s

भारतीय कामदारले धानेका इँटाभट्टा

भारत बिहारका ५८ वर्षीय राम सुगारथले आफ्नो आधा उमेर काठमाडौंका इँटाभट्टामा काम गरेर बिताइसके । अहिले उनी चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित कुमारीमाता इँटा उद्योगमा कार्यरत छन् । इँटा उद्योगमा वर्षको ६ महिना मात्रै काम हुन्छ । हरेक वर्ष इँटा बनाउने सिजन सुरु हुनुअगावै उनी यहाँ आइपुग्छन् र बाँकी ६ महिना विहारमै बस्छन् । उनी यहाँ इँटा चाङ लगाउने र पोल्ने काम गर्छन् । उनले काठमाडौंको भट्टामा काम गर्न थालेको ३० वर्ष भएको बताए । ‘६ महिना घरैमा बस्छौँ, ६ महिना यता आउँछौँ,’ उनी भन्छन्, ‘अब त यही स्थायी जागिर झैँ लाग्छ ।’ मौसमले साथ दिए इँटाभट्टामा काम गरेर उनी मासिक १८ हजार भारतीयसम्म कमाइ गर्छन् ।

बिहारकै ५० वर्षीय राम ताराम पनि २४ वर्षदेखि नेपालका इँटाभट्टामा काम गर्दै आएका छन् । उनी घरमा तीन छोरा र दुई छोरी छाडेर वर्षको ६ महिना भक्तपुरमा आउँछन् । उनी भन्छन्, ‘खेतीबारी धेरै छैन, भएको ठाउँमा ६ महिना काम गरिन्छ, परिवार उता काम गर्छन्, म यता दुई–चार पैसा कमाउँछु ।’ परिवार छाडेर दुई पैसा कमाउने उद्देश्यले यहाँ आएका सुगारथ र तारामजस्ता हजारौँ परिवार छन्, जसले खेतीपातीको सिजनमा घरको काम गर्ने र बाँकी समय इँटाभट्टामा काम गरी दुई छाक टार्ने जोहो गर्छन् । तारामले गाउँका ४५ जनालाई पनि आफूसँगै ल्याएका छन् । झौखेलको कुमारीमाता इँटा उद्योगमा करिब सात सय कामदार छन् । उद्योगका व्यवस्थापक राजकुमार प्रजापति भन्छन्, ‘नेपालका रोल्पा, रुकुम, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकका करिब डेढ सयजना होलान्, बाँकी साढे पाँच सय भारतीय छन्, हामीले ठेकेदारलाई जिम्मा दिन्छौँ, कहिले आउँछन् ? कहिले जान्छन् ? कति कामदार भन्ने यकिन नै हुन्न ।’

देशभर एक हजार दुई सय ५८ वटा इँटा उद्योग छन् । काठमाडौंमा १४, भक्तपुरमा ६३ र ललितपुरमा ३१ गरी एक सय आठ इँटाभट्टा छन् । तीमध्ये अधिकांश उद्योगमा काम गर्ने मजदुर भारतीय छन् । इँटा उद्योगमा इँटा पोल्ने सिजन मंसिरदेखि सुरु हुन्छ । इँटा पोल्नुअघि मुछेको माटोलाई साँचोमा राखेर इँटा पार्ने, खात लगाउने, भट्टीमा ओसार्ने र पोल्नका लागि खात लगाउने गरिन्छ । हरेक पटक पोल्नुअघि यही प्रक्रिया दोहोरिन्छ । उद्योगलाई चाहिने कामदार नेपालमा नपाइने र पाइए पनि सबै काममा दक्ष नहुने भएकाले उद्योगीले भारतीय कामदार बोलाउँछन् । ‘भट्टामा काम गर्न कुनै इन्जिनियरिङ चाहिँदैन, अनुभवकै आधारमा काम गर्ने हो,’ इँटा व्यवसायी महासंघका अध्यक्ष महेन्द्र चित्रकार भन्छन्, ‘तर, हामीकहाँ सञ्चालित इँटा उद्योगमा आधाभन्दा बढी भारतीय कामदार छन्, विशेषगरी, इँटा पोल्ने काम भारतीयमै निर्भर छ ।’ तर, इँटाभट्टामा काम गर्ने भारतीयबारे कुनै तथ्यांक भने नरहेको अध्यक्ष चित्रकारले बताए ।

