s

भारतको उत्तर प्रदेशमा ९० नेपाली युवा भोकै

रविन भट्टराई 

विराटनगर : कामको सिलसिलामा भारतको उत्तर प्रदेशका ३ जिल्लामा पुगेका ९० जना नेपाली युवा खानेकुरा र पैसा सकिएपछि भोकै बस्न बाध्य छन्। कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा भारत सरकारले लकडाउनको समय पनि थप्दै गएकाले खाने सामान र किन्ने पैसासमेत सकिएपछि लखनउ, कानपुर र गोरखपुरमा रहेका ९० जना नेपाली भोकै बस्नुपरेको लखनउबाट टेलिफोन सम्पर्कमा आएका नेपाली जीवनप्रकाश भण्डारीले बताए। 

‘म बसेको सानो कोठामा मात्रै ११ जना छौँ, लकडाउन सुरु भएदेखि सबै एकै ठाउँ बसेका हौँ,’ भण्डारीले भने, ‘हामीजस्तै कानपुर र गोरखपुरमा पनि एउटै कोठामा बस्ने नेपालीको संख्या ९० पुगेको छ, सबैतिर खान समस्या सुरु भयो, यहाँ भाइरसले भन्दा पनि भोकले मरिने भइयो।’ उनले उत्तर प्रदेशका विभिन्न जिल्लामा काम गर्ने नेपाली युवाको अवस्था सबैको एउटै भएको बताए। ‘हामी फेसबुकमा कुरा गरेकाहरू नै समस्यामा परेका ९० जना पुगिसक्यौँ,’ उनले भने, ‘कसैलाई भारत सरकारले सहयोग गरेको छैन।’ 

पहिले कमाएको पैसा र केही जोहो गरेको खानेकुराले बुधबारसम्म पुगे पनि बिहीबारबाट खानेकुरा र पैसा पनि सकिएको भण्डारी बताउँछन्। ‘बाहिर निस्कन दिएको छैन, बिहीबारबाट बैंकले एटीएम पनि बन्द गर्‍यो, अब नेपालबाट पैसा मगाएर खाउँ भन्दा पनि विकल्प छैन, भारतले दिएन’, भण्डारी भन्छन्। आपूmहरूसँग केही आधार नभएकाले प्रहरीले पनि सहयोग नगरेको भण्डारीले गुनासो पोखे। ‘नेपाली रहेछाँै, राहत र खाद्यान्न कसरी दिने नियम नै छैन भन्छन्,’ उनले भने, ‘डीआईजीको बाट सीइमसम्म जानु, त्यताबाट तिमीहरूको गुनासो सम्बोधन होला भन्ने जवाफ दिए।’ 

घरधनीहरू भारतीय भएकाले भारतको परिचयपत्रका आधारमा घरमै सामान मगाएर खाने गरे पनि आपूmहरूसँग भारतीय कार्ड नभएकाले सामान मगाउन र खान सक्ने अवस्था नभएको उनीहरू बताउँछन्। ‘सामान किनांै, पाइँदैन, अलि अलि भएको पैसा पनि घरधनीलाई सामान मगाइदिन पहिले दिँदै सकियो,’ सोही कोठामा रहेका अर्का नेपाली प्रवीण दवाडीले भने। अब खाने कुरामा पानी मात्रै साथमा भएको उनी बताउँछन्। 

सम्पर्कमा आएका भण्डारी झापा मेचीनगर नगरपालिका-१२ का हुन् भने दवाडी पाँचथर हिलिहाङ गाउँपालिका-२ का हुन्। भोकै एउटै कोठामा बस्नेमा सबैभन्दा धेरै झापा मेचीनगरका युवा छन्। भण्डारीका अनुसार उनीसँग बस्नेमा भण्डारीसहित ११ जना नेपाली युवा छन्। जसमा पाँचथर हिलिहाङ् गाउँपालिका-२ का प्रवीण दवाडी र मैतबहादुर माझी, झापा कनकाइ नगरपालिका-५ का दिलकुमार थापा र लोकेश थापा, झापा मेचीनगर-१२ कै सौरभ खबास, निसान विश्वकर्मा, रमेश भण्डारी, बुद्ध लुइँटेल, लक्ष्मण लुइँटेल र नवीन भुजेल छन्। अन्य जिल्ला र भवनमा पनि गु्रपमा बस्ने नेपालीको संख्या ठूलो छ। 

भारतमा लकडाउनको समय अझै बढ्दै जाने भएकाले आपूmहरूको उद्धार गरेर नेपाल फर्काउन उनीहरूले स्थानीय जनप्रतिनिधिसहित, प्रदेश र केन्द्र सरकारलाई आग्रह गरेका छन्। ‘बरु हामी नेपालमा गएर क्वारेन्टाइनमा बस्छाँै, हामीलाई उद्धार गरियोस्, नत्र हामी यहाँ भोकै मर्ने अवस्था आउने भयो,’ सम्पर्कमा आएका जीवनप्रकाश भण्डारीले भने। 

कसरी पुगे उनीहरू उत्तर प्रदेश 

लकडाउनका कारण खान समस्यामा परेका सबै जना २० देखि ३५ वर्ष उमेर समूहका युवा छन्। उत्तर प्रदेशका लखनउ, कानपुर र गोरखपुरका सडकमा दिनमा ठेला कुदाएर मःम, चाउमिन र चटपटे बेचेर उनीहरूले केही रकम कमाउँदै आएका थिए। 

भारतसँग सीमा जोडिएका नेपालको पूर्वीक्षेत्रका युवा यो स्थानमा धेरै रहेको मेचीनगरका भण्डारी बताउँछन्। एउटा कोठा लिएर धेरै जना सँगै बस्ने गरेका उनीहरू दिनमा सडकमा ठेला कुदाएर खाजा बेच्ने गर्थे। भारतमा पनि कोरोना संक्रमण फैलँदै गएपछि भारतले अकस्मात् लकडाउनको घोषणा गर्दा उनीहरूको व्यवसाय ठप्प भयो। 

केही दिनमै संक्रमण रोकिएला र पुनः पहिलेकै व्यवसाय गरौँला भन्ने सोचमा बसेका उनीहरू लकडाउन लम्बिएसँगै समस्यामा परेका हुन्। उत्तर प्रदेशमा पनि कोरोना संक्रमितको संख्या बढ्दै जाँदा भोकसँगै कोरोना सर्ला कि भन्ने डरसमेत थपिएको उनीहरू बताउँछन्। प्रहरीलाई क्वारेन्टाइनमा राख भन्दा नमानेको र खानेकुरा पनि सकिएपछि समस्या भएको उनीहरूको गुनासो छ।

Published on: 10 April 2020 | Annapurna Post

Link

Back to list

;