s

भारतीय कामदारलाई उड्न अनुमति, नेपालीलाई छैन

होम कार्की

काठमाडौँ — वैशाख २४ मा उड्न पाएको भए यतिखेर धनुषाका महेश पासवान साउदी अरबको जुबेलमा काम गरिरहेका हुन्थे । दुई वर्षअघिदेखि साउदी पुग्ने सपना देखिरहेका पासवानलाई कोरोना महामारीले तेस्रोपटक रोकिदिएको हो । 

‘साउदी जान १ लाख २० हजार खर्च भइसक्यो । टाउकोमाथि ऋण थपिएको थप्यै छ । यसपटक त जान पाइन्छ भनेर फुरुङ्ग थिएँ,’ उनले भने, ‘काठमाडौं पुगिसकेको मान्छे फेरि घर फर्किनुपर्‍यो ।’ साउदीमा लरी ट्रक चलाउन उनले कम्पनीसँग सम्झौता गरेका थिए ।

सरकारले कोरोना संक्रमण रोक्न गत वैशाख २३ को मध्यरातबाट अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि पासवान साउदी उड्न नपाएका हुन् । तर साउदी अरबले भने नेपालबाट कामदार प्रवेश गर्न रोकेको छैन । श्रम अनुमति पाएका नेपाली श्रमिकसमेत साउदी उड्न नपाइरहेकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित भारतीय राजदूतावासको पत्रका आधारमा भारतीय श्रमिकका लागि भने उडान अनुमति दिएको छ । पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई वैशाख ३० मा चलानी नम्बर ८४० र ८४१ को पत्रमार्फत साउदी उड्न विमानस्थलमा भारतीयलाई नरोक्न निर्देशन दिएको छ । 

‘परराष्ट्र मन्त्रालयको मिति २०७८/१/२९ को पत्र संख्या पीआरओ/पीआरओ–एस/०७७/७८/३०, च.नं ८४६६ को पत्र तथा भारतीय राजदूतावासको १२ मे २०२१ को नोट यसैसाथ संलग्न छ । माग भई आए बमोजिम भारतीय दूतावासबाट सिफारिस भएका भारतीय नागरिक लैजानका लागि काठमाडौंबाट साउदी अरेबियाका विभिन्न गन्तव्यमा एकातर्फी यात्रु बोक्ने गरी साताको ७ उडान गर्न नेपाल वायुसेवा निगमलाई चार्टर उडान अनुमति उपलब्ध गराइएको हुँदा आवश्यक कार्यार्थ तहाँ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध गर्दछ,’ पत्रमा भनिएको छ । यस्तै प्रकृतिको पत्रमा हिमालय एयरलाइन्सलाई पनि सातामा तीन उडानको अनुमति दिइएको छ । 

साउदी जान भारतीय कामदारका लागि सातामा १० वटा उडान गर्न नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अनुमति पाएका हुन् । उनीहरूले एकतर्फी मात्रै कामदार बोक्न पाउनेछन् । तर यी उडानमा नेपाली कामदारलाई भने साउदी जान अनुमति दिइएको छैन । 

अहिले भारतबाट सातामा दुईवटा नियमित उडान भइरहेको छ । साउदी सरकारले भारतबाट आउन प्रतिबन्ध लगाएपछि भारतीय कामदारले नेपाललाई ट्रान्जिट बनाउन थालेका थिए । सरकारले नेपाल भित्रिने भारतीयले यहाँ होटल बुक गरेको पाइए स्थलमार्गबाट पनि आउन दिने निर्णय गरेको थियो । 

आफ्नै नागरिकलाई रोकेर भारतीयहरूलाई भने निर्बाध जान दिइएकोमा पासवानलगायत श्रमिकलाई भन्ने चित्त बुझेको छैन । ‘भारतीय कामदार जान पाउने भएपछि हामीलाई किन रोकेर राख्ने हो र ?,’ पासवानले भने, ‘मैले यो बुझ्नै सकिनँ । हामीले पाएको अवसरमाथि सरकारले खेलबाड गरेको जस्तो लाग्यो ।’ साउदीस्थित नेपाली दूतावासका अनुसार झन्डै ४५ सय कम्पनीलाई ३० हजार नेपाली कामदार ल्याउन अनुमति दिइसकिएको छ । ‘साउदीमा संक्रमणको अवस्था पहिलेजस्तो डरलाग्दो छैन । कोही पनि नेपालीले संक्रमित भएर उपचार पाएको छैन भनेर हामीलाई सम्पर्क गरेका छैनन्,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले कान्तिपुरसँग भने, ‘संक्रमणलाई ध्यान दिएर एकतर्फी उडान मात्रै बन्द भएको हो । साउदीले रोकेको छैन । नेपाल सरकारले रोक्ने त सरकारको आफ्नो कुरा भयो ।’ 

