s

भारतमा युवती लैजाने नयाँ रुट पत्ता लाग्यो

-किशोर बुढाथोकी
 
विराटनगर: नेपाली युवतीलाई भारतसम्म लगेर बिक्री गर्ने धन्दामा सक्रिय मानव तस्करले विराटनगरमा नयाँ रुटको प्रयोग गर्न थालेका छन् । यसअघिसम्म विराटनगरको जोगबनी नाका हुँदै नेपाली चेलीलाई भारत पुर्‌याउन सक्रिय मानव तस्करले जोगबनीबाट पाँच सय मिटर उत्तरमा रहेको अर्को हुलास मेटलको बाटो प्रयोग गरेर भारतसम्म पुर्‌याउने धन्दा सुरु गरेको पत्ता लागेको छ ।
 
जोगबनी नाकामा प्रहरीले चेकजाँचमा कडाइ गर्ने, सोधखोज गर्ने र यो नाकामा सुरक्षाकर्मीको उपस्थितिसमेत बाक्लो हुने भएकाले तस्करले नेपाली चेलीलाई भारत कटाउन नयाँ रुटको प्रयोग गर्न थालेको प्रहरीको निस्कर्ष छ । सीमाका एक प्रहरीले भने, ‘प्रहरीको आँखा छल्न अर्को बाटोको प्रयोग गर्दै नेपाली चेलीलाई भारतसम्म पुर्‌याएर बिक्री गर्ने गरेको पत्ता लागेको छ ।'
 
सीमा प्रहरीचौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक विकाश खत्री नेत्रृत्वको टोलीले नेपाल–भारत सिमानाको विराटनगर २० स्थित हुलास मेटलबाट भारत कटाउन लागिएको अवस्थामा चारजना नेपाली चेलीलाई मंगलबार राति उद्धार गरेपछि मानव तस्करको नयाँ रुट पत्ता लागेको हो । 
 
‘हुलास मेटलको बाटो हुँदै नेपाली चेलीलाई भारत लैजान लागिएको अवस्थामा उद्धार गरियो,' मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले भने, ‘तस्करले नयाँ रुटका रूपमा चोर बाटो प्रयोग गर्न थालेका छन् ।'
 
नयाँ दिल्ली लैजाने भन्दै फकाएपछि मानव तस्करीमा संलग्नको प्रलोभनमा परेका उनीहरू १२, १३, १७ र १८ वर्षका छन् । उद्धार गरिएका सबैजनाले घर कैलाली बताएको प्रहरीले जनाएको छ । एसपी भण्डारीले भने, ‘सीमा कटाउनै लाग्दा उद्धार गरिएको हो । प्रहरी थोरै ढिलो भएको भए उनीहरूलाई भारतीय भूमिमा पुर्‌याइने रहेछ ।'
 
एसपी भण्डारीले नेपाली चेलीलाई भारत लैजान लागेको सूचनाका आधारमा प्रहरी तत्काल परिचालित हुँदा उनीहरू भारत पुग्नबाट जोगिएको जानकारी दिए । राम्रो पैसा कमाउन सकिन्छ भन्ने लोभमा पारेर विभिन्न प्रलोभन देखाउँदै उनीहरूलाई भारत पुर्‌याएर बिक्री गर्न खोजिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 
--
नयाँदिल्ली लैजाने भन्दै फकाएपछि मानव तस्करीमा संलग्नको प्रलोभनमा परेका उनीहरू १२, १३, १७ र १८ वर्षका छन् । उद्धार गरिएका सबैजनाले घर कैलाली बताएको प्रहरीले जनाएको छ ।
 
‘चेलीको उद्धार गर्नुअघि नै यो धन्दामा संलग्न गिरोह भारतीय भूमितर्फ गइसकेका रहेछन्,' भण्डारीले भने, ‘बिक्री गर्न लगिएका चेलीको उद्धार गरे पनि यसमा संलग्नलाई भने पक्राउ गर्न सकिएको छैन ।'
 
उनले गिरोहको खोजी र पक्राउका लागि भारतीय प्रहरीसँग समन्वय थालिएको जानकारी दिए । मानव तस्करले नेपाली चेलीलाई भारतसम्म लगेर बिक्री गर्नका लागि नयाँ रुटको प्रयोग गर्न थालेको पत्ता लागेपछि विशेष टोली परिचालन गरेर सबै सीमानाकामा उच्च सतर्कता अपनाइएको जानकारी एसपी भण्डारीले दिए ।
 
उद्धार गरिएकाले आफूहरूलाई भारतको नयाँदिल्ली जानुपर्छ भन्दै कैलालीबाट बसमा चढाएर एकजना व्यक्तिले लिएर आएको बताए । उनीहरूले धेरै पैसा कमाउन सकिन्छ भन्ने प्रलोभन देखाएपछि अभिभावकको सल्लाहबिना नै आफूहरू भारत जान तयार भएको बताएका छन् । भारत लैजाने व्यक्तिको नाम भने आफूहरूलाई थाहा नभएको उनीहरूले बताएका छन् । उद्धार गरिएकी मध्ये एकजनाले भनिन्, ‘नयाँदिल्ली लिएर जानेलाई हामी काले अंकल भनेर बोलाउथ्यौं । नाम के हो थाहा छैन ।'
 
उनका अनुसार ती व्यक्ति ४० वर्ष जतिका छन् । यो बाटो हुँदै आउनु भनेर बाटो देखाएपछि ती व्यक्ति भारतीय भूमितर्फ लागेको जानकारी उद्धार गरिएकाले प्रहरीलाई दिएका छन् । प्रहरीका अनुसार उद्धार गरिएकालाई साना हातहरू नामक संस्थाको संरक्षणमा राखेर काउन्सिलिङ गर्ने काम भइरहेको छ । 
 
उनीहरूलाई आवश्यक काउन्सिलिङपछि आफन्त र अभिभावक बोलाएर जिम्मा लगाइने एसपी भण्डारीले बताए ।
 
हुलास मेटलको बाटो हुँदै एक युवतीलाई भारत लैजान लाग्दा गत माघ १४ गते पनि दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेका मोरङको बेलबारी ४ का ३० वर्षीय बासुदेव राई र सुनसरी इटहरी ४ का कैलाश निरौलाविरुद्ध प्रहरीले मानव बेचविखन मुद्दा चलाएको छ । जिल्ला अदालत मोरङले मानव बेचविखन मुद्दामा दुवैजनालाई पुर्पक्षका लागि थुनामा राख्न गत आइतबार आदेश दिएको छ । 
 
Published on: 25 February 2016 |  Annapurna Post 

Back to list

;