s

भारतमा अध्ययनरत नेपाली विद्यार्थीको गुनासो : ‘दूतावासले सामान्य चासोसमेत राखेन’

सुरेशराज न्यौपाने 

नयाँदिल्ली — दक्षिण भारतको पोन्डीचरी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर अध्ययनरत विभु लुइँटेललाई आफूसँगै होस्टलमा बस्ने भुटानकी एक साथीको कुरा सुनेर झट्ट त विश्वास लागेन । 

ती साथीलाई दूतावासबाट फोन आएको रहेछ। दूतावासका कर्मचारीले घर जानका लागि सामान प्याक गर्दै गर्नु र एअरपोर्टसम्म जान ट्याक्सीको व्यवस्था पनि दूतावासले नै गरिदिने जानकारी दिएछन्। 

विभुलाई आफ्नै साथीको कुराले आश्चर्यमा त पार्यो नै अर्कोतर्फ निराश पनि। किन भने उनका लागि दूतावासले सम्पर्क गर्नु अनौठो कुरा थियो। नेपाल फर्काउने त टाढाको कुरा भयो। ‘अरु देशले आफ्ना नागरिकहरुका बारेमा चासो राखेको देख्दा हाम्रो दूतावासबाट त्यस्तो केही नहुँदा नरमाइलो लाग्ने रहेछ,’ विभुले कान्तिपुरसँग भनिन्। 

त्यसो त उनलाई खाना बस्नको खासै समस्या भने छैन। तर, लकडाउनका कारण घर जान नपाएको त्यसमाथि कोरोनाको त्रासबीच होस्टलमा बसिरहँदा परिवारले मनोबल बढाइरहे पनि दूतावासले पनि फोन गरेर हालखबर सोधिँदा थप सान्त्वनाको काम गर्ने विभुको भनाइ छ। 

विभु पढ्ने विश्वविद्यालयमा अन्य पाँच जना नेपाली विद्यार्थी पनि घर नगइ बसेका छन्। ‘बस्न असहज छैन तर, जताततै त्रासको वातावरण छ। त्यसमाथि लकडाउन कहिलेसम्म जाने भन्ने ठेगान छैन। त्यस्तो बेला राज्य र दूतावासले पनि सम्झिदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ,’ उनले गुनासो गरिन्। 

यस्तो गुनासो गर्ने विभु एक्ली होइनन्। अध्ययनका लागि हाल भारतका विभिन्न सहरमा रहेका सबैजसो नेपाली विद्यार्थीको राज्य र दूतावासप्रति त्यस्तै गुनासो छ। प्रवासी नेपाली संगठन र अन्य विद्यार्थी संगठनहरुका भनाइमा भारतका विभिन्न सहरमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको संख्या सत्तरी हजारभन्दा बढी छ। 

नेपाली विद्यार्थीहरु विशेषगरी दिल्ली, मुम्बई, बैंग्लोर, चण्डीगढ, चेन्नई, हरियाणा, हरिद्वारमा बढी छन्। जसमध्ये केही लकडाउनअघि नै नेपाल फर्किसके पनि अझै पनि सयौंको संख्यामा यतै रोकिएका छन्। उनीहरु कोही होस्टलमा छन्, कोही पेइङ गेस्ट(पीजी)मा बस्छन् भने कोही कोठा भाडामा लिएर बस्ने गरेका छन्। 

कोरोना संक्रमण नियन्त्रणका लागि भारतमा लागू गरिएको लकडाउनका कारण विशेषगरी पीजी र कोठा भाडामा लिएर बस्ने नेपालीहरुलाई बढी समस्या परेको उनीहरुको भनाइ छ। लकडाउनका कारण बाहिर सामान नपाउने र पाइहाले पनि चर्को मूल्य तिर्नु पर्ने बाध्यता छ। त्यसैगरी होस्टलमा बस्नेहरुले पनि कलेज र विश्वविद्यालयले सबै कर्मचारीलाई बिदा दिएको हुँदा आफैंले खाना पकाउनुपर्ने बाध्यता छ। यसले कोरोना भाइरसको महामारीबाट त्यसै पनि त्रसित रहेका नेपाली विद्यार्थीहरुमा तनाव थप बढाएको छ। तर, दिल्लीस्थित नेपाली दूतावास भने विद्यार्थीहरुको यी चासो र गुनासोप्रति बेखबर देखिन्छ। 

