s

भारतको रोजगारी छाडेर म्यादीमा

वसन्तप्रताप सिंह

जयपृथ्वी नगरपालिका ७ सुवेडाका प्रकाशराज जोशी ७ वर्षदेखि भारतको गोवामा चौकीदारी गर्थे । काम छाडेर आउँदो दसैंमा घर आउने योजनामा थिए । म्यादी प्रहरीमा भर्ना खुलेको थाहा पाएपछि दसैंसम्म कुर्ने हिम्मत भएन । हुर्रिंदै घर आइपुगे ।

‘घरको न्यास्रो पनि लागिरहेको थियो । म्यादीमा आवेदन खुलेको थाहा पाएर फर्किएँ,’ उनले भने, ‘७ वर्ष भइसकेको थियो । चौकीदारी छोड्ने सोचमै थिएँ । तर, म्यादीले बोलायो ।’

उनी मात्र होइनन्, जिल्लामा म्यादी प्रहरीका लागि आवेदन दिएका १ हजार २ सय ४५ मध्ये आधा बढी युवा म्यादी हुनकै लागि भारतबाट फिरेका छन् । भर्ना हुन दिल्लीको मजदुरी छोडेर फर्केको थलारा, मालुमेलाका रामबहादुर सार्कीले बताए । ‘२ महिनाका लागि भए पनि आफ्नै जिल्लामा रोजगारी पाइन्छ कि भनेर फर्कें ।’ उनले भने । त्यहाँ काम गरिरहेका जिल्लाका ५० भन्दा बढी युवा म्यादीमा भर्ना हुनका लागि आफूसँगै फर्केको उनले बताए ।

दुई वर्षमा बझाङबाट रोजगारीका लागि झन्डै ४० हजार युवा भारत गएको अनुमान छ । युवा भारत लागेपछि गाउँघर करिब युवाविहीन हुन पुगेका छन् । गरिखाने मेसो केही नभेटेपछि आफू बाध्य भएर भारत गएको छान्ना लामातोलाका प्रकाश थापाले बताए । ‘खेतीले वर्षभरि खान पुग्दैन । रोजगारी गर्न चाहे पनि पाइँदैन । भारत जानु बाध्यता हो,’ उनले भने, ‘म्यादी हुन पाए दुई महिना भए पनि घरपरिवारको हेरविचार गर्न पाइन्थ्यो ।’ बझाङका लागि ५ सय ७७ म्यादी प्रहरी आवश्यक रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र चन्दले बताए ।

स्नातक पनि उत्साही
तनहुँ– केशवटार ९ की बन्दना भट्टराई शिक्षा विषयमा स्नातक उत्तीर्ण हुन् । यतिबेला उनी म्यादी प्रहरीमा भर्तीका लागि सदरमुकाममा आएकी छन् । 

उनीसँगै पढ्ने गोरखा, च्याङलीकी ममिला कुमाल, छाङ ३ की शर्मिला नेपाली पनि स्नातक भएर पनि दुई महिने म्यादीको जागिर खान आएका छन् । ‘बेरोजगार बस्नुभन्दा दुई महिना भए पनि काम गरौं भनेर आएको,’ भट्टराईले भनिन्, ‘देशको सेवा गर्ने अवसर पनि मिलेको छ ।’ जिल्लामा खुलेको म्यादी प्रहरीको भर्नाका लागि १ सय ६१ महिला आएकामा धेरैजसो प्रमाणपत्र र स्नातक तह उत्तीर्ण र अध्ययनरतहरू रहेको डीएसपी सुरेन्द्रबहादुर गुरुङले बताए । 

उनीहरूले जिल्ला तहमा खुल्ने रोजगारीका लागि पहल गरेपनि पाउन नसकेको बताए । निजी, गैरसरकारी संस्था र सहकारीहरूमा आफ्नो चिनेजानेको हुनुपर्ने भएर रोजगारी नपाएको गुनासो गरे । जिल्लाभित्र ८ सय आवश्यक परेकामा १ हजार ८ सय ३४ जनाको निवेदन परेको गुरुङले बताए ।


Published on: 3 April 2017 | Kantipur

Back to list

;