s

भारतको उत्तराखण्डमा पहिरो जाँदा १६ नेपाली बेपत्ता, दुई जनाको शव भेटियो

काठमाडौं : भारतको उत्तराखण्ड राज्यमा पहिरोमा परेर १६ जना नेपाली बेपत्ता भएका छन्। भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले साउन १८ गते राति भारतको रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा सुरु हुने स्थान नजिकै गएको पहिरामा परी १६ जना नेपाली बेपत्ता भएको जनाएको छ।

होटल व्यवसाय गरेर बसेका जुम्ला स्थायी बसोवास भएका एकै परिवारका सात जना, सोही स्थान नजिकै रोजगारीको सिलिसिलामा रहेका जुम्लाकै अन्य चार जना र कालीकोटका पाँच जनासहित १६ जना नेपाली नागरिक बेपत्ता भएको दूतावासको अनुमान छ।

दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा शुक्रबार बिहान ९ बजेतिर मन्दाकिनी नदीको किनारामा फेला परेका तीन वटा शवमध्ये दुई नेपाली नागरिक र एक जना भारतीय नागरिक रहेको उल्लेख छ।

दुई नेपाली नागरिकमध्ये एक जना कालिकोट निवासी टेकबहादुर कामीको सनाखत भएको र अर्कोको शवको अनुहारमा चोट लागेकाले हालसम्म सनाखत हुन सकेको छैन दूतावासले जनाएको छ। विज्ञप्तिमा बेपत्ता नेपाली नागरिकको खोजी, विपदमा फसेकाको उद्धार र राहत तथा मृतकको शव कानूनी प्रक्रिया पूरा गरी यथाशक्य छिटो परिवारलाई हस्तान्तरण गर्न त्यहाँको विदेश मन्त्रालय र रुद्रप्रयागस्थित जिल्लाधिकारी समक्ष अनुरोध गरिएको उल्लेख छ।

Published on: 7 August 2023 | Annapurna Post

Link

Back to list

;