पुनेमा एमबीए अध्ययनरत नितेश द्विवेदीले आफूलाई खानबस्न सुविधा खासै असहज नभए पनि मानसिक रुपमा भने दबाब रहेको बताए। पुनेमा मात्र पाँचसयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको उनको अनुमान छ। ‘कतिपय साथीहरु एक्लै कोठा लिएर बस्नु भएको छ, उनीहरु तनावमा रहेको पाएको छु। छात्राहरु पनि आत्तिएका छन्। यस्तो बेलामा दूतावासले कम्तीमा पनि सान्त्वना दिन सक्थ्यो,’ द्विवेदीले भने। दक्षिण भारतको बैंग्लोरमा अध्ययनरत विवेक शाहको पनि द्विवेदीको जस्तै गुनासो छन्। उनले पनि यस्तो बेलामा दूतावासले चासो राख्दा मनोबल बढ्नुका साथै परेको बेला राज्यले साथ दिने रहेछ भन्ने भावनासमेत जागृत हुने बताए। 

यता राजधानी दिल्लीमै रहेका विद्यार्थीहरुको पनि दूतावासप्रतिको गुनासो खासै फरक छैन। दिल्ली विश्वविद्यालयमै संगीतमा स्नातकोत्तर अध्ययनरत प्रमिशा लुइँटेल कोरोनाको त्रासका कारण धमाधम होस्टल खाली गराउन थालेपछि आफूहरुलाई निकै तनाव भएको बताइन्। पछि कलेज प्रशासनसँग आग्रह गरेपछि मात्र आफूहरुले होस्टलमा बस्न पाएको उनले बताइन्। तर, दूतावासले नेपालीहरु विद्यार्थीहरुलाई परेको मर्काका बारेमा कुनै चासो नराखेकोमा उनले पनि गुनासो गरिन्। सँगै अन्य देशका विद्यार्थीलाई उनीहरुको दूतावासले सम्पर्क गरिरहेको देख्दा मन थप दुखेको प्रमिलाको भनाइ छ। ‘कम्तीमा पनि जो-जो विद्यार्थीहरुलाई निकै गाह्रो छ उनीहरुलाई सम्पर्क गरेर सान्त्वना दिने र पछि सुरक्षित रुपमा घर जाने वातावरण बनाइ दिए हुन्थ्यो,’ उनले भनिन्।

दिल्ली विश्वविद्यालयअन्तर्गतको किरोडिमल कलेजमा स्नातक अध्ययनरत रोहित दुवाडीले पनि होस्टलमा बस्नेहरुलाई भन्दा बाहिर पीजीमा बस्नेहरुलाई निकै कठिन रहेको बताए। उनले दूतावासले कम्तीमा पनि समस्यामा परेका विद्यार्थीहरुका लागि सहयोग जुटाउन समन्वय गर्न सक्ने बताए। ‘कम्तीमा पनि कहाँ कहाँ समस्या छ त्यो मात्र जानकारी राखिदिने हो भने पनि धेरै हुन्थ्यो तर, त्यतिसम्म पनि गरेको छैन,’ उनले भने। 

त्यसैगरी दिल्लीकै साउथ एसियन् युनिभर्सिटी(साउ) मा ३० जनाभन्दा बढी नेपाली विद्यार्थी होस्टलमा छन्। त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको पनि दूतावासले कुनै चासो नदेखाएको गुनासो छ। साउमा अर्थशास्त्रमा पीएचडी अध्ययरनत ईश्वर अधिकारीले भुटान, श्रीलंकाले समेत आफ्ना विद्यार्थीहरुका बारेमा नियमित चासो देखाएको तर, आफूहरुका बारेमा दूतावासले केही सोधपुछसमेत नगरेकोमा दुःख व्यक्त गरे। खान बस्नको समस्या नभए पनि होस्टलमा एक जनालाई कोरोना भयो भने अन्यलाई पनि सर्ने जोखिम बढी हुने भएकाले सबै विद्यार्थी त्रसित अवस्थामा रहेको उनको भनाई छ। र, दूतावासले यस्तो परिस्थितिमा विद्यार्थीहरुलाई सम्बोधन गरेर एउटा विज्ञप्ती नकालेको भन्दै उनले आक्रोश व्यक्त गरे। ‘यही भएर नै हो दूतावासबाट केही आशा नगर्ने,’ अधिकारीले भने। 

