s

भारतको हिमाचलमा मजदुरी गर्न गएका एकै परिवारका ३ नेपालीको पहिरोमा परी ज्यान गयो

रुकुम पश्चिम — रुकुम पश्चिमबाट भारतमा मजदुरी गर्न गएका एकै परिवारका ३ जना नेपालीको पहिरोमा परी ज्यान गएको छ । त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली र भिमा ओली तथा उनका १७ वर्षीय छोरा मोहोन ओलीको सिमलाको ठेट क्यार भन्ने ठाउँमा पहिरो जाँदा ज्यान गएको हो ।

मृतकका साइँला भाइका छोरा किरण ओलीले दिएको जानकारी अनुसार सोमबार बिहान ११ बजेतिर घरमै बसिरहेका बेला एक्कासि पहिरो आएपछि घरमा बसिरहेका उनीहरुको ज्यान गएको हो ।

एक वर्षअघि मजदुरी गर्न भारत गएका दिपबहादुर सँगै काममा सघाउने भनेर एक महिनाअघि मात्रै उनकी श्रीमती र दुई छोरा पनि उनी भएकै ठाउँमा गएको बताउँदै किरणले जेठो छोरा काममा गएका बेला घरमा रहेका तीन जनाको ज्यान गएको बताए । ‘ठूला बुबाका जम्मा ४ सन्तानमध्ये दुई छोरी गाउँमै बिहे गरेर बस्नुभएको छ,' उनले भने, ‘बाँकी अन्य सबै परिवार भारतमै हुनुहुन्थ्यो । आज यो दुःखद् खबर सुन्नुपर्‍यो ।'

जेठो छोरा लोकेन्द्र ओली २०७८ फागुनमा वैदेशिक रोजगारीका लागी मलेसिया गएको र त्यहाँ बिरामी परेपछि दुई महिनामामै फर्किएको बताउँदै किरणले छोराको उपचारका लागि कमाउन भनेर दीपबहादुर भारत गएको जनाए ।

उनीहरुको शव घर ल्याउने तयारी भइरहेको भए पनि घटनास्थलमा पहिरोका कारण बाटो नभएकाले गाह्रो परेको परिवारको भनाइ छ ।

Published on: 11 July 2023 | Kantipur

Link

Back to list

;