s

भारतमा रहेका नेपाली भन्छन्ः 'सरकार हाम्रा लागि रहेनछ'

विनाेद देवकाेटा

भारत गुजरातकोे राजकोट शहरमा एउटा घरमा काम गर्ने अछाम बान्नीगढी गाउँपालिका जनालिकोटका सेरे हुड्केलाई कामबाट निकालियो। ६ जना परिवारसहित बस्दै आएका हुड्केले बस्दै आएको घर पनि छोडेर जान घरबेटीले दबाव दिए।

दिल्लीमा क्रियासिल पत्रकार इन्द्रकमल जैरुका अनुसार ६ जनाको परिवारलाई कहाँ लैजाने र कसरी पाल्ने भन्ने चिन्ताले उनलाई पिरोल्न थाल्यो। गुजरातमा रहेका नेपालीलाई उदृत गर्दै जैरुले भने, ‘घरबेटीले छोडेर जान अन्तिम अल्टिमेटम दिएपछि उनले आइतबार आत्महत्या गरे।’ 

गर्दै आएको काम पनि बन्द भएपछि र बसिरहेको घरको मालिकले छोडेर जान अन्तिम अल्टिमेटम दिएपछि उनी आत्महत्या गर्न बाध्य भए। 

संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमा एउटा भिडियोको प्रसंग उठाएका थिए। सम्बोधनका क्रममा उनले भनेका थिए, ‘एउटा भिडियो भाइरल भएको छ। सबैले हेर्नु भएको होला। मैले पनि सेयर गरेको छु। त्यो सुनौं, हेरौं एक पटक, त्यसबाट पनि हाम्रो आत्मा पग्लिएन भने, आँखाबाट आशु आएन भने हामी आफैले सोच्नुपर्छ। हामी मानव हौं कि होइनौं?’

उनले भनेको भिडियोमा के थियो? कहाली लाग्दो भिडियो भारतको उत्तराखण्ड राज्यको हल्द्वानी को हो। जहाँ क्वारेन्टाइनबाट १७ जना नेपालीलाई निकालिएको थियो।

सीमा बन्द भएकोले आफूहरु घर जान पनि नसक्ने र भोकै मर्ने अवस्था आउने भिडियोमा नेपालीहरुले बताएका छन्।  ‘जहाँ गएपनि मर्ने नै हो भने, हामीलाई यहीँ मर्न दिनुस् वा मारिदिनुस्,’ भिडियोमा एक नेपालीले भनेका छन्।

जवाफमा भारतीय एक महिलाले अब खान र बस्न दिन नसक्ने बताएकी छन्। उनले नेपाल सरकारले आफ्ना नागरिकलाई फिर्ता लैजान नसकेको भन्दै भारतले पनि सित्तैमा  खाना दिन नसक्ने बताएकी छन्। उनले अगाडि भनेकी छन्, “तिमीहरूलाई यहाँ भारत सरकारले जबरजस्ती ल्याएको  होइन, तिमीहरू पैसा कमाउन आएका हौ। पैसा कमाउन आएकालाई निःशुल्क खान र बस्न दिन सक्दैनौँ।’

‘कोरोनाले मात्रै होइन नेपालीहरु खानै नपाएर पनि मर्ने अवस्था छ। मर्नै परे पनि हामी आफ्नै देशको माटोमा मर्न चाहन्छौं।’ कुँवरले भने, ‘हामीलाई यहाँबाट नेपाल जान दिइयोस्।’

भारतमा रहेका प्रवासी मजदूरको विचल्ली भएको पत्रकार जैरुले बताए। कोरोना महामारीका कारण जारी पहिलो चरणको लकडाउनसम्म उनीहरु काम गर्ने व्यापारी, होटल संचालकहरुले बस्न खान दिए पनि अब उनीहरुले पनि दिन नसक्ने भनेका छन्। 

भारतमा रहेका नेपालीका विषयमा निरन्तर रिपोर्टिङ गर्दै आएका जैरुका अनुसार दिल्ली, उत्तर प्रदेश, हरियाणा, पंजाब, हिमाचल, महाराष्ट्र, गुजरात, केरल, जम्मु कश्मीर, मध्य प्रदेश, पश्चिम बंगाल लगायतका ठाउँबाट ठूलो संख्यामा नेपालीहरुले आफुहरु भोकै मर्ने अवस्थामा रहेका बताएका छन्।

