s

भारतीय कलेजमा ९ नेपाली छात्रा बन्धक

महेश आचार्य

दक्षिण पश्चिमी भारतीय राज्य कर्णाटकस्थित एक प्राविधिक शिक्षालयमा बन्धक ९ नेपाली छात्राको उद्धार गरिएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासको सक्रियतामा ती छात्राका अभिभावकले कर्णाटकको बिदारस्थित रुरल कलेज अफ नर्सिङबाट उद्धार गरी गत साताको अन्त्यतिर उनीहरूलाई यहाँ ल्याएका हुन् । उद्धार गरिएका छात्रामा सप्तरीका ७ एवं सुनसरी र मोरङका एक/एक जना छन् ।
गत मंसिरमा भर्ना भएका ती छात्रा कलेजमा यसअघि बताइएअनुसारको शिक्षणको स्तर नभएपछि सुरुदेखि नै फर्किने प्रयासमा थिए । यद्यपि कलेजले उनीहरूलाई बिदामा समेत जान दिएको थिएन । फिर्तीको आवाज उठाउने ती छात्रामध्ये केहीलाई कलेजमा यातनासमेत दिएको उनीहरूका अभिभावकले बताए । 'मानसिक तनाव त छँदैछ । भौतिक रूपमा पनि केहीलाई कलेजभित्रै लछारपछारसमेत पारिएको रहेछ,' एक पीडित विद्यार्थीका अभिभावकले कान्तिपुरसँग भने ।
 
उनीहरूको सामान्य हिँडडुलमाथि समेत नियन्त्रण गरिएको गुनासो गर्दै ती अभिभावकले भने, 'यिनीहरूलाई बन्धकजस्तै बनाइएको रहेछ । दिनभरजसो एउटा कोठाबाट अर्काेमा समेत जान नदिने गर्दा रहेछन् ।'
 
विद्यार्थीहरूलाई दिइने नियमित खाना पनि अत्यन्तै कमसल खालको रहेको उनले बताए । नर्सिङको स्नातक तह बीएस्सी नर्सिङ तथा जनरल नर्सिङ मिडवाइफ जीएनएम अध्ययनका लागि ती विद्यार्थीलाई अभिभावकले उक्त कलेजमा भर्ना गरिदिएका थिए । तीमध्ये केहीले वाषिर्क शुल्क एकमुष्टै बुझाएका थिए । दस हजारदेखि १ लाख ३० हजार भारतीय रुपैयाँसम्म आफूहरूले बुझाएको उनीहरूले कान्तिपुरसँग बताए । 'एकातिर त्यो रकम पनि गयो । अर्कोतिर यिनीहरूको पढाइको एक वर्ष त्यसै खेर जाने डर पनि छ,' उनीहरूले भने । कलेजको पर्याप्त संरचना नभएको देख्दादेख्दै पनि अरूको लहलहैमा लागेर आफूहरूले भर्ना गरिदिएको भन्दै उनीहरूले पश्चाताप पनि गरे । धनगढी घर भई हाल सप्तरी, राजविराज बस्ने विजयमोहन साह र सप्तरीकै राजाराम यादवमार्फत आफूहरूले उक्त कलेजमा भर्ना गरिदिएको उनीहरूले बताए । भारतीय राज्य उत्तरप्रदेशको लखनउका विवेकमणि त्रिपाठीले पनि साह र यादवलाई सघाएको उनीहरूको भनाइ थियो । उक्त कलेजले राजीव गान्धी विश्वविद्यालयबाट सम्बन्धन लिएको बताइए पनि पछि बुझ्दा त्यो विवरण पनि झूटो देखिएको अभिभावकहरूले बताए । उक्त कलेजले आफ्नो वेबसाइटमा भने बैंग्लोरस्थित राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सेसबाट सम्बन्धन पाएको तथा कर्णाटक राज्य सरकार, कर्णाटक नर्सिङ काउन्सिल र दिल्ली नर्सिङ काउन्सिलबाट अनुमति पाएको उल्लेख गरेको छ । कलेजको आफ्नै भवन नभएको समेत पुष्टि भएको छ । कलेजले आफ्नो वेबसाइटमा समेत प्रस्तावित भवन भन्दै त्यसको खाका राखेको छ ।
 
नेपाली विद्यार्थीहरूले खेप्नुपरेको समस्यालगायत विषयमा उक्त कलेजसँग बुझ्ने कान्तिपुरको बारम्बरको प्रयास भने सफल हुन सकेन । भारतीय प्राविधिक शिक्षालयहरूमा भर्ना पाउन सजिलो र पढाउन सस्तो पर्ने नाममा गहिरो रूपले नबुझीकनै अभिभावकहरू अघि बढ्दा यस्ता समस्या आइपर्ने गरेको नेपाली दूतावासमा शिक्षा मामिला हेर्ने अधिकारी अर्जुनराज पन्तले तर्क गरे । कलेजहरूले विश्वविद्यालयबाट सम्बन्धन नै नपाएको देखियो भने कतै नर्सिङजस्ता प्राविधिक विषयको उच्चशिक्षामा कमर्स पढेका विद्यार्थीको पनि भर्ना लिएको भेटियो,' पन्तले सुनाए । ९ छात्राको उद्धारमा अभिभावकहरूलाई सक्रियतापूर्वक सघाउने पूर्वराजदूत श्यामानन्द सुमनले नेपाली विद्यार्थी भर्ना गराउनुपूर्व भारतीय कलेजहरूले नेपाली दूतावासको अनुमति लिने चलन बसाल्न सके ठगी नियन्त्रण गर्न सकिने धारणा राखे । केही महिनाअघि भारतको अर्को राज्य राजस्थानको जयपुरमा पनि नेपाली विद्यार्थीले यस्तै खालको घटना भोग्नुपरेको थियो । भगवान महावीर इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट नामको शिक्षालयमा एमबीए पढ्न भनेर आएका आठ नेपाली विद्यार्थी अनेकौं प्रयासपछि बल्लतल्ल घर र्फकन पाएका थिए । उक्त शिक्षालयले कुनै विश्वविद्यालयबाट सम्बन्धन नलिएको भेटिएको जानकारी दिँदै पन्तले त्यो केबल दूरशिक्षा केन्द्र रहेको बताए । उक्त कुरा थाहा पाएपछि घर र्फकन खोज्ने नेपाली विद्यार्थीलाई त्यो शिक्षालयले धम्काउनेलगायत अनेक किसिमको दुःख दिएको पनि पन्तले बताए ।
 
Published on: 17 March 2013 | Kantipur

Back to list

;