s

भारतीय अवरोधपछि रक्सौलमा २२२ नेपाली अलपत्र

९ जेठ, काठमाडाैं । रक्सौलमा अलपत्र दुई सय २२ नेपालीको उद्धार भारतीय सुरक्षाकर्मीको अवरोधका कारण प्रभावित बनेको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साले बुधबार त्यहाँ अलपत्र नेपालीको उद्धार गर्ने तयारी गरेको थियो । तर, माथिबाट आदेश नआएको भन्दै भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेशमा रोक लगाएपछि रक्सौलस्थित हजारीमल क्वारेन्टाइनमै बस्न उनीहरू बाध्य बनेका छन् ।

‘वीरगञ्जमा रहेका भारतीय नागरिकलाई पठाएर आफ्नो देशका नागरिक ल्याउने विषयमा भारतीय सीमा सुरक्षा बल र त्यस क्षेत्रका डीएमसँग हाम्रो सहमति भएको थियो,’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अनलाइखबरसँग भने, ‘सहमतिअनुसार भारतीयलाई हामीले फिर्ता पनि पठायौं । तर, माथिबाट आदेश नआएको भन्दै त्यहाँका सुरक्षाकर्मीले हाम्रा नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ।’

रक्सौलमा रहेका नेपालीलाई स्वदेश ल्याउने विषयमा त्यस क्षेत्रका डीएमलगायतसँग समन्वय भइरहेको र सम्भवतः आइतबारसम्म उनीहरूलाई स्वदेश ल्याइने बस्नेतले बताए ।

बस्नेतका अनुसार, भारतका विभिन्न सहरमा मजदुरी गरी फर्किन लागेका २५ जिल्लाका दुई सय २२ जनामध्ये पर्साका ४२ जना छन् । यस्तै, बारा र पश्चिम रुकुमका २३/२३ जना छन् भने काठमाडौं, कैलाली, सुर्खेत, झापालगायत अन्य जिल्लाका छन् ।

रक्सौलमा रहेका नेपालीलाई राख्नका लागि जिल्ला प्रशासन कार्यालय पर्साले क्वारेन्टाइनको समेत तयारी गरिसकेको बस्नेतले बताए । सहायक प्रजिअ बस्नेतले भने, ‘काठमाडौंका दुई जना छन् । उनीहरूलाई अहिले नपठाउनू भन्ने कुरा आएको छ । त्यसैले उनीहरूलाई वीरगञ्जकै क्वारेन्टाइनमा राख्छौं । बाँकी अन्य जिल्लाकालाई उतै क्वारेन्टाइनमा राख्नेगरी सम्बन्धित जिल्लाका प्रजिअसँग समन्वय भइसकेको छ ।’

लकडाउन सुरुभएदेखि वीरगञ्जका क्वारेन्टाइन र वीरगञ्जस्थित आफन्तकामा बसेका दुई सय १५ जना भारतीय नागरिकलाई मंगलबार भारतको जिम्मा लगाइएको थियो। नेपालबाट भारत जानका लागि आईसीपी पुगेका सयौंको संख्यामा रहेका उनीहरूका नागरिकलाई समेत भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएको बस्नेतले बताए ।

Published on: 22 May 2020 | Onlinekhabar

Link

Back to list

;