अधिकांश नेपालीहरुले स्वदेश फर्कन चाहेको उनले बताए। स्वदेश फर्किने वाताबरण नभए भारतमै खान र बस्नको व्यवस्था हुनुपर्ने माग उनीहरुको रहेको जैरुको भनाइ छ। भारतले आफ्नै नागरिकको समस्या समाधान गर्न नसकेकोले नेपाली नागरिकहरुलाई यताको प्रशासनले बेवास्ता गर्ने गरेको उनले सुनाए।

बैंलोरमा बस्ने विष्णु देवकोटाले धेरै नेपालीलाई कामबाट निकालिएको र बस्ने ठाउँ समेत नभएर भोकभोकै रोडमा सुत्नुपर्ने अवस्था आएको बताए। ‘कोरोना महामारीका कारण लकडाउन भएको लामो समय भयो। केही दिन सम्बन्धीत मालिकले खान बस्न दिए पनि अहिले भने उनीहरुको विचल्ली भएको छ। विशेषतः होटेल र अस्थायी प्रकृतिकोमा काम गर्ने प्रवासीहरु बढी समस्यामा परेका छन्।’

सानो कोठामा ८/१० जनासम्म नेपालीहरू कोच्चिएर बसिरहेकाे उनले बताए। पछिल्लो समय त्यही पनि घर मालिकले छोड्न भन्दै चेतावनी दिन थालेकाे नेपालीहरूले बताएकाे  उनले जानकारी दिए। 

गुजरातमा रहेका खकेन्द्र कुवँरले पनि आफूहरुलाई सरकारले सौतेनी व्यवहार गरेको गुनासो गरे। दिनभरि काम गरे मात्रै खान पाइने स्मरण गर्दै रोगले भन्दा भोकले मर्ने अवस्था आएको उनले बताए। ‘कोरोनाले मात्रै होइन नेपालीहरु खानै नपाएर पनि मर्ने अवस्था छ। मर्नै परे पनि हामी आफ्नै देशको माटोमा मर्न चाहन्छौं।’ कुँवरले भने, ‘हामीलाई यहाँबाट नेपाल जान दिइयोस्।’

यी त प्रतिनिधि घटना मात्रै हुन्। भारतमा रहेका अधिकांश नेपालीको बिचल्ली भएको छ।

प्रवासी नेपाली जनसमाज भारतका केन्द्रीय  सदस्य  कमल रावलले भारतमा रहेका लाखौं नेपालीका लागि सरकार नै नभएको भान भएको बताए। 'सरकारले चुनावताका मात्रै प्रवासीलाई खोज्दो रहेछ। अहिले त सरकार नै हाम्रा लागि रहेनछ भन्ने लागेको छ।' उनले भने।

 ‘विभिन्न ठाउँबाट नेपालीहरुले विचल्ली भएको भन्दै फोन गर्ने गरेको उनले बताए। सीमा क्षेत्रमा पनि हजारौं नेपालीको विचल्ली छ। भारतकै विभिन्न ठाउँमा भएका नेपालीहरुको अवस्था पनि नाजुक छ। अधिकांशलाई खान र बस्नको समस्या छ।’ उनले अगाडि भने। सीमामा महिनौंदेखि अलपत्र नेपाली घरको न घाटको भएको उनले बताए। ‘उनीहरुले न राम्रो बास पाएका छन् न खाना नैं। न नेपाल सरकारले उनीहरुका विषयमा सोच्यो न भारतले नै व्यवस्था गर्न सकेको छ।’ उनले भने। 

भारतस्थित नेपाली राजदूतावासले पनि खासै चासो नदिएको उनले बताए। दूतावासले नेपालीहरुलाई समस्या नभएको र सहयोग गरिरहेको भन्ने झुठो  दाबी गरिरहेको समेत उनको भनाइ छ। ‘कयौं पटक म आफैले फोन गरेको छु।’ ‘ नागरिकसँग टेलिफोनमा उनले भने, ‘अधिकांश बेला फोन नै उठ्दैन।

उठिहाले एकले अर्कोको र अर्कोले अर्को नम्बर मात्रै दिन्छन्।’ एक पटक फोेन गर्दा पाँच पटकसम्म नम्बर मात्रै दिएको उनले सम्झिए। ‘दूतावासले सबै ठिक छ भनिरहेको छ।’ उनले भने, ‘यो मेरो मात्रै गुनासो होइन। अधिकांश नेपालीले भन्छन्, दूतावासको फोन नै उठ्दैन।’

Published on: 13 May 2020 | Nagarik

Link

Back to list

;