s

भारतमा रहेका नेपालीहरूलाई तत्काल नेपाल ल्याउन सकिन्‍न : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतमा रहेका नेपालीहरूलाई तत्काल ल्याउन नहुने बताएका छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकमा उनले नेपालमा भन्दा भारतमा संक्रमण बढी फैलिएकाले त्यहाँ रहेका नेपालीलाई अहिल्यै फर्काउनु जोखिमपूर्ण हुने बताएको एक मन्त्रीले जानकारी दिए ।

भारतमा अलपत्र नेपालीहरूलाई के गर्ने भन्ने प्रसंग बैठकमा उठेपछि प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् । ‘भारतमा हजारौं नेपाली अलपत्र छन् । उनीहरू नेपाल आउन चाहन्छन् । अरू मुलुकमा अलपत्र परेका नेपालीको संख्या पनि ठूलो छ, तिनलाई के गर्न सकिन्छ ?’ भनेर मन्त्रीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । ती मन्त्रीका अनुसार प्रत्युत्तरमा ओलीले भारत र अन्य मुलुकमा रहेका नेपालीको अवस्था गम्भीर नरहेको र त्यहाँका सरकारले खानपिनसहित बसोबासको व्यवस्था गरिरहेको बताएका थिए । विदेशमै नेपालीहरूलाई सुरक्षितसाथ राख्ने व्यवस्था मिलाउन त्यहाँका सरकार प्रमुख र विदेशमन्त्री तहमा वार्ता र छलफल भइरहेको ओलीको भनाइ छ ।

विदेशका नेपालीलाई तत्काल फर्काउने सस्तो लोकप्रियतावादी कुरा नगर्नसमेत उनले मन्त्रीहरूलाई आग्रह गरेका थिए । सीमा नजिकका १ हजार २ सय जनालाई ल्याउनासाथ भारतको दिल्लीसहित विभिन्न सहरमा रहेकाहरूले पनि उद्धार गरिदिन आग्रह गर्न थालेको र त्यो तत्काल थेगिनसक्नु रहेको उनले बताए ।

एम्बुलेन्सबाटै फर्कंदै नेपाली बिरामी

मन्त्रिपरिषद् बैठकले लामो छलफलपछि भारतसहित विभिन्न मुलुकमा रहेका नेपालीहरूको तत्काल उद्धार सम्भव नभएको निष्कर्ष निकालेको जानकारीसमेत ती मन्त्रीले दिए । उनका अनुसार मन्त्रिपरिषद्ले भारतमा अलपत्र नेपालीहरूको समस्या समाधान गर्न नेपाली दूतावासलाई जिम्मा दिने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले तत्काल दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिने जानकारीसमेत ती मन्त्रीले दिए ।

ओलीले भारतबाट कोरोना संक्रमण भित्रिन नदिन सीमामा हुने आवतजावतमाथि अझै कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । ‘अहिले नाकाहरू सिल गरिएको छ तर लुकिछिपी मान्छेहरू आइरहेका छन् भन्ने सूचना आएको छ । सीमाका भारतीय अधिकारीहरूसँग कुरा गरेर थप कडाइ गराउन गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ,’ ती मन्त्रीले भने । प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण रोक्ने र यसबाट हुने मृत्युलाई शून्यमा राखिरहने एउटै उपाय लकडाउनमात्रै रहेकाले यसलाई कडाइका साथ पालना गराउनसमेत गृहमन्त्रीलाई निर्देशन दिए । ‘मुलुकमा लकडाउनकै कारण कोरोना भाइरसको संक्रमण नफैलिएको हो । संक्रमण शून्यमा झार्ने उपाय पनि लकडाउन नै हो, त्यही कारण लकडाउनलाई कडाइका साथ पालना गराउनुबाहेक अर्को विकल्प छैन,’ प्रधानमन्त्रीको भनाइ थियो । 

मन्त्रिपरिषद्‍मा लकडाउनलाई बिस्तारै खुकुलो बनाई मुलुकमा आर्थिक गतिविधि बढाउनेबारे छलफल भए पनि त्यसबारेमा कुनै निर्णय भने नभएको जानकारी स्रोतले दिएको छ । 

वैशाख २५ पछि लकडाउन खुकुलो बनाउनेबारे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समिति र मातहतमा रहेको मुख्यसचिव लोकदर्शन रेग्मीको समितिको सुझावअनुसार मन्त्रिपरिषद्को अर्को बैठकले आवश्यक निर्णय लिने स्रोतले जनाएको छ ।

Published on: 4 May 2020 | Kantipur

Link

Back to list

;