साउमै उपप्राध्यापक छन् युवराज पोखरेल। उनले पनि दूतावासले सबै विद्यार्थीसँग व्यक्तिगत तवरमा सम्पर्क गर्न सम्पर्क गर्न सम्भव नभए पनि कम्तीमा एउटा विज्ञप्ति भए पनि निकाल्नु पर्ने धारणा राख्छन्। यस्तो बेलामा विद्यार्थीहरु मानसिक तनावमा रहँने हुँदा दूतावासले सम्झेको खण्डमा त्यसले ठूलो राहतको काम गर्ने पोखरेलको जिकिर छ। 

यसैगरी दिल्लीमै सीए अध्ययनरत अर्का एक नेपाली विद्यार्थी सुदन महतले पनि यस्तो संकटका बेला समेत दूतावासले सक्रियता नदेखाउनु विडम्बनापूर्ण भएको बताए। उनले दूतावासले खाली सुरक्षित भएर बस्नु भनेर आफ्नो जिम्मेवारीबाट पन्छिएको समेत आरोप लगाए। ‘घरमा बस्नु भनेर दूतावासले भनिरहनै पर्दैन। कहाँ कसलाई समस्या छ भनेर खोजबिन गर्नुपर्यो। समस्यामा परेकालाई सहयोग गर्नुपर्यो नत्र दूतावास हुनुको के अर्थ भयो र?’ महतले भने। समस्यामा परेका विद्यार्थीहरुलाई दूतावासले समन्वय गर्ने हो भने जस्तो पनि राहत दिन सकिने उनको भनाई छ। ‘प्रवासी संगठन र विद्यार्थीहरुको ठूलो सन्जाल छ। मात्र दूतावासले समन्वय गरे पुग्छ। विद्यार्थीमात्र नभएर अन्य नेपाली कामदारहरुलाई पनि भनेजस्तो सहयोग पुर्याउन सकिन्छ। तर, दूतावास सुतिरहेको छ,’ उनले भने। 

त्यसैगरी सीए नै अध्ययनरत अर्की एक नेपाली विद्यार्थी संदीघ्नता खनालले यसकिसिमको असमान्य अवस्थामा दूतावासले आफ्ना नागरिकहरुको मनोबल बढाउन भए पनि सूचना जारी गरेर वा सम्पर्क गर्नुपर्ने बताउँछिन्। ‘सबैले आफ्ना नागरिकलाई सम्झेका छन्। हाम्रो दूतावासले पनि मनोबल बढाउन भने पनि ध्यान दिनुपर्ने हो,’ उनले भनिन्। 

तर, दूतावास भने विद्यार्थीहरुको चिन्ता र चासोप्रति पुरै बेखबर देखिन्छ। त्यसो त दूतावाससँग भारतमा कति नेपाली विद्यार्थी अध्ययनरत छ भन्ने अभिलेख छैन। दूतावासका प्रवक्ता हरि ओडारीले पनि भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्याको अभिलेख नभएको स्वीकारे। यसबाट नै दूतावासलाई नेपाली विद्यार्थीहरुको अवस्थाका बारेमा जानकारी छैन भन्ने प्रष्ट हुन्छ। 

तर, विद्यार्थीहरुलाई केही समस्या परेको खण्डमा दूतावासलाई त्यसलाई सम्बोधन गर्न हरदम तयार रहेको प्रवक्ता ओडारीले दावी गरे। उनले विद्यार्थीलाई मात्र लक्षित गरेर सूचना प्रवाह नभए पनि दूतावासले भारतमा रहेका सबै नेपालीहरुलाई सम्बोधन गरेर विभिन्न सूचनाहरु जारी गरेको दाबी गरे। ‘विद्यार्थी समुदायलाई मात्र लक्षित गरेर सूचना जारी नभएको हो साँचो हो। तर, हामीले भारतमा रहेका सबै नेपालीहरुलाई अहिलेको परिस्थितिका बारेमा अवगत गराएका छौं। र, कोरोना महामारीसम्बन्धमा आधिकारिक निकायहरुबाट जारी सबै सूचनाहरुलाई प्रवाह गरेका छौं,’ प्रवक्ता ओडारीको भनाइ छ।

Published on: 3 April 2020 | Kantipur

Link

Back to list

;