s

भारतीय अभिनेताको घरमा नेपाली कामदारको ‘शंकास्पद’ मृत्यु

महेश आचार्य

बलिउड अभिनेता आयुष्मान खुरानाको मुम्बईस्थित घरमा काम गर्दै आएका नेपाली युवकको मृत्यु शंकास्पद भएको भन्दै त्यहाँ सक्रिय नेपाली संघसंस्थाले घटनाको गम्भीर छानविन माग गरेका छन् ।

'घटना भएको यतिका दिनसम्म हुँदा पनि खुराना दिल्लीबाट मुम्बई फर्किएका छैनन् । अर्कोतिर, प्रहरीले बुवा, आमा वा दाजुभाइलाई मृतकको शव बुझाउनु पर्नेमा कानूनविपरीत मामालाई बुझायो,' नेपाली श्रमिक मजदुर युनियन भारतका अध्यक्ष मास्टर थापाले मुम्बईबाट ईकान्तिपुरसँग भने । थापासहितको टोलीले घटनासँग सम्बन्धित गोरेगावस्थित प्रहरी चौकीमा पुगेर छानविनका लागि दबाब दिनुका अतिरिक्त क्षतिपूर्तिका लागि पनि पहल गरेको छ । 

नवलपरासी प्रगतिनगर वडा नम्बर २ शिवालय टोलका २७ वर्षे रुद्रप्रसाद काफ्ले पाँच वर्षयता अनुपम टाउरस्थित खुरानाको फ्ल्याटमा घरेलु कामदार थिए । व्यवसायिक कामका सिलसिलामा खुराना र उनकी श्रीमती केही समयका लागि नयाँ दिल्ली आएपछि फ्ल्याटमा एक्लै रहेका उनलाई गत शनिवार प्रहरीले मृत अवस्थामा भेटेको थियो । स्थानीय कुपर हस्पिटलमा पोस्टमोर्टम गरी त्यसको भोलिपल्टै आइतवार, मुम्बईमै रहेका युवकका मामा दिलीप गौडेललाई शव बुझाइ दाहासंस्कार गरिएको थियो ।

फ्ल्याटबाट कडा गन्ध आएपछि शंका लागेर छिमेकीहरुले खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । गत बुधवारसम्म उनी सम्पर्कमा रहेकाले त्यस दिनकै आसपासमा काफ्लेको मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनाको अनुसन्धानको जिम्मा लिएको गोरेगाँव प्रहरीले अहिलेसम्म संकलित प्रमाण तथा घटनास्थलको अवस्था हेर्दा रुद्रले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ ।

प्रहरीले फ्ल्याटको ताल्चा तोडी भित्र प्रवेश गर्दा रुद्रलाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटेको बताएको छ । यद्यपि आफूहरुले सबै खालका कोणमा छानविन गरिरहेकाले अहिले नै मृत्युको कारण किटान गर्न नसकिने अनुसन्धानमा संलग्न एक उच्चप्रहरी अधिकारीले बताए । नाम बताउन नचाहने ती प्रहरी अधिकारीका अनुसार, केही दिनमै दिल्लीबाट खुराना मुम्बई फर्किएपछि उनीसँग पनि सोधपुछ गरिनेछ । यसअघि खुरानाले एक वक्तव्यमार्फत आफ्ना घरेलु कामदारले 'आत्महत्या' गरेको घटनाले आफू दुःखी भएको उल्लेख गरेका छन् । खुरानाको मुम्बईस्थित फ्ल्याटमा काम गर्नुअघि रुद्रले करिब पाँचवर्ष खुरानाका पिताको चण्डीगढस्थित घरमा काम गरेका थिए ।

'खुरानाका काम गर्दा भान्जा खुशी नै थिए र उनलाई पनि खुरानाको परिवारले निकै विश्वासिलो भनेर रुचाउँथ्यो । कुनै खालको समस्या भएजस्तो लाग्दैन,' मृतकका मामा दिलीपले ईकान्तिपुरसँग भने । उनका अनुसार रुद्र छिट्टै नेपाल फर्केर विवाह गर्ने तयारीमा पनि थिए ।

'नयाँ जीवन सुरु गर्ने इच्छा पूरा नहुँदै भान्जा संसारबाट बिदा हुनुपर्‍यो,' दिलीपले भावुक हुँदै टेलिफोनमा भने । केही दिनपछि रुद्रका आमाबाबुलाई पनि मुम्बई झिकाउने र क्षतिपूर्तिका लागि पहल गर्ने तयारी भइरहेको जानकारी पनि दिलिपले दिए ।

Published on: 7 March 2013 | Kantipur

Back to list

;