छ, तनाव पनि त्यति नै बढ्दै गएको छ । होस्टल महँगो हुन्छ भनेर कलेजबाहिर कोठा भाडामा लिएर बस्दै आएका थिए उनी । तर, अहिले रजकलाई लकडाउनका कारण घरबाट खर्चसमेत मगाउन पाएका छैनन् । कलेजले पनि कुनै वास्ता गरेको छैन । धन्न एउटा पसलले उधारो पत्याइरहेको छ । तर, लकडाउन टुंगिने ठेगान नभएकाले रजकलाई पनि चाँडै घर जान पाए हुन्थ्यो भन्ने भएको छ । ‘अहिलेसम्म त उधारोले धानिरहेको थिएँ तर अब नसकिने हुन थाल्यो, त्यही भएर घर जानुको विकल्प छैन,’ उनको भनाइ छ । 

मोहालीमा इन्जिनियरिङ अध्ययनरत धनुषा डुमरिया गाउँपालिका घर भएका श्यामकुमार रजकलाई जति लकडाउन लम्बिँदै छ, तनाव पनि त्यति नै बढ्दै गएको छ । होस्टल महँगो हुन्छ भनेर कलेजबाहिर कोठा भाडामा लिएर बस्दै आएका थिए उनी । तर, अहिले रजकलाई लकडाउनका कारण घरबाट खर्चसमेत मगाउन पाएका छैनन् । कलेजले पनि कुनै वास्ता गरेको छैन । धन्न एउटा पसलले उधारो पत्याइरहेको छ तर लकडाउन टुंगिने ठेगान नभएकाले रजकलाई पनि चाँडै घर जान पाए हुन्थ्यो भन्ने भएको छ । ‘अहिलेसम्म त उधारोले धानिरहेको थिएँ तर अब नसकिने हुन थाल्यो, त्यही भएर घर जानुको विकल्प छैन,’ रजकको भनाइ छ । 

सल्यान, लक्ष्मीपुर भागीराज चलाउने हिमाचलको नालागढमा ज्यालादारीमा काम गर्दै आएका थिए । उनी नेपालबाट आएको एक महिना पनि पुगेको थिएन लकडाउन सुरु भयो । पाएको ज्याला पनि खर्च भइसक्यो । घरबेटीले कोठा छाड भन्दै दबाब दिन थालेको छ । ‘खै कसरी बाँच्ने हो, सोचेकै छैन,’ उनले भने । 

लकडाउनका कारण सुत्केरी, बालबच्चाको अवस्था पनि निकै कष्टकर छ । दिल्लीछेउको नोयडास्थित भंगेलमा बस्दै आएकी मीना तामाङले छोरी पाएको २० दिन भयो तर उनलाई पोसिलो खाना त परै जाओस्, दुई छाक पनि पाउन मुस्किल भएको छ । श्रीमान् सञ्जय तामाङ चार वर्षदेखि इन्दौरको पार्टी प्यालेसमा काम गर्दै आएका थिए । लकडाउनका कारण उनी बेरोजगार बनेका छन् । एकातिर आयस्रोत बन्द, अर्कोतर्फ लकडाउन । तामाङ परिवारको दु:ख भनिसाध्य छैन । खर्च अभावले अरू दुई जना छोरीलाई समेत राम्ररी खुवाउन सकेका छैनन् । मीनालाई यतिखेर आफ्नोभन्दा पनि छोरीहरूको चिन्ताले बढी पिरोलेको छ । ‘काखको त भइहाली, अरू दुइटीले पनि पेटभरि खान पाएका छैनन्,’ उनले भनिन् । 

लकडाउनका कारण समस्या भोग्नेमा नेपाली तीर्थयात्री पनि छन् । २७ जना नेपाली तीर्थयात्री दक्षिण भारतको तिरुपतिमा रोकिएको डेढ महिना पुग्यो । फागुन २८ मा वीरगन्जबाट हिँडेका उनीहरू कर्नाटकको मधुराई पुगेर कन्याकुमारी हुँदै तिरुपति पुगेपछि यातायात बन्द हुँदा त्यहीँ रोकिन पुगेका हुन् । स्थानीय लजमा बसिरहेका छन् । सबै जना लकडाउन खुल्ने दिन कुरेर बसेका छन् । भारत सरकारले अलपत्र परेका प्रवासी कामदार, विद्यार्थी र तीर्थालुहरूलाई आ–आफ्नो राज्यमा जान रेल सेवा सुरु गरेपछि स्थानीय प्रशासनले उनीहरूसँग विवरण पनि माग गरेको थियो । त्यसबाट उनीहरू खुसी पनि भए । पछि नेपालको सीमा बन्द रहेकाले नेपालीहरूलाई पठाउन नसक्ने जवाफ पाए । 

