s

भारतीय जेलमा रहेका नेपालीको खोजी

आशा थपलिया 

भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न भारतस्थित नेपाली दूतावासले पहल सुरु गरेको छ। दूतावासले भारतीय जेलमा रहेका नेपालीको प्रारम्भिक तथ्यांक संकलन गर्ने कार्य सुरु गरेको कार्यवाहक राजदूत भरतकुमार रेग्मीले जानकारी दिए। दूतावासले एक महिनाअघि भारतका केही संस्थासँग मिलेर तथ्यांक संकलन थालेको थियो।

‘भारतमा विभिन्न आरोपमा जेलजीवन बिताउन बाध्य नेपालीको उद्धारका लागि पहिलो चरणमा तथ्यांक संकलन गर्ने कार्य सुरु गरेका छौं। तीन÷चार महिनाभित्र यो कार्य सकिने अनुमान छ’, रेग्मीले भने।
 
‘तथ्यांक संकलनपछि उनीहरूको उद्धारका लागि भारतको केन्द्र सरकार तथा राज्य सरकारहरूसँग पहल गर्ने प्रक्रिया सुरु गर्न सक्छौं’, उनले थपे। हिमाञ्चल प्रदेशको नाहान जेलमा १४ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका एक नेपालीको उद्धारमा जाँदा त्यहाँ ३४ जना नेपाली रहेको जानकारी पाइयो। त्यसलाई ध्यानमा राख्दै जेलमा रहेका नेपालीको उद्धारको पहल गर्ने क्रममा अध्ययन थालेको रेग्मीले जानकारी दिए। दूतावासका अनुसार पछिल्लो चार वर्षमा भारतका जेलबाट ७३ जना नेपालीको उद्धार गरिएको छ। तीमध्ये ४८ जनाको हिमाञ्चल प्रदेशको जेलबाट उद्धार गरिएको छ।
 
कामको खोजीमा भारतको हिमाञ्चल प्रदेश, उत्तराखण्डलगायत विभिन्न राज्यमा आएका नेपाली लामो समयदेखि स्थानीय जेलमा सजाय भोगिरहेका छन्। अधिकांश नेपाली स्थानीय प्रहरीको कपोलकल्पित आरोपको सजाय भोग्दै आइरहेको बुझिएको छ। तीमध्ये कतिपयका आफन्तको पहलमा केही संस्थाको प्रयासपछि रिहा भएर नेपाल फर्किएका पनि छन्। तर, उद्धार नभएका अझै कति नेपाली जेलजीवन बिताउन बाध्य छन्।
 
५० वर्षभन्दा बढी समयदेखि भारतमा नेपाली दूतावास रहे पनि नेपालीको तथ्यांक संकलनमा ढिलाइ भएको स्विकार्दै रेग्मीले निकट भविष्यमै भारतमा रहेका नेपालीको प्रारम्भिक तथ्यांक संकलन गर्ने काम सुरु गरिने जानकारी दिए। उनले भने, ‘यसका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा दूतावासको पहलमा अध्ययन सुरु गरिसकेका छौं।’
 
भारत भ्रमणमा रहेका चितवनका पत्रकारको एक समूहसँग दूतावासमा सोमबार भएको अन्तरसंवादमा रेग्मीले यस्तो जानकारी गराएका हुन्। नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको नेतृत्वमा भारत भ्रमणमा रहेको उक्त समूहले प्रवासमा रहेका नेपालीसँग भएको छलफलका आधारमा नेपालीको समस्यातर्फ दूतावासको ध्यानाकर्षण गराएको थियो।
 
सीमा नाकामा नेपालीसँग हुने गरेका ज्यादतीका घटनाका विषयमा सप्रमाण उजुरी पर्न नआएको हुँदा कूटनीतिक रूपमा भारतीय पक्षसँग संवाद गर्न दूतावासलाई गाह्रो हुने गरेको रेग्मीले बताए।
 
कार्यक्रममा पत्रकारले भारतमा मृत्यु भएका नेपालीको शव नेपाल पठाउँदा आइपर्ने समस्या, विभिन्न राज्यका नेपालीको दूतावाससँगको सम्पर्कमा भइरहेको कठिनाइ, सीमा नाकामा नेपालीले भोग्नुपर्ने भारतीय प्रहरीको ज्यादतीलगायत पुरानै समस्यातर्फ दूतावासको ध्यानाकर्षण गराए।
 
भारतमा रहेका नेपालीको संख्याको अनुमान हचुवाका भरमा लगाउँदै आइएको छ। साठी-सत्तरी लाख नेपाली भारतमा रहेको अनुमानित तथ्यांक बताउँदै आइए पनि यसलाई आधिकारिक रूपमा मान्न सकिने आधार छैन। पूर्वराजदूत दीपकुमार उपाध्यायले पनि तथ्यांक संकलन गरिनेमा जोड दिँदै आएका थिए।
 
Published on: 16 January 2018 | Annapurna Post

Back to list

;