s

भारतमा निस्सासिएर तीन नेपालीको मृत्यु

भारतको उत्तर प्रदेशस्थित मेरठमा कोठामा निसासिएर तीनजना नेपालीको मृत्यु भएको छ । मजदुरीका लागि त्यहाँ पुगेका कैलालीको गौरीगंगा नगरपालिका– १, गप्काका करिब ३५ वर्षीय चन्द्रबहादुर भुल, उनकी पत्नी ३२ वर्षीया कुमारी भुल र छोरी चार वर्षीया अञ्जलीको मृत्यु भएको हो ।

चिसोले राति कोठामा कोइला बालेर सुतेका तीनैजनाको धुवाँले निसासिएर मृत्यु भएको बुझिएको मृतक चन्द्रका भाइ नाता पर्ने वीरेन्द्र भुलले बताए । त्यहाँ रहेका नेपालीको सहयोगमा शव ल्याउने तयारी भइरहेको उनले बताए । ‘मेरठमा काम गर्न गएका अरू पनि आफन्त छन् । राति सुतेका वेला धुवाँले निसासिएर उहाँहरूले तीनैजनाको मृत्यु भएको जानकारी गराउनुभएको हो,’ वीरेन्द्रले भने, ‘चिसो भएपछि कोइला बालेका रहेछन् ।’ आफन्तका अनुसार गरिबीका कारण सानै उमेरदेखि भारत पसेका चन्द्रबहादुर ६–७ वर्षयतादेखि मेरठमा एउटा घरमा काम गर्थे । उनले श्रीमती र छोरीलाई पनि सँगै लगेका थिए । यस वर्ष बिदामा दसैँ, तिहार मनाउन आएका उनी तिहारलगत्तै त्यहाँ फर्किएका आफन्तले बताएका छन् । उनीहरू त्यहाँ काम गर्ने घरको तेस्रो तलाको एउटा कोठामा बस्ने गरेको बताइएको छ ।

मृतक आफन्त वीरेन्द्रका अनुसार मृतकको गोप्कास्थित घरमा वृद्ध आमाबुबा, १४ वर्षीय एक छोरा तथा ६ र नौ वर्षीया दुई छोरी छन् । मजदुरीका लागि गएको परिवारको मृत्यु भएपछि गाउँ शोकमग्न छ । जिल्ला प्रहरी कार्यालय कैलालीले भारतमा कैलालीका तीन नेपालीको भारतमा निसासिएर मृत्यु भएको सुनिएको भन्दै घटनाबारे बुझ्ने काम भइरहेको जनाएको छ । प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले घटनाबारे आफन्तसँग बुझ्ने बताए ।

भारतीय सञ्चारमाध्यम लाइभ हिन्दुस्तान अनलाइनले मेरठ टिपीनगरको शम्भुनगर कोलनीस्थित आलोक वंशलको घरमा काम गर्दै आएका तीनजना नेपाली मजदुरको शनिबार राति निसासिएर मृत्यु भएकोे जनाएको छ । उक्त अनलाइनका अनुसार वंशल परिवारसहित नयाँ वर्ष मनाउन घरबाहिर गएका थिए । बिहान ४ बजे घर फर्कँदा चन्द्रले ढोका खोलेनन्, ढोका फोडेपछि श्रीमान्–श्रीमती मृत भेटिएका थिए । गम्भीर अवस्थामा भेटिएकी अञ्जलीको उपचारका क्रममा मृत्यु भएको हो ।

Published on: 4 January 2023 | Naya Patrika

Link

Back to list

;