s

भारतीय ज्वाइँलाई नागरिकता बनाइदिने ६ पक्राउ

ठाकुरसिंह थारू
 
भारतीय ज्वाइँलाई छोरा बनाएर नागरिकता दिलाउने ससुरा र गाविस सर्जमिनमा साक्षी बस्ने ६ जना पक्राउ परेका छन् ।

हिरमिनिया २ पहाडीपुरका बाउर पासीले भारत बहराइच घर भएका ज्वाइँ रमेश पासीलाई छोरा बनाएर चैत ६ मा नेपाली नागरिकता दिलाएका थिए । पक्राउ परेकालाई छुटाउन भन्दै बिचौलियाहरूले प्रशासनका कर्मचारीलाई पैसा दिनुपर्ने भन्दै पासी परिवारसँग २ लाख रुपैयाँ असुलेको स्थानीय बासिन्दाले जनाएका छन् । परिवारले नगद नभएको बताएपछि बिचौलियाहरूले अर्कै व्यक्तिसँग ऋण खोजिदिएर पत्नी र छोरालाई तमसुक गराएका छन् ।

ज्वाइँ र ससुराले नागरिकता बनाउँदा स्थानीय सम्पत कोरी, मंगल मुराउ, छेदा कोरी र धर्मेन्द्र कोरी साक्षी बसेका थिए । उनीहरूले भारतीय नागरिक रमेश बाउरको छोरा भएको भन्दै हस्ताक्षर गरेका थिए । पक्राउ परेकामध्ये सम्पत र छेदा बाबु-छोरा हुन् । नागरिकता बनेपछि भोज खाने क्रममा ज्वाइँलाई छोरो बनाएर नागरिकता बनाएको पोल खोलेका थिए । उनीहरूले गरेको कुराकानी स्थानीय बासिन्दामार्फत प्रहरीमा पुगेको थियो । उनीहरूलाई मंगलबार राति नै प्रहरीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद लेखकले बताए । '२ लाख रुपैयाँ कसले लियो भन्ने मलाई जानकारी भएन,' उनले भने ।
 
कानुनबारे जानकारी नभएका कारण साक्षी बसेको पक्राउ परेकाहरूले दाबी गरेका छन् । खानपिनको प्रलोभनमा परेर उनीहरू साक्षी बसिदिएको स्थानीय बासिन्दाको भनाइ छ । भारतीयलाई नेपाली नागरिकता दिन गाविस सचिव ऋषिराम गौतमले सिफारिस दिएका थिए । गौतम आफैं कानुनी समस्यामा परेपछि नागरिकता बदरका लागि प्रशासनमा उजुरी दिएका छन् । जिल्लामा भारतीय ज्वाइँलाई छोरो बनाएर नागरिकता बनाइदिने घटना सार्वजनिक हुँदै आएका छन् । गत वर्ष यसरी नै नागरिकता बनाउने ४ जना पक्राउ परेका थिए ।
 
Published on: 26 March 2015 | Kantipur

Back to list

;