मासिक आम्दानी १८ हजार भारतीय रुपैयाँसम्म

इँटा व्यवसायी महासंघका अध्यक्ष महेन्द्र चित्रकारका अनुसार उनीहरूको मासिक कमाइ १२ देखि १८ हजार भारतीय रुपैयाँसम्म हुन्छ । उद्योगले कामदारलाई ठेकेदारमार्फत एकमुष्ट भुक्तानी गर्ने र काममा लगाउने गर्छन् । इँटा पोल्ने काम बढी प्राविधिक हुन्छ, चाङ लगाउँदा सानो गल्ती भए पनि आगो निभ्न सक्छ । इँटा बोक्ने र लोड, अनलोड गर्ने काममा पनि भारतीय मजदुरको संख्या उच्च छ ।

नेपाली कामदार यहाँ काम गर्न लजाउने र मिहिनेत कम गर्ने भएकाले थोरै भएको चित्रकार बताउँछन् । भट्टामा काम गर्दा धुलोले शरीर ढाक्ने मात्रै होइन, नाक, कान र मुख पनि टालिन्छ । भट्टानजिकै छाप्रामा बस्दा र खादा पनि धुलोले पिछा छाड्दैन । इँटाभट्टामा मजदुरको सुरक्षा सावधानीका लागि उद्योगले धेरै ध्यान पु¥याएका छैनन् । एउटा बोरा छापेर मजदुरले इँटाका खात पिठ्युँमा राखेर ओसार्छन् । साँघुरो ठाउँमा घरीघरी आफूले बोकेका इँटा खसेर खुट्टा किचिदिन्छ ।

कामदारको पारिश्रमिक पनि मासिक रूपमा तोकिएको छैन । जसले जति इँटा बोक्छ, उहीअनुसार पारिश्रमिक पाउँछन् । इँटा बनाउनेले पनि इँटा बनाएकै आधारमा पारिश्रमिक पाउँछन् । पानी परेपछि भट्टाको काम रोकिन्छ । पानी परेपछि भट्टाका कामदारको रोजीरोटीसमेत बस्दैन । अध्यक्ष चित्रकार भने मजदुरको स्वास्थ्य, सुरक्षा र सहजताका लागि उद्योगहरूले क्षमताअनुसार ध्यान पु-याएको बताउँछन् । ‘उनीहरूलाई आवश्यक पर्दा पैसा दिएका छौँ, उपचारमा सघाएका छौँ,’ उनी भन्छन्, ‘तलबको अलावा आउँदा–जाँदा लाग्ने खर्च आफैँ तिरिदिन्छौँ ।’

भारतीय श्रमिकको तथ्यांक छैन : प्रवक्ता उपाध्याय

नेपालमा कुन क्षेत्रमा कति भारतीय कामदार छन् भन्ने तथ्यांक सरकारसँग छैन । श्रम नियमावली २०७५ अनुसार विदेशबाट नेपाल आई काम गर्न नेपाल सरकारको स्वीकृति लिनुपर्छ । कानुनले जुनसुकै मुलुकबाट पनि नेपाल आएर काम गर्न श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । तर, यो नियम भारतीय कामदारको हकमा लागू भएको छैन । नियमावलीअनुसार श्रम स्वीकृतिका लागि ६ महिनासम्मको १५ हजार र एक वर्षको २० हजार शुल्क तिर्नुपर्छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता सूर्यप्रसाद उपाध्याय भन्छन्, ‘खुला सीमाका कारण नेपालमा भारतीय कामदारबारेमा कुनै तथ्यांक छैन । यही अवस्थामा यसको व्यवस्थापन पनि निकै चुनौतीपूर्ण छ ।’ भारतीय मजदुरको तथ्यांक संकलन गर्नेबारे योजना बनिरहेको उनले बताए । कानुनबमोजिम स्वीकृति लिने भारतीय श्रमिकको संख्या भने निकै न्यून छ । विभागको तथ्यांकअनुसार सन् २०१९ मा ५८, २०१८ मा ७२ र २०१७ मा ४२ जना भारतीयले मात्रै श्रमका लागि स्वीकृति लिएका छन् ।

Published on: 24 January 2020 | Naya Patrika

Link

Back to list

;