s

भारतमा दुर्घटनामा परेका मजदुर उपचार नपाएर छटपटाउँदै

तेजराज भट्ट

 

डडेल्धुराको गन्यापधुरा गाउँपालिका– २, कोरगाउँका दिलबहादुर दमाईं गरिबीका कारण पढाइ छोडेर १६–१७ वर्षको उमेरमै कामको खोजीमा भारत छिरे । परिवार पाल्नका लागि ६–७ वर्ष भारतका विभिन्न ठाउँमा मजदुरी गरेर बिताएका उनी भारतबाट फर्केपछि करिब तीन वर्ष घरमै बसे । 

घरमा लामो समय बेरोजगार भएर बस्दा आर्थिक अभावको समस्या बल्झिँदै गयो । गत वर्ष पुसमा कामको खोजीमा पुनः भारत जान बाध्य भए, जुन उनको जीवनका लागि निकै महँगो साबित हुन पुग्यो । बम्बई पुगेर काम खोजिरहेका वेला दुर्घटनामा परेर गम्भीर घाइते बनेका दिलबहादुर त्यही दुर्घटनाको चोटका कारण जीवन र मरणको दोसाँधमा छन् । 

गरिबीको दलदलमा फसेको परिवारको आर्थिक अवस्था उकास्ने सपना लिएर बम्बई पुगेका उनी दुर्घटनापछि उठ्न, बस्न र राम्ररी बोल्न सक्दैनन् । उनको दुवै खुट्टा चल्दैन । खाना खुवाउनेदेखि दिसापिसाब अरूले गराइदिनुपर्छ । नियमित उपचार नपाउँदा दुर्घटनामा लागेको चोट बल्झिँदै गएको छ ।

आफन्तका अनुसार बम्बईमा पैदल हिँडेर सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएपछि सडकमा बजारिएका उनलाई गाडीले ठक्कर दिएर भागेको थियो । गाडीको ठक्करबाट उनको एउटा खुट्टा भाँचियो, अर्को खुट्टाको मासु थिचिएर हड्डी मात्र जोगियो ।

त्यहाँ भएका नेपालीबाट चन्दा उठाएको रकम र आफन्तको सहयोगले त्यतिवेला उपचार गरे पनि अहिले आर्थिक अभावले उपचार गराउन नसकिएको उनका दाइ गगनले बताए । ‘घाइते भएपछि बम्बईमा भएका नेपालीले चन्दा उठाएर सहयोग गरेपछि ६–७ महिना उतै उपचार गरायौँ । बिस्तारै ठीक हुन्छ भनेर अस्पतालले घर पठायो,’ गगनले भने, ‘यता ल्याएपछि नियमित उपचार गराउन सकेका छैनौँ, उपचार नहुँदा घाउ बल्झिँदै गएको छ ।’

उनलाई गत असारमा बम्बईबाट घर ल्याइएको थियो । घर आएपछि दुवै खुट्टा र हातको घाउ पाक्न थाले पनि आर्थिक अभावका कारण परिवारले उपचार गराउन सकेनन् । आफन्तले पैसा उठाएर काठमाडौंको टिचिङ अस्पताल पुर्‍याएपछि दुई महिनासम्म उनको त्यहाँ उपचार गरिएको थियो । 

भएको पैसा सकिएको र कतैबाट पनि सहयोग नपाउँदा त्यसपछि भने उपचार गराउन नपाएको गगनले बताए । ‘टिचिङले पनि घर पठाउँदा नियमित ड्रेडिङ गर्नु, खानपिनमा ध्यान दिनु, राम्रो स्याहार गर्नु भनेको थियो,’ उनले भने, ‘घरमा गुजारा चलाउनै समस्या छ । डाक्टरले भनेअनुसार ध्यान दिन सकेनौँ ।’ घरमा उचित स्याहार नभएपछि घाउ पाक्न थालेको उनले बताए । 

डाक्टरले नियमित उपचार गराए निको हुने भने पनि आर्थिक अभावका कारण लामो अस्पतालमै राखेर उपचार गराउन नसकिएको आफन्तले दुःखेसो गरेका छन् । उनको भाँचिएको बायाँ खुट्टामा रड हालिएको छ, गाडीले थिचेकाले दायाँ खुट्टाको मासु काटेर फालिएको छ । उपचारमै १५ लाखभन्दा बढी खर्च भइसकेको आफन्तले बताएका छन् । 

‘चन्दा र आफन्तले गरेको सहयोगले अहिलेसम्म उपचार गर्‍याैँ । साँझ–बिहान छाक टार्न समस्या भएको परिवारले थप उपचार गराउन सक्ने अवस्था छैन,’ दिलबहादुरका आफन्त प्रेम दमाइले भने, ‘राम्रो उपचार गर्न पाए निको हुन्थ्यो । डाक्टले पनि निको हुन्छ भनेका थिए ।’ 

मुख्यमन्त्री कार्यालयअगाडि सहयोगको याचना

हात र खुट्टामा लागेको घाउ पाक्न थाले पनि उपचार गराउन नसकेका आफन्तले सहयोगको याचना गरेका छन् । स्थानीयको सहयोगमा घाइतेलाई धनगढी ल्याइएको छ । आफन्तले घाइतेलाई मंगलबार धनगढीस्थित मुख्यमन्त्री कार्यालयअगाडि राखेर सहयोगका लागि प्रदेश सरकारसँग याचना मागेका छन् । 

उनका आफन्तले ‘सरकार कि आस दे कि सल्फास दे’ भन्दै मुख्यमन्त्री कार्यालयअगाडि कचौरा लिएर धर्ना दिएका हुन् । घाइतेको उपचार गरेर पुनर्जीवन दिन आफन्तले प्रदेश सरकारलाई आग्रह गरेका छन् । पैसा नभएपछि अस्पताल भर्ना गराउन सक्ने अवस्था पनि नरहेको आफन्त प्रेम दमाईंले बताए ।

Published on: 18 March 2021 | Nayapatrika

Link

Back to list

;