बिरामीहरूको दुर्दान्त कथा 

उपचारका लागि भारत आएका नेपाली बिरामीहरूको अवस्था त झनै नाजुक छ । लकडाउनका कारण उनीहरूलाई उपचारमा समस्या भएको छ नि, खानै नपाउने परिस्थिति पनि सिर्जना भएको छ । पूर्वबिर्तामोड घर भएका लक्ष्मण गजमेर दिल्लीको आरकेपुरमस्थित आफन्तको डेरामा छन् । उपचारका लागि तीन महिनाअघि उनी दिल्ली आएका हुन् । लकडाउन सुरु हुनुभन्दा पहिले नै दिल्लीबाट न्यु जलपाइगढीको ट्रेनको टिकट पनि काटेका थिए तर लकडाउनले रोकिए । भएको पैसा पनि सकिएको छ । यता आफूलाई खानकै समस्या छ, उता घरमा गर्भवती छोरी एक्ली छन् । ‘न यता बस्न सक्ने अवस्था छ न जान पाइएको छ,’ उनले भने । 

बाजुरा बढीमालिका गाउँपालिकाका चक्रबहादुर खत्रीको व्यथा त भनिसाध्य छैन । सीटीईभीटीबाट कृषिमा जेटिए पढेका खत्री दिपायलमा एउटा संस्थामा काम गर्दै आएका थिए । उनको कम्मरको बायाँपट्टि पहिलेदेखि नै सानो डल्लो थियो तर एक वर्षयता त्यो बढ्दै गएको थियो । शंका लागेर उपचार गर्न गत मंसिरमा दिल्ली आए । दिल्लीको जीटीबी अस्पतालमा जँचाए । त्यस अस्पतालमा चार महिना बसे । त्यो डल्लोको मासु निकालेर बायस्पी गरियो । बायस्पीको रिपोर्टमा क्यान्सर देखियो । त्यसपछि डाक्टरले रेडिएसनबाट सेक्नुपर्छ भने । चिकित्सकहरूले सेकपछि अपरेसन गरेर डल्लो फाल्ने भनेका थिए । क्यान्सर देखेपछि दिल्ली राज्य क्यान्सर अस्पताल पठाइयो । त्यही अस्पतालमा केही दिन रेडिएसनले सेकियो पनि । तर, अचानक चिकित्सक र केही बिरामीमा कोरोना भाइरसको संक्रमण देखियो । पूरै अस्पताल नै बन्द गरियो । त्यसपछि उनलाई बसुन्धराको धर्मशिला अस्पताल लगियो । त्यहाँ चार दिन राखियो । उपचार चलिरहेकै बेला उनमा कोरोना भाइरसको संक्रमण देखियो । उनीलाई तत्कालै जीटीबी नगरको राजीव गान्धी अस्पतालमा राखियो । उनको त्यहाँ २० दिनसम्म उपचार चल्यो । फेरि धर्मशीला अस्पताल लगियो तर त्यहाँ अस्पतालले भर्ना लिन मानेको छैन । 

चक्र बुबासँगै अस्पतालकै प्रतीक्षालयमा बस्दै आएका छन् । केही दिनयता पिसाब फेर्न पनि समस्या हुन थालेको छ । खुट्टाको घाउ पनि बल्झिएको छ । दिसापिसाब गराउन बुबाले नै बोकेर लैजान्छन् । घाउले गर्दा उनी सुत्न पनि सक्दैनन् । ‘उपचार नहुने भए घर जाने पाए हुन्थ्यो,’ उनले कान्तिपुरसँग भने । उता घरबाट आमाको फोन आइरहन्छ । घरमा बूढीआमा, श्रीमती, एउटी छोरी र दुइटा छोराले बाटो हेरिरहेका छन् । उनी घाउले सहिनसक्नु भए पनि आमालाई सबै ठिक छ भनेर सम्झाउँछन् । धेरै बोल्न सक्दैनन् । ऋण काढेर ल्याएको एक लाख रुपैयाँ पनि सकिइसक्यो । धेरै दिन दिल्लीमै बस्नुपरेकाले भएको जागिर पनि गुम्यो । घर जानका लागि केही सहयोग मिल्छ कि भनेर दूतावासमा सम्पर्क गरे । तर, अरुले जस्तै त्यहाँबाट कुनै जवाफ आएन । चक्रलाई अब आफ्नो उपचार गर्नेभन्दा परिवारसँग भेट्ने धोको छ । ‘उपचार नहुने भए घर जान पाए आमा, एउटा छोरा र दुई छोरी, श्रीमतीकै साथमा मर्न पाए हुन्थ्यो,’ उनले भने । 

