s

भारतीय बालगृहमा ७ नेपाली बालक

शम्भु यादव

मानव तस्करको चंगुलमा परी भारत पुगेका सिरहा, सप्तरी र सुनसरीका सात बालक एक महिनादेखि दरभंगा बालगृहमा राखिएका छन्। भारतीय रेलवे प्रहरीले उद्धार गरी उनीहरूलाई बालगृहमा राखेको हो। उनीहरूलाई नेपाल ल्याई अभिभावकको जिम्मा लगाउन स्थानीय प्रशासनले पहल थालेको छ।

सिरहाको सीमावर्ती बजार जयनगर हुँदै दिल्ली लैजाँदै गरेका ती बालकलाई गत जेठ ३१ गते जनगर स्टेसनमा रेल चढ्न लाग्दा भारतीय रेलवे प्रहरीले उद्धार गरेको जनाइएको छ। उनीहरूलाई बाल मजदुरका रूपमा काम गराउन लगिरहेको भन्दै एक बिचौलियालाई पनि रेलवे प्रहरीले नियन्त्रणमा लिएको थियो।
 
सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार उद्धार गरिएकामा नवराजपुर गाउँपालिका–५ सोनरपुरका १५ वर्षीय सुरजकुमार सदा, १४ वर्षीय विष्णुकुमार सदा, १३ वर्षीय श्यामसुन्दर सदा छन्। त्यस्तै, लहान नगरपालिका–१२ सरस्वती डन्डाका ११ वर्षीय राजेशकुमार सदा, १३ वर्षीय मुकेशकुमार सदा, सप्तरीको सुरुंगा नगरपालिका–२ कमलपुरका १३ वर्षीय परमेश्वर सदा र सुनसरीका एक बालक रहेको जनाइएको छ।
 
रेलवे प्रहरीले नवराजपुरकै सञ्जय यादवलाई समस्तीपुर हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ। ‘भारतीय बालगृहमा रहेका बालकहरूलाई ल्याउनका लागि सिरहाबाट एक टोली पठाएका थियौं’, प्रमुख जिल्ला अधिकारी पण्डितले भने, ‘तर, बालगृहले केन्द्रीय बाल कल्याण समितिको सिफारिस नआउँदा नेपाल पठाउन नमिल्ने जनाएको छ।’
 
उनका अनुसार समितिबाट पत्र मगाइएको छ। भने, ‘त्यसपछि २–३ दिनभित्र उनीहरूलाई उद्धार गरी हामी नेपाल ल्याउँछौं।’ के कामका लागि र किन उनीहरूलाई भारत लगेको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।
 
Published on: 11 July 2018 | Annapurna Post

Back to list

;