s

भारतीय नागरिकबाट ५ सय महिला ठगिए

माधव ढुंगाना

भारतीय पासपोर्ट बनाएर वैदेशिक रोजगारका लागि हङकङ जान सिद्धार्थनगर १३ की बिनु गुरुङले भारत गोरखपुरका नेपाली मूलका नागरिकलाई १ लाख रुपैयाँ दिएको २ वर्ष बित्यो । उनको न पासपोर्ट बन्यो, न पैसा नै फिर्ता भयो ।

उनीजस्तै भारतीय नागरिक बनेर हङकङ जाने सपना बुनेका बिनुका छिमेकी शीला शर्मा र लक्ष्मी गुरुङको अवस्था पनि उस्तै छ । भारतीय पासपोर्ट बनाउन १/१ लाख र उडाए बापत १ लाख रुपैयाँ असुलेका थिए । पैसा लिने भारत, गोखपुरस्थित थाना शाहपुर नन्दानगर दर्गैयाटोलाका परशुराम क्षेत्री फोन सम्पर्कमा समेत छैनन् । 'पासपोर्ट बनाइदिन्छु भनेको २ वर्ष भयो, पैसा फिर्ता गर्दैन,' बिनुले भनिन्, फिर्ताका लागि भारतका विभिन्न ठाउँ पुगेर पहल गरेँ तर निरर्थक भयो । 

उनीहरूले पैसा फिर्ता गराइदिन गोरखपुरस्थित 'नेपाली नागरिक सहायता केन्द्र' नामक संस्थामा लिखित माग गरेका छन् । भारतको उत्तर पुलिससँग सहकार्य गर्दै भारत-नेपाल मैत्री समाज, गोरखपुरले जोखिममा परेका महिला, बालबालिका र दलालको फन्दामा परेर प्रताडित नेपाली नागरिकको उद्धारका निम्ति गत वर्ष केन्द्रको स्थापना भएको थियो ।  केन्द्रमा निवेदन दिएपछि वैदेशिक रोजगारीको नाममा परशुरामले दर्जनौं नेपाली महिलालाई प्रलोभनमा पारेर लाखौं ठग्ने गिरोहको मुख्य व्यक्ति भएको खुलेको छ । यसमा त्यहाँका राजेशकुमार पासवान पनि संलग्न छन् ।

वैदेशिक रोजगारीका लागि भारतीय पासपोर्ट बनाएर विदेश उडाइदिने भन्दै आफूसँग लाखौं लिएकाले फिर्ताका लागि पहल गरिदिन केन्द्रमा निवेदन परेपछि उनको यो खुलासा भएको हो । केन्द्रको सहयोगमा कान्तिपुरलाई प्राप्त पीडित महिलाका निवेदनअनुसार परशुरामबाट पैसा फिर्ताका लागि बुटवल ९ की चिन्ता थापाले १ लाख २० हजार, सिद्धार्थनगर नपा ८ की दुर्गादेवी रानाले १ लाख ६० हजार, बुटवल नपा १५ नयाँगाउँकी धनमाया श्रीसले १ लाख ४० हजार, सोही ठाउँकी तुलसी थापा र सुनिता गुरुङले २ लाख १० हजार, रुपन्देहीको पर्रोहाकी रुपा कार्कीले ९० हजार भारतीय रुपैयाँ दिएको जनाउँदै निवेदन दिएका छन् ।

परशुराम भारतीय वायु सेनामा कार्यरत नेपाली मूलका कर्मचारी हुन् । पीडितका अनुसार हङकङमा कार्यरत उनकी श्रीमतीको भैरहवा माइती हो । परशुराम र श्रीमतीको नेपालमा रहेका चिनजान र नातेदारमार्फत् वैदेशिक रोजगारीका लागि भारतीय नागरिक बनेर हङकङ, बैंकक र साउदी अरब जान चाहने महिला परशुरामसम्म पुग्छन् ।

गोरखपुरको कुडाघाटस्थित गोर्खा भर्ती केन्द्र आसपास नेपाली मूलका भारतीय सेनाबाट निवृत्त व्यक्ति यसमा संलग्न रहेको पाइएको छ । भारतीय पासपोर्ट बनाएर विदेश पठाउने भन्दै ठगिएका नेपाली महिलाको संख्या ५ सयभन्दा बढी रहेको केन्द्रका सदस्य तथा भारत-नेपाल मैत्री समाज गोरखपुरका महासचिव अनिल गुप्ता बताउँछन् । 'गिरोहले सयौं नेपाली महिलालाई नक्कली कागजात पेस गरी भारतीय नागरिक बनाएर नेपाल सरकारले श्रम स्वीकृति नदिएको मुलुकमा अवैध ढंगले पठाउने पनि गरेको छ,' उनले भने, यसबारे गहिएर अनुसन्धान गर्न र पीडितको पैसा फिर्ता दिलाउन भारतीय पुलिस तथा प्रशासनले आनाकानी गरिरहेको छ ।

उनका अनुसार केन्द्रमा निवेदन परेपछि आरोपीलाई पक्राउ गरी घटनाको अनुसन्धान र पीडितको पैसा फिर्ता गराउन गोरखपुर पुलिससँग आग्रह गरिएको थियो । अपि्रलमा पक्राउ परेका परशुराम र राजेशले आफूमाथि लागेको अभियोग स्वीकार गर्दै ३ जना महिलाको ६० हजार फिर्ता गरी बाँकी १ लाख २७ हजार भारु ४५ दिनमा फिर्ता गर्ने भनेर कागज गरेका थिए । 'पुलिसले पहिला पीडित महिलाको पैसा असुल गर्ने भनेर उनीहरूलाई छाडिदिएपछि फेरि पक्राउ गरी थप कारबाही प्रक्रिया अघि बढाउन आनाकानी गरेको छ,' गुप्ताले भने ।

उपलब्ध भिडियो क्लिपमा अभियुक्त परशुरामले यसअघि करिब २ सय नेपाली महिलालाई भारतीय पासपोर्ट बनाएर विदेश पठाइसकेको र केहीको पासपोर्ट बनाउने काम फसेको उल्लेख गर्दै दलालको सहयोगबाट भारतको स्थायी लेखा नम्बर, सवारी अनुमतिपत्र र रासन कार्डका आधारमा लखनऊबाट पासपोर्ट बनाउने गरेको स्वीकार गरेका छन् । 'पासपोर्ट बनाइदिने भनेर ४ सय ५ जना नेपाली महिलाको पैसा जम्मा भएको हो,' भिडियो क्लिपमा उनले स्वीकार गरेका छन् ।

'थप कारबाही गर्न गोरखपुरको पुलिसले आलटाल गरेपछि हामीले केन्द्रीय गृहमन्त्री र सरकारसमक्ष लिखत निवेदन गरेका छौं,' गुप्ताले भने । गिरोहले नेपाली महिलालाई भारतीय नागरिक बनाउन गोरखपुरको दर्गैया, नन्दानगर, साहपुर, जीआरडी, कुडाघाट, थानाकैन्टलगायत ठाउँमा जन्मस्थान देखाई भारतीय रासन कार्ड, प्यान नम्बर र सवारी अनुमतिपत्र बनाई लखनऊबाट पासपोर्ट निकाल्ने गरेको दाबी उनको छ ।

Published on: 24 September 2012 | Kantipur

Back to list

;