जम्मूमा अलपत्र नेपाली 

त्यसैगरी तनहुँ, शुक्लगण्डकी नगरपालिकाका डम्बरबहादुर महत मिर्गौला रोगको उपचारका लागि ६ महिनादेखि दिल्लीमा छन् । दिल्लीको महिपालपुरमा श्रीमतीसँगै डेरा लिएर बस्दै आएका उनको पनि लकडाउन हुनुअघि नै नेपाल जाने तयारी थियो । तर, अचानक लकडाउन भएपछि महत दम्पती यतै रोकिएका छन् । महत दुवै मिर्गौलामा समस्या देखिएपछि दिल्ली आएका हुन् । नेपालका डाक्टरले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका थिए । तर, गाउँकै एक जनाले दिल्लीमा प्रत्यारोपण नगरी निको हुन्छ भनेपछि उनी यता आएछन् । दिल्लीमा उपचारक्रममा उनको २० लाख भारु सिद्दिसकेको छ । तर, बीसको उन्नाइस भएको छैन । 

खर्च अभाव हुँदै गएपछि सातामा तीन पटक डायलसिस गर्नुपर्नेमा एक पटक मात्र गर्ने गरेका छन् । एक पटकको पाँच हजार भारु जुटाउन पनि सकसपूर्ण बन्दै गएको छ । डायलसिस पूरा नगरेकाले जीउ पनि सुन्निँदै गएको छ । ‘गाउँकै मान्छेको भाउँतोमा लागेर आएको पैसा पनि सिद्धियो, दु:ख पनि नसोचेको पाइयो,’ उनले भने । धन्न घरबेटी भने मनकारी परेका छन् । राहत आफैंले ल्याइदिन्छन् । उपचार खर्च अभावले उनलाई पिरोल्दै गएको छ । नेपालमा डायलसिस नि:शुल्क भएकाले चाँडोभन्दा चाँडो घर जान चाहन्छन् उनी । घरमा रहेका कलिला उमेरका छोराछोरीको चिन्ता बेग्लै छ । दूतावासमा फोन पनि गरे नेपाल जान पाइन्छ कि भनेर तर प्रस्ट जवाफ पाएनन् उनले । ‘नेपाल जान पाए जेनतेन चल्थ्यो, घरजग्गा बेचेर भए पनि टथ्र्यो, कम्तीमा डायलसिस त गर्न पाउँथे,’ उनले भने । 

सुन्दैन सरकार 

लकडाउनका कारण भारतमा रोकिएका नेपाली कामदार, बिरामी, तीर्थालु, विद्यार्थी सबैको एउटै माग छ– चाँडोभन्दा चाँडो नेपाल जान पाऊँ । लकडाउन लम्बिँदै गएका कारण भोकै पर्ने परिस्थिति सिर्जना भएको र कोरोना भाइरसको संक्रमण पनि बढ्दै गएका कारण उनीहरू नेपाल फर्किन चाहेका हुन् । नेपालीहरू दिनप्रतिदिन समस्यामा पर्दै गएको देखेर भारतमा प्रवासी संगठनहरूले पनि नेपालीलाई स्वदेश फर्काउन सरकारसँग माग गर्दै आएका छन् । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपालगायत पार्टीका प्रवास संगठनहरूले त्यस्तो माग गरिसकेका छन् । नेपालका राजनीतिज्ञहरूले पनि सामाजिक सन्जालमार्फत त्यस्तो माग गर्दै आएका छन् । 

सरकारले भने कोरोना संक्रमणको जोखिम कम नभएसम्म नेपालीलाई स्वदेश ल्याउन नसक्ने बताउँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि कोरोना संक्रमणको जोखिम भएकाले भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन नसक्ने बताएका थिए । दिल्लीस्थित दूतावासले पनि यहीअनुरूप जवाफ दिने गरेको छ । ‘अहिलेलाई सीमा बन्द छ, पठाउन सक्दैनौं, बरु समस्यामा परेका नेपालीलाई भारतको केन्द्र सरकार एवं राज्य सरकारहरूसँगको समन्वयमा राहतलगायत आवश्यक सहयोगका लागि दूतावासले पहल गरिरहेको छ,’ भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भन्ने गरेका छन् । 

लकडाउन खुल्ने अनिश्चिततासँगै व्यापार व्यवसायसमेत ठप्प भएका कारण भारतमा रहेका नेपालीलाई धेरै दिन रोक्न सक्ने देखिँदैन । पछिल्ला दिनमा सरकार र दूतावासप्रति सामाजिक सन्जालमा नेपालीहरूका तर्फबाट प्रकट गरिएका अभिव्यक्तिले उनीहरूको धैर्यको सीमा टुट्दै गएको बुझ्न सकिन्छ । ‘हाम्रा प्रधानमन्त्रीले भारतमै बस्नु भनेका छन्, यहाँ बसेर के गर्नु ? खानै नपाउने अवस्था छ । कसरी बस्ने ? भोकै मर्ने ?’ नागेश्वर गिरीको आक्रोशपूर्ण टिप्पणीले पनि भारतमा रहेका रोकिएका नेपालीको मनोदशा प्रस्ट हुन्छ ।

Published on: 9 May 2020 | Kantipur

Link

Back to list

;