s

भारतीय क्‍वारेन्टाइनमा रहेका नेपालीलाई रातारात दशगजामा छाडिँदै

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको सीमापारि क्वारेन्टाइनमा रहेका नेपालीलाई भारतीय पक्षले रातारात दशगजामा ल्याएर छाड्न थालेको छ । प्रशासन र सुरक्षा निकायसँग समन्वय नगरी एकतर्फी दशगजामा छाड्दा नेपालीको विचल्ली भएको छ ।

भारतले आइतबार राति कञ्चनपुरको भीमदत्त नगरपालिका-९ स्थित सीमाबजार ब्रह्मदेव क्षेत्रमा ७५ जनालाई दशगजामा ल्याएर छाडेको थियो । उनीहरुलाई सशस्त्र प्रहरीले महेन्द्रनगरस्थित बैजनाथ माविको क्वारेन्टाइनमा राखेको छ । बनबसामा ४५ दिनसम्म क्वारेन्टाइनमा बसेका उनीहरुलाई ब्रह्मदेव नजिकै दशगजामा ल्याएर छाडिएको थियो ।

यसरी दशगजामा छाडिएका नेपालीहरुको सामान्य स्वास्थ्य जाँचसमेत नगरी सिधै क्वारेन्टाइनमा राखिएको छ । यसअघि प्रशासनले नाकामै आरडीटीबाट परीक्षण गर्ने भने पनि मध्यरातमा आएका कारण त्यो सम्भव नभएको सशस्त्र प्रहरी बलको झलारीस्थित ३५ नं. गणका एसपी वीर सिंह साहुले बताए ।

‘भारतीय पक्षले हामीलाई जानकारीसम्म दिएन । ७५ जनालाई मध्यरातमा ल्याएर दशगजामा छाडिदियो,’ एसपी साहुले भने, ‘त्यतिबेला कसरी परीक्षण गर्नु ? हामीले सबैलाई उद्धार गरी सिधै क्वारेन्टाइनमा राख्यौं ।’ आइतबार राति नेपाल भित्रिएका उनीहरु अधिकांश सुदूरपश्चिम प्रदेशकै छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले आइतबार राति आएका नेपालीहरुको सोमबार आरडीटी गरिएको बताए । सबैको नतिजा नेगेटिभ आएको छ ।

सीमामा नेपालीको विचल्ली

शनिबार पनि भारतीय सुरक्षाकर्मीले डेढ सय नेपाली कामदारलाई महाकाली नगरपालिकाको दशगजा क्षेत्रमा ल्याएर छाडेको थियो । राति नै छाडिएका उनीहरुलाई भने सशस्त्र प्रहरीले फिर्ता पठाएको थियो । उनीहरु अहिले खटिमाको एक विद्यालयमा बसिरहेका छन् । भारत उत्तराखण्डको रुद्रपुर, काशीपुर र पन्तनगरलगायत क्षेत्रका क्वारेन्टाइनबाट उनीहरुलाई घरतर्फ पठाएको हो ।

‘१८ घण्टा हिँडेर, हातमा दुईदुई क्वारेन्टाइनका सर्टिफिकेट बोकेर नाकामा पुगेका हौं,’ दोधारा चाँदनी क्षेत्रबाट फिर्ता पठाएर खटिमामा रहेका कञ्चनपुर कृष्णपुर नगरपालिकाका मनोज सुनारले भने, ‘भारतबाट आफ्नै ठाउँमा जाऊ भन्छन्, यताबाट हामीलाई लखेटिहाल्छन्, अब हामी कता जाने ?’ उनीसहित ३ सय जना नेपाली कामदार शनिबारदेखि खटिमामा बसिरहेका छन् ।

‘भारततर्फ नेपालीहरु क्वारेन्टाइनमा बसेको ४५ दिनभन्दा बढी हुन लाग्यो, अब कति दिनसम्म राख्ने भन्ने अन्योल छ,’ एसपी साहुले भने, ‘त्यही भएर हामीसँग समन्वय नै नगरी छाडेको हुन सक्छ ।’

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दुई साताअघि नै सीमावर्ती क्षेत्रमा क्वारेन्टाइनमा रहेका नेपालीलाई ल्याउने आवश्यक स्विकृतिका लागि गृह मन्त्रालयमा पत्राचार गरेको थियो । तर मन्त्रालयबाट हालसम्म पनि कुनै जानकारी आएको छैन ।

भारतीय पक्षले नेपाली कामदारलाई एकतर्फी रुपमा दिनहुँ दशगजामा छाड्न थाले पनि स्थानीय प्रशासन भने केन्द्रको निर्देशनबिना भित्र्याउन नसकिने जनाउँदै आएको छ । ‘केन्द्रको आदेशबिना हामी कसैलाई भित्र्याउन सक्दैनौं,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने, ‘भारततर्फ क्वारेन्टाइनमा रहेकाहरुलाई पनि अब छाड्ने काम भइरहेको छ ।’

भारतीय पक्षले क्वारेन्टाइनबाट छाडेर नेपालतर्फ पठाउने र नेपालतर्फबाट पनि पुनः भारततर्फै लखेटिन थालेपछि धेरै नेपाली विचल्लीमा पर्न थालेका छन् ।

Published on: 11 May 2020 | Kantipur

Link

Back to list

;