s

भारतमा काम पाउनै मुस्किल

मोहन बुडाऐर

धनगढी — भारतको बैंग्लोरस्थित एक रेस्टुराँमा जागिर गरिरहेका डोटी नानाकेदारका वीरबहादुर नेपालीको रोजगारी कोरोनाकालमा खोसियो । कोरोनाको पहिलो लहरमै रेस्टुराँ बन्द भएपछि उनी घर फर्के । अवस्था सामान्य भएपछि उनी पुनः भारत गए पनि पुरानो रेष्टुँरामा काम पाएनन् ।

रेस्टुराँले कामदार घटाउन थालेकोले कोरोना संक्रमण फैलिएका बखत घर फर्केकालाई पुनः काम दिन मानेन् । वीरबहादुरले अर्को होटलमा काम खोजे । दोस्रो लहरको कोरोनाले सहर पुनः लकडाउन भयो । होटल बन्द भएपछि उनी फेरि घर फर्किए । अवस्था सामान्य भएपछि दसैंअघि उनी त्यही होटलमा कामका लागि गए । तर होटलले उनलाई पुनः काममा राखेन ।

केही दिन काम खोज्दै भौंतारिए । होटल तथा रेस्टुराँमा काम गर्ने उनले कपडा उद्योगमा ज्यालादारी काम सुरु गरे । पाँच महिना जति कपडा उद्योगमा काम गरेर घर फर्केको बताउँछन् । अहिले फेरि उनी भारत जाने लर्कोमा शुक्रबार कैलालीको भन्सार नाकामा लाइन बसेका थिए । ‘कोरोनाकालका दुई वर्षमा तीन/चार पटक घर ओहोरदोहर गरिसकें,’ उनले भने, ‘कोरोना महामारीले रोजगार क्षेत्र भारतमा पनि काम पाउन मुस्किल भएको छ ।’ उनले भारतमा पनि चित्तबुझ्दो नोकरी नपाउँदा ओहोरदोहोर मात्रै भइरहेको बताए । ‘गाउँघरमा काम पनि पाइँदैन, थोरै खेतजग्गाको उत्पादनले खान पनि पुग्दैन,’ नेपालीले भने, ‘एक/दुई हप्ता घरमा बसेर पुनः भारततिरै रोजगारी खोज्न जानुपर्ने बाध्यता भयो ।’

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरले थलिएको भारतका सहरहरूमा नेपालीले सहजै काम पाउन मुस्किल छ । लकडाउनमा घर फर्केका वर्षौं काम गरेकाहरूलाई पनि फेरि काममा फर्काउन नमान्दा अन्यत्र भौंतारिरहनुपरेको उनीहरू बताउँछन् । शुक्रबार भन्सार नाकामा कामको खोजीमा भारत जाने लाइन बसेका झन्डै चार सय जनामध्ये अधिकांशले कोरोना महामारीले गर्दा रोजगार क्षेत्र तहसनहस गरेको बताए ।

कैलाली घोडाघोडीका लालबहादुर धामीले पनि भारतमा आफ्नो सीपअनुसारको काम पाउन नसकेको बताए । कोरोनाकालअघि उनी पनि बैंग्लोरमै होटलमा वेटरको काम गरेको बताउँछन् । ‘दस वर्ष वेटरको काम गरेको होटलबाट कोरोनाल गर्दा कामबाट हात धुनुपर्‍यो,’ उनले भने, ‘पुनः त्यो जागिर पाउन सकेन ।’ दोस्रो पटक भारत पस्दा एक ढुवानी सेवामा काम गर्नुपरेको बताए । ‘ढुवानी सेवामा गाह्रो काम भएकाले ६ महिना काम गरेर घर फर्कें,’ उनले भने, ‘घरमा पनि खाली बसेर के गर्ने ? फेरि पन्जाब गएँ । त्यहाँ खेतीपातीमा तीन महिना काम गरें र फर्कें । चौथो पटक स्याउ टिप्न कस्मिर गएँ । स्याउको सिजन सकेर घर आएको फेरि बैंग्लोर नै जाँदै छु ।’ 

शुक्रबार नाका पार गरिरहेका मध्ये ८० प्रतिशत जति यस्तै अवस्थाका थिए । उनीहरू पछिल्लो डेढ वर्षमा तीन/चार पटक भारत अउजाउ गरिसकेको बताइरहेका थिए । नाकामा कतिपय बालबच्चासहित गइरहेका थिए । कोही भने भारतमा राम्रो काम नपाएर पुनः लालाबालासहित घर फिरिरहेका थिए । उनीहरूमध्ये घर खर्च धान्न नसकेर फेरि जानुपर्ने अवस्था आएको घोडाघोडी नगरपालिकाका बिसन बिक बताए । 

भारत पुगेर एकाध महिना काम गरेको आम्दानी आउजाउमै ठिक्क हुँदा घर खर्चसमेत धान्न समस्या भइरहेको उनीहरू बताउँछन् । यहाँका बासिन्दाको रोजगारीको मुख्य गन्तव्य भारतमा वर्षौं काम गरेको स्थायीजस्तै रोजगार गुमाएकाहरू नयाँ–नयाँ ठाउँमा काम खोज्दै हैरान भइसकेको बताउँछन् । 

डेढ वर्षयता कञ्चनपुरको लालभाडीका देवबहादुर चौधरीले अहिले चौथो पटक भारतमा काम खोज्न गइरहेको बताए । कामको खोजीमा भारत ओहोरदोहोर गर्दागर्दै ऋणमा डुबेको उनीले सुनाए । ‘आउनेजाने बाटो खर्चमै ऋणमा डुबिएलाजस्तो छ,’ उनले भने, ‘काम राम्रो नपाए दुई/चार महिनामै फर्किनुपरेको छ ।’

Published on: 20 December 2021 | Kantipur

Link

Back to list

;