s

भारतमा बेचिएकी किशोरीको उद्धार

भारतमा बेचिएकी एक किशोरीलाई शिवपुरीबाट उद्धार गरी नेपालगन्ज ल्याइएको छ । प्यूठानकी १८ वषर्ीया ती युवती ७ महिनाकी गर्भवती छिन् । भारतस्थित एकता समाजको पहलमा बाँकेका अधिकारवादी संस्था र महिला प्रहरी सेलले उनलाई नेपाल फर्काएको हो ।

१० महिनाअघि कोहलपुर घर बताउने दीपक थापाले किशोरीलाई प्रेममा फसाएर शिवपुरीका राजेशलाई बिक्री गरेका थिए । राजेशले पवन गुप्तालाई बिक्री गरेको पीडित किशोरीले बुधबार पत्रकार सम्मेलनमा बताइन् । उनका अनुसार दीपकले एक वर्ष प्रेम गरी विवाह गर्नका लागि धनगढी पुर्याएका थिए । बिरामी आमालाई भेट्न जाने भन्दै किशोरीलाई बहराइच पुर्याएका हुन् ।

दीपकले ५ लाखमा राजेशलाई बिक्री गरेर भागेको उनले जनाइन् । ३ महिनासम्म आफूलाई यौनदासीका रूपमा राखी दीपकले पवनको जिम्मा लगाएको उनले दाबी गरिन् । किशोरीले पवनको मोबाइलबाट कोहलपुरस्थित मामाको घरमा टेलिफोन गरी आफ्नो अवस्थाबारे बताएपछि उद्धारका लागि परिवारले एकता समाजमा निवेदन दिएका थिए ।

उनका परिवारले उक्त नम्बरमा फोन गरी रिहाइको अनुरोध गर्दा पवनले ५ लाख फिरौती मागेका थिए । एकता समाजले भारतीय प्रहरीको सहयोगमा फिरौती बुझ्न बोलाएपछि पवन पक्राउ परेका हुन् । उनले दिएको बयानका क्रममा राजेशलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । कोहलपुर घर बताउने दीपक भने फरार रहेका छन् । उनलाई पक्राउ गर्न प्रहरीमा निवदेन दर्ता गराइएको छ ।

Published on: 7 July 2011 | Kantipur

Back to list

;