s

भारतीय प्रहरीद्वारा नेपालीसँग अवैध असुली

विष्णुप्रसाद देवकोटा
 
भारतमा मजदुरी गरेर दसैं मनाउन घर फर्किने नेपालीहरूसँग भारतीय अधिकारीले दुःख दिन थालेका छन् । कञ्चनपुरको बनवासा-गड्डाचौकी नाका भएर घर फर्किने नेपालीसँग उनीहरूले भारतीय सीमामा रकम असुल्न थालेका हुन्।
 
वर्षभरि मजदुरी गरेर चाडपर्वमा फर्किने गरेका उनीहरूले बनवसा पुलपारिका भारतीय प्रहरी र भन्सारका कर्मचारीले चेक गर्ने नाममा जबर्जस्ती पैसा माग्ने गरेको गुनासो गरेका छन् । भारतको हरियाणास्थित जमुना नगरबाट फर्किएका अछामका राजु भण्डारीले बनवासाबाट महेन्द्रनगर आइपुग्दा एक हजार ६ सय रकम बुझाउनुपरेको बताए।
 
‘दसैं-तिहार मनाउन परिवारसहित २-४ हजार कमाएर ल्याएका हुन्छौं', उनले भने, ‘बनवासाबाट महेन्द्रनगर आइपुग्दा बाटोमा रकम बुझाउँदै सकिन्छ।' बनवासा बजारबाट टांगा तथा म्याजिक भ्यान चढेर आउने उनीहरूलाई जाँच्ने बहानामा भारतीय प्रहरी र भन्सारका कर्मचारीले एक सयदेखि चार सयसम्म रकम असुल्ने गरेका हुन्।
 
लगेर पैसा दिए मात्र जान दिन्छन्', अछामका भण्डारीले भने, ‘दसैं मनाउन घर फर्किने हरेक व्यक्तिसँग उनीहरूले रकम असुल्ने गर्छन्'। दिल्ली आग्रापुरमबाट फर्किएकी कैलालीकी जलुदेवी कडायतले बनवासाबाट महेन्द्रनगर आइपुग्दा भाडाबाहेक तीन सय रुपैयाँ बढी तिर्नुपर्यो । सामान खोल्ने बहानामा भारतीय भन्सारका कर्मचारीले तीन सय रुपैयाँ असुलेको उनले सुनाइन् । कैलालीकै मसुरिया नगरपालिका-९ की विमला रावलले निकै कठिनाइ भोग्नुपरेको सुनाइन् ।
 
‘चेक गर्ने बहानामा ५-६ ठाउँमा भारी खोल्न लगाउँछन्', उनले भनिन्, ‘पैसा दिए केही गर्दैनन्, नदिए सबै सामान निकालिदिन्छन्, त्यो मिलाउनै झन्झट हुन्छ ।' सामान र केटाकेटीसहित आउनुपर्दा झन्झट हुने भएकाले रकम बुझाउन बाध्य भएको उनको भनाइ छ। दिल्लीबाट फर्किएका पदम रोकायाले बाटोमा पैसा तिर्दैमा कमाएजति सकिने गरेको सुनाए।
 
खेतीपाती सकेर मजदुरी गर्न भारतका विभिन्न सहर पसेका अनि लामो समयदेखि भारतमै बसेर मजदुरी गर्दै आएका नेपाली चाडपर्व नजिकिन थालेपछि घर फर्किने क्रम बढेको छ। भारतीय नाकामा रकम असुली भइरहेको जानकारी भने स्थानीय प्रहरीसम्म पुगेको छैन। प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले नेपालीमाथि हुने गरेको ज्यादती रोक्ने विषयमा सीमा बैठकमा छलफल भए पनि कार्यान्वयन नहुने गरेको जानकारी दिए। ‘चाडपर्वका बेला नेपालीसँग रकम असुल्ने सवालमा छलफल हुने गरेको छ', उनले भने, ‘तर, यो प्रवृत्ति रोक्ने काम भएको छैन, दसैं आइरहेकाले अब फेरि भारतीय पक्षसँग कुराकानी गर्छौं।'
 
Published on: 12 September 2017 | Annapurna Post

Back to list

;