हाल खाडी मुलुकमध्येमा कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) ले मात्रै नेपालबाट कामदार ल्याउन रोक लगाएका छन् । साउदी, कतार, बहराइन र ओमनले प्रतिबन्ध लगाएका छैनन् । यी मुलुकहरूमा संक्रमणसमेत नियन्त्रणतर्फ उन्मुख देखिन्छ । पछिल्लो समयमा थपिने संक्रमितको संख्यामा निकै कमी आएको छ । कतारमा आइतबार २५६ जना नयाँ संक्रमित फेला परे । चार जनाले ज्यान गुमाए । हालसम्म २ लाख १३ हजार १ सय ८३ जनामा संक्रमण देखिएकोमा २ लाख ७ हजार ७७ जना संक्रमणमुक्त भइसकेका छन् । जसमध्ये झन्डै ३५ प्रतिशत नेपाली कामदार छन् । 

साउदीमा पनि दिनहुँ थपिने संक्रमितको संख्या हजारभन्दा तल छ । हालसम्म यहाँ ४ लाख ३३ हजार ९४ जना संक्रमित भएका मध्ये ४ लाख १७ हजार ७ सय ८७ जना निको भइसकेका छन् । यूएईमा पनि दिनहुँ एक हजारको हारहारीमै संक्रमित थपिइरहेका छन् । यहाँ हालसम्म ५ लाख ४६ हजारमा संक्रमण पुष्टि भएको छ । 

नेपाली कामदारका लागि प्रमुख गन्तव्य मुलकहरूमा कोरोना संक्रमण नियन्त्रण हुन थालेपछि त्यहाँस्थित कम्पनीहरूले कामदार ल्याउने कार्यलाई प्राथमिकता दिएका थिए । जसअनुसार नेपालमा श्रम स्वीकृति लिनेको संख्यासमेत उकालो लागेको थियो । वैदेशिक रोजगार विभागका अनुसार वैशाखमा मात्रै २४ हजार ५ सय जनालाई श्रम स्वीकृति दिइएको छ । जसमा १७ सय ५५ जना महिला छन् । ‘श्रम स्वीकृति दिएको तीन महिनाभित्र गन्तव्य देशमा पुगिसक्नुपर्छ,’ विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले भने, ‘त्यसमा कति जना उडे भन्ने जानकारी विभागलाई छैन ।’ 

गन्तव्य मुलुकले नेपालीको आवतजावतमा रोक नगाएको अवस्थामा सुरक्षाको मापदण्ड लगाएर यात्रामा सहजीकरण गर्नुपर्ने बताउँछन् नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहण गुरुङ । ‘भारतीय कामदारलाई मात्रै नेपालबाट उड्न दिने र नेपालीलाई रोक्दा नेपालीले पाइरहेको अवसर गुम्ने त होइन भन्ने चिन्ता छ,’ उनले भने, ‘पछिल्लो समय भारतबाट आउनेबाटै कोरोना फैलिएको सबैलाई थाहा छ । कारण उताबाट खुल्लमखुला काठमाडौं आउन दिइएको छ । यहाँका होटलहरूमा राखिएको छ । पीसीआर प्रयोगशालामा उनीहरूकै लाम ज्यादा छ । अनि नेपाली श्रमिक भने घर–घरमा थुनिएका छन् ।’

गैरआवासीय नेपाली संघका प्रवक्ता डीबी क्षेत्रीले खाडीमा नेपालीलाई आउन दिन सरकारले सहजीकरण गर्नुपर्ने बताए । ‘यहाँ क्वारेन्टाइनमा बसेर पीसीआर गरेपछि मात्रै होटलबाट बाहिर निस्किन दिइरहेको स्थिति छ । कामदारको सुरक्षाका लागि खाडीका सरकारले विशेष प्राथमिकता दिइरहेकै छन्,’ उनले भने, ‘यस्तोमा यात्रामाथि लगाइएको प्रतिबन्ध हटाइनुपर्छ ।’

Published on: 20 May 2021 | Kantipur

Link

Back to list

;