s

भारतमा नेपाली मजदुरमाथि कुटपिट

भारतको सिमलास्थित रामपुरको सतलुज नदीबाट अवैध रुपमा बालुवा निकालेको आरोपमा नेपाली मजदुरमाथि वन विभागका कर्मचारीले कुटपिट गरेका छन् । कुटपिटको भिडियो भाइरल भएको छ । भिडियोमा नेपाली मुलका दुई युवकमाथि कर्मचारीले लउरो र लात्ताले बेस्सरी कुटेको देखिन्छ ।
 
भिडियो भाइरल भएसँगै सामाजिक सञ्जालमा वन विभागको कार्यप्रणालीमाथि प्रश्न उठाउन थालिएको छ । विभागका कर्मचारीले बालुवा निकाल्ने व्यक्तिलाई यसरी कुटपिट गरेको यो पहिलो घटना नभएको बताइन्छ ।
 
यसअघि पनि नेपाली मूलकी एक महिलालाई वन विभागका कर्मचारीले दुर्व्यबहार गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । घटना सार्वजनिक भएलगत्तै त्यहाँका सामाजिक संस्था एवं मजदुर संगठनले घटनाको कडा भत्सर्ना एवं निन्दा गरेका छन् ।
 
उनीहरुले यो घटनलाई अत्यन्तै लज्जास्पद र अमानवीय भनेका छन् । सीटु संगठनले मजदुरमाथि शारीरिक दुर्व्यबहार गर्ने कर्मचारीलाई तुरुन्त कारबाही गर्न माग गरेको छ ।
 
तुरुन्त कारबाही नभए आन्दोलन गर्ने समेत संगठनले चेतावनी दिएको छ । सीटुका जिल्ला अध्यक्ष बिहारी सेवगीले भने, ‘वनका कर्मचारीले कानुनलाई आफ्नो हातमा लिएका छन् । यदि मजदुरले अपराध गरेका थिए भने कानून अनुसार कारबाही गरिनु पर्थ्यों। कानुनी बाटो त्यागेर मजदुरमाथि दुर्व्यवहार गर्ने कर्मचारीमाथि कडा कारबाही हुनुपर्छ ।’
 
वन विभागका प्रमुख अनिल ठाकुरले भाइरल भएको भिडियोको जाँच गरिने र यदी त्यो सत्य ठहरिए कानुनतः कर्मचारीमाथि कारबाही हुने बताए ।
 
Published on: 6 February 2018 | Onlinekhabar

Back to list

;